–महिला खबर–
ललितपुर । रौतहट र अछाममा एसिड छ्यापेका घटना सेलाउन नपाउँदै नवलपरासीमा अर्की एक महिलामाथि एसिड प्रहार भएको छ ।
कावासोती नगरपालिका १६, हरवासीकी ३० वर्षीया वसन्ती परियारमाथि सोमबार साँझ बजार गएर घर फर्किँदै गर्दा घरेलु हतियार प्रहारका साथै एसिड छ्यापिएको हो ।

तस्बिर शौजन्य : गोपाल ढकाल/चितवन
विमल श्रीपालीले विहे गर्न नमानेकाे कारण परियारमाथि एसिड हानेकाे स्थानीयले बताएका छन् । यद्यपि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी लिलाराज लामिछानेले यस विषयमा अनुसन्धान भइरहेकाे बताए ।
उनले महिला खबरसँग कुरा गर्दै एसिड प्रहारका साथै हतियार प्रहार गरि घाइते बनाउने सोही ठाउँका ३७ वर्षीय विमल श्रीपालीलाई सोमबार नै पक्राउ गरि अनुसन्धान थालिएको बताए । महिलाको कञ्चट र छातीमा छुरा प्रहार गरिएको छ भने टाउकाबाट एसिड खन्याइएको थियो ।
एसिड र छुरा प्रहारबाट घाइते भएकी परियारलाई स्थानीयको सहयोगमा भरतपुर अस्पताल पुर्याएका थिए । अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका प्रवक्ता गोपाल पौडेलले बताए । उनका अनुसार परियारको महिला हिंसा अन्तरगत अस्पतालमा रहेको संकट व्यवस्थापन एकद्वार केन्द्र (ओसीएमसी) अन्तरगत उनको उपचार भइरहेको छ ।
यसअघि एसिड प्रहारबाट रौतहटकी १८ वर्षीया सम्झना दासको सोमबार नै मृत्यु भएको थियो । भने, यहि असोजमै अछाममा एसिड आक्रमणबाटै ६ महिने नाबालकको मृत्यु भइसकेको छ ।
Comment Here!