रोकिएन एसिड प्रहारको श्रृंखला, तराईमा एसिड प्रतिबन्ध


प्रकाशित मिति :2018-09-26 09:45:02

–सन्दिप वि.क–

ललितपुर । रौतहट चन्द्रपुर नगरपालिका ६ का दुई दिदीबहिनी गएको भदौ २६ गते राति एसिड प्रहारबाट घाइते भए । १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासलाई एसिड प्रहारको आरोपमा काठमाडौं किर्तिपुर हस्पिटलमा कुरुवा आएका छिमेकी रामबाबु पासवान नै पक्राउ परे ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय चन्द्रपुरले जिल्ला अदालतबाट ८ दिन म्याद थप गरि अनुसन्धान गरिराखेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल कुमार दाहालले पासवानको अनुसन्धान भइरहेको बताए ।

राति १२ बजेतिर घरमै सुतिरहेको बेला दिदीबहिनीमाथि एसिड प्रहार भएको थियो । सुस्मिताको अवस्था सामान्य रहे पनि दिदी सम्झनाको भने उपचारका क्रममा आइतबार निधन भएको छ ।

फाइल तस्बिर : बहिनी सुस्मिता र दिदी सम्झना किर्तिपुर अस्पतालमा उपचारका क्रममा ।

अस्पतालका डा.सुरेन्द्र बस्नेतका अनुसार इन्फेक्सनका कारण सम्झनाको मृत्यु भएको हो । उनले भने, ‘सम्झनाको ३५ प्रतिशतभन्दा बढी भाग जलेको थियो भने सुस्मिताको ५ प्रतिशत भन्दा बढी भाग जलेको छ । ’

केही वर्षअघि सोही गाउँमा एसिड प्रहारको घटना घटेको थियो ।

६ महिने नाबालकमाथि एसिड प्रहार

गएको मंगलबार अछाममा ६ महिने नाबालकमाथि एसिड प्रहार हुँदा मृत्यु भयो । बिहान ११ बजे घरभित्रै सुताइएका तुर्माखाँद गाउँपालिका ४ का देबसरा बयकका ६ महिने छोरा मुस्कानको एसिड प्रहारबाट मृत्यु भएको हो ।

एसिड प्रहारको आंशकामा प्रहरीले देवसराकै देउरानी जानकी बयकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक शाहीले जानकीले एसिड प्रहार गरेको स्वीकारे पनि किन प्रहार गरिन् भन्ने बारे खुल्न नआएको बताए ।

  फाइल तस्बिर : छोराको उपचार गराउँदै देवसरा

नाबालकको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मंगलबार बिहान मृत्यु भएको थियो । घरबाट नजिकको स्वास्थ्य संस्थामा लैजाँदा त्यताबाट कमलबजार रेफर गरेको थियो ।

कमलबजारबाट जिल्ला अस्पतालमा पु¥याउँदा अवस्था गम्भीर भइसकेकाले त्यहाँ पनि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको थियो । घरायसी विवादका कारण जानकीले एसिड प्रहार गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बिहे गर्न नमान्दा एसिड प्रहार

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६, हरवासीकी ३० वर्षीया वसन्ती परियारमाथि सोमबार साँझ बजार गएर घर फर्किँदै गर्दा घरेलु हतियार प्रहारका साथै एसिड छ्यापियो ।

    एसिड प्रहारबाट घाइते वसन्ती परियार : तस्वीर/गोपाल ढकाल

सोही ठाउँका विमल श्रीपालीले विहे गर्न नमानेको कारण परियारमाथि एसिड हानेको स्थानीयले बताएका छन् ।

यद्यपि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी लिलाराज लामिछानेले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

एसिड प्रहारका साथै हतियार प्रहार गरि घाइते बनाउने सोही ठाउँका ३७ वर्षीय विमल श्रीपालीलाई सोमबार नै पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

महिलाको कञ्चट र छातीमा छुरा प्रहार गरिएको छ भने टाउकाबाट एसिड खन्याइएको थियो । एसिड र छुरा प्रहारबाट घाइते भएकी परियारलाई स्थानीयको सहयोगमा भरतपुर अस्पताल पु¥याइएको छ ।

अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका प्रवक्ता गोपाल पौडेलले बताए । उनका अनुसार परियारको महिला हिंसा अन्तरगत अस्पतालमा रहेको संकट व्यवस्थापन एकद्वार केन्द्र (ओसिएमसी) अन्तरगत उनको उपचार भइरहेको छ ।

‘६ वर्ष बित्यो, न्याय पाइन’

मेरो नाम बिन्दवासीनि कंशाकार । घर मकवानपुर हेटौँडा ।  ६ वर्ष अघि प्रेम प्रस्ताव अस्वीकार गर्दा ममाथि एसिड प्रहार भयो । मलाई एसिड प्रहार गर्ने भारत घर भएका दिलिप राजकेशरी थियो । ऊ एसिड प्रहार गरी भाग्यो । आफन्तसँगै बस्दै आएको थियो ।

एसिड प्रहारबाट मेरो अनुहार, घाटी र छातीको भाग जलेको छ । अहिले एक महिनामात्रै भयो भारत पुगेर प्लाष्टिक सर्जरी गरेकी छु ।

घटना हुनेबित्तिकै प्रहरीमा उजुरी दिएँ । तर प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । ६ वर्ष बित्यो ऊ पक्राउ परेको छैन ।

प्रहरीलाई सोध्यो भने पक्राउ गर्छु भन्छ । तर मैले अहिलेसम्म न्याय पाइन । उसका आफन्त समेत यहाँको जग्गा बेचेर भारत गइसके । अब कसरी पक्राउ गर्ने उसलाई ? एसिडले गर्दा मेरो जीवन नै बबार्द भयो । तर पनि मैले न्याय पाइन ।

१० वर्षमा २७ घटना

यी त प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय एसिडका घटना बढ्न थालेको छ । एसिड बजारमा सजिलै किनबेच हुने भएका कारण पनि यस्तो घटना बढ्ने गरेको हो ।

अग्नी हिंसा पीडित नेपालको तथ्यांक अनुसार नेपालमा सन् २०१० देखि हाल सम्म २७ वटा एसिड प्रकरणका घटना घटेका छन् ।

यस्ता अधिकांश घटना रिसिबि, दाइजो, पारिवारिक विवाद, विवाह र प्रेम प्रस्तावको इन्कार लगायतका रहेका छन् ।

अग्नी हिंसा पीडित नेपालकी निवर्तमान अध्यक्ष सुलक्षणा राणा भन्छिन्, ‘विकृतिजन्य सोचका कारण यस्ता घटना हुने गरेका छन् । त्यसका लागि सरकारले एसिड बिक्री वितरण मै रोक लगाउनुपर्छ । कानून कडा रुपमा कार्यान्वय गर्नुपर्छ ।’

सरकारका नाममा परमादेश जारी

एसिड बिक्रि वितरण, नियन्त्रण र नियमनको कानून बनाउन सर्वोच्च अदालतबाट सरकारलाई परमादेश समेत जारी भइसकेको छ ।

२०७३ भदौ १२ गते न्याय तथा अधिकार संस्था (जुरी नेपाल)को तर्फबाट अधिवक्ता शशी बस्नेत समेतले नेपालमा एसिडका कारण अपराध बढ्दै गएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदनमा एसिडका कारण महिलामाथि हिंसा बढेको भन्दै एसिडको बिक्री वितरण तथा खरिद बिक्रीको उचित नियमन तथा अनुगमन गर्न माग गरिएको थियो ।

निवेदनमा पीडितको तत्काल सुरक्षा र निःशुल्क प्रभावकारी उपचार एवं अन्तरिम राहत तथा यथोचित क्षतिपूर्तिको व्यवस्थाको अबलम्वन गर्ने तर्फ नेपाल सरकारले तदारुकता नदेखाएकोले यस विषयलाई समेटने गरी नयाँ कानून बनाउन परमादेशको आदेश जारी हुनुपर्ने पनि माग गरिएको थियो ।’

निवेदनमा एसिड जस्तो संवेदनशिल बस्तुको बढ्दो दुरुपयोग भई लैंगिक हिंसाजन्य अपराध हुन नदिनका लागि एसिडको उत्पादन, भण्डारण, आपूर्ति, खरिद, बिक्रि तथा वितरणको नियमनका लागी सम्वन्धीत सबै पक्षसँग आवश्यक समन्वय र परामर्श गरी आवश्यक कानूनी तथा नियमनकारी मापदण्डको प्रबन्ध गरी लागु गर्न र यसको बिक्री वितरण नियन्त्रण र नियमनका लागि तत्काल निर्देशीका बनाई लागु गर्न, समय समयमा बजार अनुगमन गर्न गराउन परमादेश जारी गरी पाउँ भनिएको थियो ।

सर्वोच्च अदालतले एसिड आक्रमणको अपराध रोकथाम, एसिडको बिक्री वितरण, नियन्त्रण र नियमन तथा, पीडितलाई पर्याप्त क्षतिपूर्तिको कानून बनाउन सरकारलाई परमादेश जारी गरिसकेको छ ।

सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले अपराधिलाई सजाय र पीडितलाई पर्याप्त क्षतिपूर्ति हुने गरी कानून बनाउन परमादेश जारी गरेको थियो ।

रिट निवेदक अधिवक्ता शशी बस्नेतले सर्वोच्चबाट फैसलाको पूर्ण पाठ नआइसकेको बताइन् ।

उनले भनिन्, ‘फैसलाको पूर्ण पाठ आएसँगै कानून बन्नेछ । यसले एसिडको सहज बिक्री वितरण रोक्नमा थप सहज हुनेछ ।’

‘बिक्री वितरण रोक्न मौखिक आदेश दिएका छौं’ : गृहमन्त्रालय

गृहमन्त्रालयका उपसचिव एवं सूचना अधिकारी एकदेव अधिकारी एसिड बिक्री वितरणका लागि गृहमन्त्रालयले तराईका २६ जिल्लामा मौखिक आदेश दिइसकेको बताउँछन् ।

एकदेव अधिकारी/सूचना अधिकारी

अधिकारी भन्छन्, ‘एसिड बिक्री वितरण रोक्न गृहमन्त्रालय गम्भीर रुपमा लागेको छ । एसिड प्रकरणका घटनामा दोषीलाई नियन्त्रण गर्ने र कानूनी कठघरामा ल्याउने काम भइरहेको छ ।’

जसले बिक्री वितरण गर्न अनुमति लिएको हो, उसले मात्र बिक्री वितरण गर्न निर्देशन दिइसकेको अधिकारीले बताए ।

‘सबै जिल्लामा अनुगमन समिति गठन भएका छन्’ अधिकारी भन्छन्, ‘हामीले पहिले भन्दा अहिले अनुगमनको दायरालाई फराकिलो बनाउँदै एसिड बिक्री वितरण नियन्त्रणलाई समेत समावेश गरि निर्देशन दिएका छौं ।’

उनलाई यो आदेशको प्रभावकारी कार्यान्वयन हुने विश्वास छ । भन्छन्, ‘यसले अपराध नियन्यणमा टेवा पुग्नेछ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: