….तिमीसँग फोटो नखिचेको पछुतो


प्रकाशित मिति :2018-09-27 13:23:16

-उमा पौडेल-

गएको बैशाखको मध्यतिर एक अधबैंशे महिला कार्यकक्षमा आइपुगिन् । उनको आँखामा मिठा सपनाहरू लालायित थिए । टठिलो मुहारको भावमा ‘सुख’ प्रतिक्षारत देखिन्थे ।

उनी थिईन् मनमाया । विदेश गएर प्रशस्त कमाउने अभिलाषा बोकेर राहदानी बनाउन आएकी ।

हामी सामी परियोजना मार्फत सुरक्षित आप्रवासनका लागि काम गरिरहेका छौं । सिन्धुली जिल्लाबाट पासपोर्ट बनाउने जो कसैले पनि सुरक्षित आप्रवासनबारे सूचना लिएपछि मात्रै जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउने प्रकृया अघि बढ्छ ।

त्यही क्रममा परियोजनाको परामर्श कक्षमा आईपुगेकी थिईन् मनमाया । मेरा सहकर्मीले मनमायाका कुरा सुनेपछि कतै न कतै त गडबड छ भन्ने महशुस गरेर र मेरो कार्यकक्षमा लिएर आएका थिए ।

उनीसँग नागरिकताको प्रतिलिपी रहेछ, हेरें । अनि ठट्टै ठट्टामा भनिहालें, ‘बैगुनी रैछ्यौ नि दिदी । नाम चाहिँ मनमाया, कामले चाहिँ नेपाल छाड्ने भनेर पासपोर्ट बनाउन आइछ्यौ ।’

मेरा सहकर्मी मुसुक्क हाँसेर आफ्नो काममा लागे । अब मनमायाले बेथाको पोको फुकाईन् ।

१६ वर्षकी हुँदा आफूखुसी बिहे गरेकी थिईन्, एउटै गाउँका पुरुषसँग । २ छोराछोरी जन्मिए । बुताले भ्याएसम्म मिठो मसिनो खुवाईन्, हुकाईन, बढाईन् । श्रीमानले विवाह भएको ११ वर्षपछि सौता ल्याए । श्रीमान र सौताको अवहेलना सहन नसकेर सौता भित्रिएको ६ महिनापछि छोराछोरीसहित काठमाडौं गईन् ।

काठमाडौमा संघर्षको थप श्रृङ्खला सुरु भयो । ज्याला मजदुरी गरेर जीवन चलाउन थालिन् । उनको काममा छोराछोरीले पनि सघाउँथे । मानसिक यातनाबाट टाढा भएपछि शारीरिक परिश्रम गरेर जीवन चलाइरहेकी थिईन् ।

त्यही क्रममा एकजना अपरिचित पुरुषले मनमायालाई विदेशको सपना देखाए । विदेशमा धेरै पैसा कमाईने, २÷४ वर्षपछि छोराछोरी पनि साथै लान मिल्ने आश्वासन दिए । सोझी मनमायाले ‘हो’ भन्ठानिन् ।

उनी खुसीले गद्गद् हुँदै पासपोर्ट बनाउन आएकी थिईन् । फुरुङ्ग पर्नुको कारण अरु पनि थिए । त्यी व्यक्तिले मनमायालाई विदेश जान र पासपोर्ट बनाउन तिमीले कुनै खर्च गर्नु पर्दैन समेत भनेका रहेछन् ।

मनमायाले कुरा खोल्दै गईन् ‘मलाई कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा पनि तिरिदिए । उनकी दिदी पर्नेलाई पासपोर्ट बनाउने काममा सघाउन मसँगै पठाएका छन् । कसैले सोधिहाले भने सानीमा हुन भन्नु भनेका छन् ।’

मनमायाका मुखबाट यति कुरा सुनेपछि मलाई जसरी पनि उनलाई विदेश जानबाट रोक्नुपर्छ भन्ने लाग्यो । अपरिचित व्यक्तिले सहयोगको नाटक मञ्चन गर्नुको पछाडि मनमाया बेचबिखनको जोखिममा पर्ने शतप्रतिशत जोखिम हो भन्ने सहजै आँकलन गर्न सकिन्थ्यो ।

मैले मनमायालाई सानीमा भन्नु भनेर सिकाएकी महिलालाई बोलाउन लगाएँ । उनको कुराले छर्लंग हुन्थ्यो कि, उनी आर्थिक प्रलोभनमा परि ती पुरुषले खटाएकी व्यक्ति हुन् । ‘इन्डिया जाने अनि त्यहाँबाट प्लेनमा विदेश जाने’ यति मात्रै पटक पटक दोहोर्याइ रहन्थिन् ।

हुन त मेरो कामको जिम्मेवारी उनलाई आवश्यक सूचना र जानकारी दिनु मात्रै हो । मसँग न उनलाई विदेश जानबाट रोक्न सक्ने अधिकार थियो, न राहदानी नदिने नै । तर, एउटी महिला जोखिममा छिन् भनेर जान्दाजान्दै मैले उनलाई थप जोखिमपूर्ण बाटोमा अघि बढ्न नदिनु मेरो मानवीय धर्म थियो ।

यही सोचका साथ दुवै महिलालाई सँगै लिएर प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको कोठामा गएँ । उनीहरूको सबै वास्तविकता सुनाइदिएँ । अनि प्रशासकीय अधिकृतसँग अनुरोध पनि गरें, ‘सकिन्छ भने उहाँको पासपोर्ट रोकौं ।’

प्रशासकीय अधिकृतले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पठाउनुभयो । दुवै महिलालाई साथै लिएर म प्रजिअको कोठामा गएँ । सानीमा भनिएकी महिलाको फोनमा दलाल पुरुषको फोन निरन्तर आयो । मैले सबैको अगाडि उनको फोन मागेर रिसिभ गरें । नौलो आवाज सुनेपछि ती व्यक्तिले फोन काटेर तुरुन्त स्वीच अफ गरिहाले ।

त्यही मनमाया दिदी जो सानो पहलका कारण बेचिने जोखिमबाट जोगिईन्, आज किन किन उनैलाई झल्झली सम्झिरहेछु । रजिस्टरमा टिपोट गरिएको उनको नम्बरमा फोन गरें, लागेन । मनमाया दिदी तिमीसँग एउटा फोटो खिच्न नपाएकोमा पछुतो छ ।

प्रजिअले धेरै समय दिएर उनीहरूको कुरा सुन्नुभयो । उहाँलाई पनि शंकास्पद लागेपछि मनमायालाई ‘तपाईलाई पासपोर्ट दिन मिल्दैन’ भनिदिनुभयो । र, दुवैैलाई प्रहरीकहाँ लिएर जान भन्नुभयो ।

दुवै महिलासँगै सिन्धुली प्रहरीको महिला तथा बालबालिका सेलमा पुग्यौं । परामर्श कक्षदेखि लिएर, प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, महिला तथा बालबालिका सेलका प्रमुख कसैले पनि उनलाई सम्झाउन बाँकी राखेका थिएनौं । हामीले मनमायालाई हुनसक्ने जोखिमबारे प्रष्टै भनिदिएका थियौं ।

दुवैलाई प्रहरी कार्यालयमा केही घण्टा राखियो । मनमायाका आफन्त पर्ने व्यक्तिहरूले उनीहरू प्रहरीमा आएको थाहा पाएछन्, आए । आफन्तलाई सम्झाई बुझाई हामीले महिला तथा बालबालिका सेलबाट आफन्तको जिम्मा लगाएर मनमायालाई पठायौं ।

आर्थिक प्रलोभनमा परि आएकी महिलालाई अबदेखि यस्तो काम नगर्न चेतावनी दिएर छाडियो । मनमायाका आफन्तसँगै म पनि फर्किदै थिएँ । जिल्ला प्रशासन कार्यालय नजिकै आएपछि जिस्काएँ, ‘जाउँ मनमाया दिदी पासपोर्ट बनाउन ।’

मेरो कुरा नसक्दै भनिन्, ‘झण्डै बेच्दिएछ । बनाउँदिन पासपोर्ट । जाँदिन विदेश । ज्याला गरेर दिनको १५ सय कमाउँछु त्यही खान्छु, बस्छु ।’

त्यही मनमाया दिदी जो सानो पहलका कारण बेचिने जोखिमबाट जोगिईन्, आज किन किन उनैलाई झल्झली सम्झिरहेछु । रजिस्टरमा टिपोट गरिएको उनको नम्बरमा फोन गरें, लागेन । मनमाया दिदी तिमीसँग एउटा फोटो खिच्न नपाएकोमा पछुतो छ ।

(लेखक सामी परियोजना सिन्धुलीको को जिल्ला संयोजक हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: