हामी किन अनागरिक ?


प्रकाशित मिति :2018-10-02 15:15:26

‘म र मेरो परिवारको बाँच्ने आधार के ?’

     दिवाकर क्षेत्री

मेरो नाम दिवाकर क्षेत्री । संविधानमा बाबु पत्ता नलागेकाहरुले नागरिकता पाउनेछन् भन्ने प्रावधान लेखिएको छ । मेरो बुबाको नाम थर थाहा छ । तर, ठाउँ ठेगाना पत्ता नलागेको अवस्था छ । आमा सँगै हुनुहुन्छ । नाममा नागरिकता पाउन सकेको छैन ।

बुबाको मृत्यु दर्ता छ । आमासँगको नाता प्रमाणित छ । गाविसले दिएको चिट्ठी पनि छ । मेरो भाइको समेत नागरिकता नहुँदा उसको छोराको पनि जन्मदर्ता बन्न सकेको छैन ।

मैले जागिर गरेको छु तर नागरिकता नहुँदा सञ्चय कोषमा पैसा जम्मा गर्न सकेको छैन । उल्टै अफिसबाट नागरिकता ल्याउन तीन महिने अल्टिमेटम पाएको छु ।

मेरो ४५ वर्षीया आमा इजरायलमा काम गर्दै हुनुहुन्छ । म र मेरो परिवारको बाँच्ने आधार के ? नागरिकता नभएकै कारण म र मेरो परिवारले धेरै समस्या झेल्न बाँध्य भएका छौं । बाबु पत्ता नलागेको अवस्थामा म जस्तालाई पनि नागरिकता पाउनबाट वञ्चित गरिनु हुँदैन । त्यसले गर्दा हामीले पनि बाँच्ने आधार पाउँथ्यौं ।

‘आफ्नै छोरालाई नागरिकता दिन सकिन’

मेरो नाम गायत्री तिवारी हो । मेरो नागरिकता त छ तर दुई छोराको नागरिकता बन्न सकेको छैन ।

गायत्री तिवारी

दुवै जनाले पढेका छन् । नागरिकता नहुँदा कमाउने बेलाको छोराले जागिर पाएको छैन । उसको बुबाको पत्ता लागेको छैन । एकल आमाको पहिचानलाई स्वीकार नगरेकै कारण नागरिकता दिन सकेको छैन । यसले गर्दा मेरो छोराहरुले धेरै समस्या भएको छ ।

आज हरेक ठाउँमा नागरिकता खोज्छ तर मैले उनीहरुलाई कहाँबाट नागरिकता दिऊँ ।
लिन गयो बाबुको पहिचान खोज्छ ।

‘छोराछोरी पढाउन पाइन’

मेरो नाम गोमा तामाङ ।

गोमा तामाङ

कुमार खवाससँग मेरो विवाह भयो । झापाको जन्मिएको भन्ने मेरो श्रीमानलाई याद छ । उहाँलाई कसैले सानैमा काठमाडौं ल्याइयो । इँट्टा भट्टामा काम गर्नुहुन्थ्यो । त्यहि क्रममा हाम्रो विवाह भयो । उहाँको कुनै पहिचान छैन ।

मेरो श्रीमानको अहिलेसम्म नागरिकता छैन । त्यसैले मैले पनि नागरिकता बनाउन सकेको छैन । नागरिकता नहुँदा बच्चाहरुको जन्मदर्ता गराउन सकेको छैन ।

श्रीमानको बुबा आमा केही थाहा छैन । माइतीबाट मैले नागरिकता लिँदा विवाह नगरेको उल्लेख गरेर पाईंदो रहेछ । म विवाहित । छोराछोरी छन् । कसरी अविवाहित भनेर नागरिकता लिऊँ ।

सांसद नै पीडामा

 इन्दु कुमारी शर्मा

म इन्दु कुमारी शर्मा । सांसद म आफै नागरिकताबाट पीडित हुँ । नेपालमा नागरिकता विना सास झेर्न पनि गाह्रो छ । मान्छेलाई नागरिकता नहुँदा कदम कदममा कति असहज छ भन्ने हामी भुक्तभोगीलाई थाहा छ ।

नागरिकता पहिचानसँग, राष्ट्रसँग जोडिएको छ । नेपालमै जन्मिएर, यहि बसेरपनि एउटा अनागरिक जस्तो भएर बाँच्नुुपर्ने अवस्था छ ।

मेरो बुबा भारतबाट ५० वर्ष अघि नेपाल आउनुभयो । आमा नेपालको वंशजको छोरी । नेपालमै जन्मिएकी । नेपालमा विवाह गरेर बुबा कहिल्यै भारत जानु भएन । नेपालमै बस्नुभयो । सुर्खेतमा कलेज खोलेर त्यहीँ बस्नुभयो । तर मेरो दाजुभाइ आज नागरिकताबाट वञ्चित भएका छन् ।

मैले विवाह गरेर अंगीकृत नागरिकता पाएको छु । नेपालकी छोरी भएर यहि जन्मिएर हुर्कंदा पनि मेरो पहिचान छैन । यहिबाट पीडाका कारण पनि नागरिकता विधेयकमा ३/४ वटा कुरा संशोधनमा पनि हालेको छु । नागरिकता कुरा उठाइरहेको छु ।

हामी जस्ता लाखौं व्यक्तिहरु नागरिकताबाट वञ्चित छन् । बैंकदेखि लिएर खातासम्म खोल्न नपाउने अवस्था छ । जन्मदर्ता नै नहुँदा पढ्न समेत सक्दैनौं । जन्मबाटै उसको वञ्चित हुनुपर्ने अवस्था छ ।

मेरो बुबा एक महिना अगाडि ८५ वर्षमा वित्नुभयो । तर उहाँले राज्यबाट कुनै सुविधा पाउनुभएन । पुरै जीवन नै देशको लागि योगदान गर्नुभयो । मेरो भाई २०६० सालमा माओवादी आन्दोलनमा सहिद भयो ।

उसलाई सहिद घोषणा गरिएको छ । उसले पनि नागरिकता पाएन । उसको सन्तानले पनि नागरिकता पाएको छैन । सबैले ‘कहिले देखि लागू हुन्छ संविधान ?’ भन्दै सोध्छन् के उत्तर दिऊँ ?

नेपालमा नागरिकता विहीनको अवस्था

२०७० सालमा महिला, कानून र विकास मञ्चले गरेको एक अध्ययन अनुसार नेपालमा २०६८ साल असार मसान्तसम्म १६ वर्ष वा सोभन्दा माथिका उमेरका व्यक्तिहरुको कुल जनसंख्यामध्ये २३.६५ प्रतिशत अर्थात ४३ लाख ४६ हजार ४६ व्यक्तिहरुसँग नागरिकता प्रमाणपत्र नभएको पाईएको थियो ।

यस्तै मञ्चले गरेको सात वर्षसम्म नागरिकता प्रमाण पत्रविहीन जनसंख्याको प्रक्षेपण अनुसार नेपालमा २०७८ सम्ममा ६७ लाख (२६.१४प्रतिशत) पुग्ने अनुमान गरिएको छ ।

सन् २००९ मा एसियाली विकास बैंकले गरेको अनुमान अनुसार नेपालमा करिब ३० देखि ५० लाखको हाराहरीमा १६ वर्ष उमेर माथिका नेपालीहरुसँग नागरिकताको प्रमाणपत्र थिएन ।

राष्ट्रिय दलित आयोगले सन् २००४ मा गरेको अध्ययन अनुसार दलित समुदायका करिब ३५.४४ प्रतिशत व्यक्तिहरुसँग नागरिकताको प्रमाणपत्र नभएको देखाएको थियो । दलित समुायका १६ वर्ष उमेर माथिका ३९ हजार ६ सय ६० मानिसहरुबीच गरिएको अध्ययनमा १४ सय ५६ जनासँग नागरिकताको प्रमाणपत्र नभएको पाईएको थियो ।

पाटन क्याम्पस, ललितपुरको समाजशास्त्र-मानवशास्त्र संकायले सन् २००५(२०६२) मा गरेको एक अध्ययन अनुसार १६ वर्ष उमेर माथिका ८ लाख ९८ हजार ७ सय ३१ भन्दा बढी नेपालीसँग नागरिकताको प्रमाणपत्र नभएको देखिएको थियो ।

महिलाको पाठेघरमा ताल्चा लगाउने काम भएको छ

दिप्ती गुरुङ, नागरिकता प्रभावितहरुको सञ्जालकी अध्यक्ष

सर्वोच्चले फैसला गर्दा कतिवटा केशमा नागरिकता दिनु भनेर गर्छन् । कतिवटामा नदिनु भन्दैनन् । नियम अनुसार गर्नु गराउनु भन्छन् । त्यस्ता खालको केसहरुको कुनै टुंगो नै लाग्दैन । सर्वोच्च भन्दा माथि रिट गर्ने ठाउँ पनि कतै छैन ।

दोस्रो पितृसतात्मक समाजमा महिलाहरु नागरिकताका लागि पुरुषहरुसँग आश्रित हुने कारणले पनि पुरुषलाई सधैं खुसी बनाइराख्नुपर्ने अवस्था छ ।

महिलाको हकमा नागरिकताको कुरा उठ्दा सीमाना, राष्ट्रिय सुरक्षा र राष्ट्रियताका प्रश्नहरु हामीमा तेस्र्याउने गरिएको छ ।

यदि सीमाना सुरक्षाको समस्या छ भने सीमानासँग सम्बन्धित समस्या सुल्झाइयोस् । यसको लागि कुटनितिक प्रयासहरु गर्नुपर्ने हो भने त्यहाँ गएर समस्या समाधान गर्ने प्रयास गरियोस् ।

यहाँ महिलाको पाठेघरमा ताल्चा लगाउने जस्तो नियमहरु आएको छ । यसले हामीलाई धेरै मर्का परेको छ । नागरिकता व्यक्तिगत मनोबलसँग जोडिएको चिज हो । त्यसैले राज्यले नागरिकताको समस्यालाई राज्यले समाधान गर्नुपर्छ ।

राज्यले दुई खाले नागरिक उत्पादन गर्नु हुँदैन

शशी श्रेष्ठ, सभापति राज्य व्यवस्था तथा सुशासन समिति

  शशी श्रेष्ठ

नागरिक विभेदाकारी हुनुहुँदैन । दुई वर्गको नागरिक हुनु हुँदैन । हामीले नागरिकताको विषयमा लामो समयदेखि नै आवाज उठाउँदै आयौँ ।

संविधानको नागरिकता सम्बन्धी भागको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिककता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनिएको छ । यो हाम्रो आधार हुन सक्छ ।

यस्तै मौलिक हकको धारा ३८ मा महिलाको हक भनेर अलग्गै व्यवस्था गरिएको छ । त्यसको उपधारा १ मा प्रत्येक नागरिकलाई लैंगिक विभेद विना समान वंशीय हक हुने भन्ने उल्लेख छ । यो हाम्रो लागि बलियो आधार हुन सक्छ ।

सरकारले दुई खाले नागरिक, महिला नागरिक र पुरुष नागरिक उत्पादन गर्नुहुँदैन । त्यसमा हामी संशोधन गरेर जाने छौं । नागरिकता समस्यालाई पनि समाधान गर्नेछौं ।

प्रस्तुती : सन्दिप वि.क

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: