किन म सन्तान जन्माउन चाहन्न ?


प्रकाशित मिति :2018-09-28 16:00:20

ललितपुर । दक्षिण कोरियामा विवाह नगर्नेे, छोराछोरी नचाहने र पुरुषसित सम्बन्ध समेत नराख्ने फैसला गर्ने महिलाको संख्या बढिरहेको छ । संसारकै सबैभन्दा कम प्रजनन् दर भएको यो देशमा यदि समयमा नै ठोस कदम चालिएन भने जनसंख्या खुम्चिन थाल्ने संकेतहरू बाहिर आएका छन् ।

‘मेरो बच्चा जन्माउने कुनै योजना छैन । म कहिल्यै पनि यस्तो योजना बनाउँदिन’ ज्यांग युन–ह्वाले भनिन् । २४ वर्षकी यी युवती राजधानी सियोलमा भेटिएकी थिईन् । ‘मलाई प्रसवको बेलामा हुने शारीरिक पीडाको चाहना छैन । यो मेरो व्यवसायको लागि पनि हानिकारक हुनेछ’ उनले थपिन् ।

ज्यांग युन–ह्वा

दक्षिण कोरियाको रोजगारी बजार ज्यादै प्रतिस्पर्धी छ । युन–ह्वा एक वेब कमिक कलाकार हुन् । उनी जस्ता धेरै युवा वयस्कहरूले अहिलेको स्थानमा आइपुग्न कडा मेहनत गरका हुन्छन् । उनी आफ्नो मेहनतलाई खेर जान दिन कुनै पनि हालतमा तयार छैनन् ।

‘एक परिवारको हिस्सा हुनुको सट्टा म स्वतन्त्र हुन चाहन्छु । म एक्लै बस्न चाहन्छु र मेरा सपनाहरूलाई साकार पार्न चाहन्छु’ उनले भनिन् ।

त्यहाँका संगठनहरुले बताए अनुसार गर्भवती भएकै कारण वा प्रजनन् उमेर समूह भित्र पर्दा महिला विरूद्ध हुने भेदभाव रोक्ने कानूनी प्रावधान छ तर त्यो व्यवहारमा अहिलेसम्म लागु भएको छैन ।

जब राजधानीको पश्चिमी क्षेत्रकी बासिन्दा चोई मून–जोंगले आफू गर्भवती भएको कुरा कार्यलयमा बताईन् उनी हाकिमले दिएको प्रतिक्रियाबाट स्तब्ध भईन् ।

‘मेरो हाकिमले भने, ‘एकपटक तपाईंको बच्चा जन्मिएपछि तपाईंको पहिलो प्राथमिकता तपाईंको छोराछोरी बन्न जान्छ र यो कम्पनी दोस्रोमा पर्नेछ । के तपाईं अझै पनि काम गर्न सक्नुहुन्छ ?’ अनि उनले यो प्रश्न दोहोर्याए, पटकपटक’ मून–जोंगले भनिन् ।

गर्भवती हुँदा मून–जोंग कर लेखापालको रूपमा काम गर्थिन् । जब वर्षभरि कै सबैभन्दा कामको चाप भएको समय आयो उनको हाकिमले उनको अगाडि कामको चाङ लागाइदिए । कामको जिम्मेवारी बढ्दै गयो । जब उनले गुनासो पोखिन्, उनको हाकिमले उनमा कामप्रतिको लगाव कम भएको बताए । तनावहरू बढ्दै गए ।

मून–जोंग

‘ऊ चिच्याउँदै मलाई कराइरहेको थियो । म मेरो कुर्सीमा बसें । यी सबै तनावकोबीचमा मेरो शरीर काँप्न थाल्यो । मैले आँखा खोल्न सकिन । मेरो सहकर्मीले चिकित्सा सहायकलाई बोलाईन् । मलाई अस्पतालमा लगियो’ मून–जोंगले भनिन् ।

चिकित्सकहरूले अस्पतालमा उनलाई भनेका थिए, तनावले गर्दा गर्भपातका लक्षणहरू देखिरहेका थिए । मून–जोंग अस्पतालको एक हप्ताको उपचारपछि काममा फर्किन् । उनको गर्भ सुरक्षित थियो ।

उनको हाकिमले उनलाई कामबाट निकाल्न सके जति सबै तरिका अपनाएको उनले महसुस गरिन् । ‘यस्तो प्रकारको अनुभव यो देशमा असामान्य होइन’, उनले भनिन् ।

‘मलाई लाग्छ जब महिला गर्भवती हुन्छन्, उनीहरू धेरै चिन्तित हन्छन् । आफू गर्भवती भएको घोषणा गर्नुअघि धेरै सोच्नु पर्ने हुन्छ’ उनले भनिन्, ‘मेरा वरिपरिका धेरै मानिसहरुको बच्चा छैनन् । उनीहरुले बच्चा नजन्माउने योजना बनाएका छन् ।’

दक्षिण कोरियालाई विगत ५० वर्षमा विकासशील देशबाट संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएका देशहरू मध्येको एकको रुपमा उल्लेखनीय रूपान्तरण गराउन त्यहाँका मानिसको कडा परिश्रम र समर्पणको संस्कृतिलाई श्रेय दिने गरिन्छ । तर युन–ह्वा भन्छिन्, ‘यो रूपान्तरणको लागि महिलाले खेलेको भूमिकालाई प्रायः बेवास्ता गरेको देखिन्छ ।’

‘कोरियाकोे आर्थिक सफलता कम ज्याला लिने कारखानाका कामदारहरूमा धेरै निर्भर रह्यो । ती कामदारहरू मध्ये धेरै महिला थिए’ उनले भनिन्, ‘महिलाले परिवारलाई गरेको हेरविचार र रेखदेखको सेवाको कारण पुरूषले घर बाहिर जान र काममा मात्र आफ्नो ध्यान केन्द्रित गर्न सके ।’

अहिले महिला पहिले पुरुषले गर्ने व्यवस्थापन र व्यवसायका कामहरू धेरै गरिरहेका छन् । तर तीव्र सामाजिक र आर्थिक परिवर्तनहरूका बाबजुद लैंगिक दृष्टिकोण र मनोवृत्तिमा आउनुपर्ने परिवर्तन भने ढिलो भइरहेको छ ।

एक तथ्यांक अनुसार औसत दक्षिण कोरियाली पुरूषले आफ्नो बच्चाको हेरचाह जस्ता पैसा नआउने काममा एक दिनमा ४५ मिनेट खर्च गर्दछन् । भने महिलाले उनीहरू भन्दा पाँच गुणा समय यस्तो काममा खर्च गर्छन् ।

‘मेरो व्यक्तित्व त्यस्तो प्रकारको सहायक भूमिकाको लागि उपयुक्त छैन । म आफ्नै जीवनमा व्यस्त छु’ युन–ह्वाले भनिन् ।

यति मात्रै होइन उनलाई विवाहमा रुची नै छैन । उनी प्रेमी पनि बनाउन चाहँदिनन् । यसको एउटा कारण बदलाको भावना राखेर गरिने अश्लिलताको हिंसाको खतरा हो । यो कोरियामा ठूलो मुद्दाको रूपमा रहेको छ । उनी घरेलु हिंसाको बारेमा पनि चिन्तित छिन् ।

कोरियन अपराध इन्स्टिच्यूटले गत वर्ष गरेको एक सर्वेक्षणमा समेटिएका ८० प्रतिशत पुरूषले आफ्ना ‘रोमान्टिक पार्टनरहरूलाई’ दुव्र्यवहार गरेको स्वीकारेका थिए ।

दक्षिण कोरियाको ज्येष्ठ पुस्ताले युन–ह्वा जस्ता व्यक्तिलाई अति व्यक्तिवादी र स्वार्थीको रूपमा हेर्छन् । सियोलको एउटा खोलाको छेउमा अवस्थित एक पार्कमा रमाइरहेका ६० वर्ष काटेका दुई महिलासंँगको कुराकानीमा एक जनाले भनिन्, उनका ४० वर्ष कटेका तीन छोरीहरू छन् तर उनीहरू कुनैका पनि बच्चाबच्ची छैनन् ।

साभारः बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: