नेकपामा महिलाः प्रदेश अध्यक्ष र प्रदेश इन्चार्जमा एक एक जना मात्रै
–महिला खबर–
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश अध्यक्ष र प्रदेश इन्चार्जमा एक एकजना महिलालाई मात्रै जिम्मेवारी दिएको छ ।

अष्टलक्ष्मी शाक्य, ओनसरी घर्ती
नेकपाले प्रदेश नम्बर ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ५ को अध्यक्ष ओनसरी घर्तीलाई बनाउने निर्णय गरेको हो ।
पार्टीको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश ३ को इन्चार्ज शाक्य र प्रदेश ५ को अध्यक्ष ओनसरी घर्तीलाई बनाउने निर्णय गरेको हो ।
सचिवालयको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटी अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
नेकपाले सात प्रदेशमध्ये एक प्रदेशको इन्चार्ज मात्रै महिला बनाएको हो । अन्य ६ वटै प्रदेशमा भने पुरुषलाई इन्चार्ज बनाइएको छ ।
त्यसैगरी ५ नम्बर प्रदेशबाहेक सबै प्रदेश कमिटीको अध्यक्ष पनि पुरुष नै बनाउने निर्णय सचिवालयको बैठकले गरेको छ ।
Comment Here!