-महिला खबर-
ललितपुर । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले राज्यले महिलालाई दिने सेवा सुविधाबारे थाहा नहुँदा अधिकांश महिला आफूले पाउने अधिकारबाट वञ्चित हुनु परेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ, महिला समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘सूचनाको हकबारे पत्रकार महिलाको भूमिका विषयक’ अन्तरक्रियामा बोल्दै बाँस्कोटाले भने, ‘राज्यले हरेक क्षेत्रमा महिलालाई सहुलियत दिएको छ तर यसको प्रयोग र जानकारी नपाउँदा समस्या भएको छ ।’ उनले चालु आर्थिक वर्षको बजेटमा पनि ३५ प्रतिशत बजेट अर्थात् पाँच खर्ब रुपैयाँ लैंगिक संवेदनशिल बजेट भएको बताए ।
उनले थपे, ‘प्रत्येक सरकारले गर्ने काममा महिलाको क्षमता अभिवृद्धि गरेकै हुनुपर्छ । योजना तर्जुमामा महिला हुनैपर्छ । लाभको बाँडफाँडमा महिलाको सुनिश्चित हुनुपर्छ । महिलाले रोजगारी पाएकै हुनुपर्छ । समय कार्यबोझमा महिलालाई सुलभता हुनुपर्छ भन्ने छ ।’
बाँस्कोटाले पत्रकार महिलालाई सूचनाको हकलाई भरपुर उपयोग गर्न सुझाव दिँदै सूचना नदिने कार्यालय र कर्मचारी विरुद्घ आयोगमा उजुरी दिन समेत आग्रह गरे । राज्य प्रणालीले नै सूचना प्रवाह गर्न नजान्दा समस्या हुने गरेको समेत बाँस्कोटाले बताए ।
आयुक्त बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानून बनेको जानकारी समेत दिए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघको पहलमा सूचनाको हक सम्बन्धी कानून निर्माण भएको भन्दै त्यसको भरपुर सदुपयोग गर्न आग्रह गरे । सूचना नदिने संस्था र कर्मचारीलाई हुने कारबाहीको दायरा फराकिलो बनाउन समेत सुझाव दिए ।
कार्यक्रममा सञ्चारिका समूहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले सूचना माग्ने क्रममा पत्रकार महिलाहरु कम अग्रसर हुने गरेका भन्दै सूचनाको हक प्रयोग गरि सूचना लिन पत्रकार महिलालाई सुझाव दिईन् ।
उनले पुरुष पत्रकारको तुलनामा पत्रकार महिलाको संख्या २५ प्रतिशत मात्रै रहेकोले पत्रकारितामा महिला पत्रकारको निरन्तरता आवश्यकता रहेको बताइन् ।
विगत देखि नै सञ्चारिकाले पत्रकार महिलाको विषयमा आवाज उठाउँदै आएको भन्दै अध्यक्ष पण्डितले आगामी दिनमा पनि पत्रकार महिलाको क्षमता तथा दक्षता बढाउन थप आवाज उठाउने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले पत्रकारलाई दुर्घटना बीमाको व्यवस्था भएपनि हालसम्म ६ सय जना पत्रकारले मात्र बीमा गरेको र त्यसमा पनि पत्रकार महिला न्यून रहेको बताइन् ।
महासंघ लेखा समिति सदस्य मीरा राजभण्डारीले पत्रकार महिलाहरु सूचनाकोे हकबाट वञ्चित हुनुपरेको भन्दै क्षमता अभिवृद्घि तथा सूचनाको हकको प्रयोगका लागि कार्यक्रमको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा प्रेस संगठनका प्रतिनिधि रुबी श्रेष्ठ, चलचित्र निर्माता संघकी अध्यक्ष सुचित्रा श्रेष्ठ, गोरखापत्र दैनिक प्रबन्ध सम्पादक हरिकला अधिकारीले अहिले पनि पत्रकार महिलालाई सूचनाको हकबारे थाहा नहुँदा समस्या हुने गरेको बताएका थिए ।
अन्तरक्रियामा सहभागीले प्रत्येक सरकारी कार्यालयमा सूचनाको सहायता कक्ष हुनुपर्नेमा जोड दिएका थिए ।
गुलाबको फूलले सम्मान
सोही अवसरमा नेपाल पत्रकार महासंघ महिला समितिले सञ्चारिका समूहको नवनिर्वाचित कार्य समितिलाई सम्मान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र महिला समितिका संयोजक लक्ष्मी पुनले संयुक्त रुपमा गुलाबकाे फूल दिएर सम्मान गर्नुका साथै कार्यकालको पूर्ण सफलताको कामना गरेका थिए ।
Comment Here!