किन बिर्सन्छन् यौन हमलाबाट बाँचेकाहरु घटना विवरण ?


बलात्कार र यौन अपराधसँग जोडिएका पाँच तथ्य र भ्रम

प्रकाशित मिति :2018-10-05 14:06:46

पत्रिका पढ्नुहोस्, टिभीमा समाचार हेर्नुहोस् वा सोसल मिडियामा नजर डुलाउनुहोस्, बलात्कार र यौन अपराधका घटना नियमित रुपमा आइरहेकै हुन्छन् ।

जबदेखि यौन हिंसाका शिकार महिलाले यसबारे खुलेर कुरा गर्न थाले तबदेखि यस्ता घटनाको बाढी नै आएको छ । अब यसबारे विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् ।

सरकारलाई यौन अपराध रोक्नका लागि कडा कानून बनाउन दबाब दिइँदैछ ।

यौन हिंसा र यौन अपराधको विषयमा गलत धारणा फैलिएका छन् । यस्ता घटनाबारे मानिसहरुको सोच वास्तविकतासँग मेल खाँदैन ।

यसकारण यौनहिंसाका शिकार लज्जा र अपराध–बोधको शिकार हुन्छन् । उनीहरु आफूमाथि भएको घटनाका लागि आफूलाई नै जिम्मेवार मान्छन् ।

बलात्कार र यौनहिंसाबारे भ्रमका कारण अदालत पनि तथ्यबारे निष्पक्ष रुपमा अनुसन्धान गर्न सक्षम हुँदैन ।

आउनुहोस्, यसका भ्रम र यथार्थबारे जानकारी लिऔंः

१. धेरैजसो यौन अपराध अपरिचित व्यक्तिले मात्रै गर्दैनन्:

कुनै अँध्यारो गल्लीबाट गुज्रिरहेका महिलामाथि यौनहिंसाको खबर धेरैजसो चर्चामा रहन्छ । टिभीमा यसलाई बढाई–चढाई देखाइन्छ ।

तर वास्तवमा बलात्कार र गम्भीर यौनहिंसाका धेरैजसो मामला अहिले पनि घरभित्र नै हुन्छन् । यस्ता अपराध गर्नेहरु धेरैजसोले पीडितलाई राम्रोसँग चिन्नेका हुन्छन् उनीहरु नजिकका व्यक्ति हुन्छन् ।

इंगल्याण्ड, वेल्स र अष्ट्रेलियामा हरेक पाँचौं महिला आफ्नो जीवनमा कम्तिमा एकपटक यौनहिंसाको शिकार भएका छन् ।

अमेरिकाको नेशनल सेक्सुअल भायोलेन्स सर्वेका अनुसार पनि हरेक पाँचौं अमेरिकी महिला बलात्कारको शिकार भएका छन् । जबकी हरेक ७१ मध्ये एक पुरुष यौन हिंसाका पीडित हुन्छन् ।

ब्रिटेनमा एक भिन्न रिपोर्ट अनुसार यौन हिंसाका केवल १० प्रतिशत मामलामा मात्र आरोपी अपरिचित थिए । यौनहिंसाका ५६ प्रतिशत मुद्दामा हमलाकर्ता पीडितका साथी थिए ।

यौनहिंसाका बाँकी अर्थात् ३३ प्रतिशत मामलामा आरोपी कुनै परिचित वा परिवारका नै सदस्य थिए ।

२. यौनहिंसाका वास्तविक पीडित सधैं आफूमाथि भएको घटनाको ऊजुरी दिन्छन्ः

ब्रिटेनको गृह विभागको आँकडा अनुसार दर्ता भएका बलात्कारका मुद्दामा ४६ प्रतिशत मुद्दा घटना भएको दिन नै दर्ता भएका छन् जबकी १४ प्रतिशत मुद्दामा पीडितले ऊजुरीका लागि ६ महिनाको समय लिए ।

यदि यौनहिंसाको शिकार कोही बालिका छिन् भने ऊजुरी दिन थप समय लाग्छ । १६ वर्षभन्दा कम उमेरका यौनहिंसा पीडितमध्ये २८ प्रतिशतले मात्र घटना भएकै दिन रिपोर्ट दर्ता गराउँछन् ।

जबकी एक तिहाई पीडित सही समयको प्रतिक्षा गर्छन् । याद राख्नुहोस्, यी त भए दर्ता गरिएका मामला । बलात्कार र यौन अपराधका यस्ता थुप्रै घटना त दर्ता नै हुँदैनन् ।

अमेरिकामा यौन अपराधका तीनमध्ये दुई मामला कहिले पनि पुलिससम्म पुग्दैनन् ।

मानिसहरुले बलात्कार वा यौनहिंसाका मामलाबारे रिपोर्ट दर्ता नगर्नु र ढिला गर्नुका विभिन्न कारण हुन्छन् । धेरैजसो पीडितले यसकारण ऊजुरी दिँदैनन् किनभने उनीहरु आरोपी जेल जाउन् भन्ने नै चाहँदैनन् ।

सायद पीडितले आफूमाथि बलात्कार गर्नेलाई प्रेम गर्ने भएकाले यस्तो हुन्छ । अथवा, आरोपी परिवारका सदस्य वा जीवनसाथी नै भएकाले पनि ऊजुरी दिँदैनन् ।

थुप्रै पटक पीडित महिला आरोपीमाथि आर्थिक रुपमा निर्भर हुने भएकाले पनि ऊजुरी दिन सक्दैनन् । धेरैजसो बलात्कार पीडितले आरोपीको पूरा जीवन बर्बाद गर्न नचाहेका कारण पनि पुलिसलाई यसबारे जानकारी दिँदैनन् ।

३. तुरुन्त रिपोर्ट दर्ता गर्दा यौन अपराधीको अनुसन्धान र केस गर्न सजिलो हुन्छः

यो साँचो हो, बलात्कार वा अन्य प्रकारको यौनहिंसाका शिकार भएका महिलाले यदि अपराधको तत्काल रिपोर्ट दर्ता गर्छन् भने उनीहरुको फोरेन्सिक अनुसन्धान तुरुन्त गर्न सकिन्छ ।

उनीहरुको स्याम्पल चाँडै नै लिने गरिन्छ जसमा वीर्य, र्याल वा डिएनएजस्ता प्रमाण जुटाउन सकिन्छ । स्वास्थ्य परिक्षणमा हिंसाका कारण लागेको चोटबारे पनि पत्ता लाग्छ ।

तर यौन अपराधका शिकार महिलाको तत्काल मेडिकल जाँचको यो अर्थ होइन कि आरोपीलाई तुरुन्त पक्राउ गर्न सकिन्छ र तत्काल सजायको भागिदार बनाउन सकिन्छ ।

यसको यो पनि अर्थ होइन कि केस तुरुन्त फाइनल हुन्छ । पुलिस थानामा दर्ता भएका बलात्कारका मामला यसका उदाहरण हुन् ।

अमेरिकाका विभिन्न थानामा ‘रेप किट’ यत्तिकै फयाँकिएका छन् । जब तपाईंलाई कुनै नीजि साथीले बलात्कार गरेको छ भने यस्ता मेडिकल अनुसन्धानबाट आरोप साबित गर्न थप मुश्किल हुन्छ ।

जानकारका अनुसार आज बलात्कारका धेरैजसो मामलामा सेक्स गरिएको छ छैन भनेर सोधिँदैन । सेक्स सहमतीमा भएको थियो र जबर्जस्ती गरिएको थियो भनेर सोधिन्छ ।

ब्रिटेनको आँकडा अनुसार बलात्कार भएकै दिन दर्ता गरिएका रिपोर्टमध्ये २६ प्रतिशत केसमा आरोप तय भए ।

तर ऊजुरी दिन एक दिन ढिलो हुँदा आरोप तय गर्ने आँकडा घटेर १४ प्रतिशत मात्र रह्यो ।

जसले अपराध भएकै दिन ऊजुरी दिए उनीहरुको मुद्दा अदालतमा पनि चाँडै नै पुगेको भेटियो ।

यद्यपी, यदि पीडित १६ वर्षभन्दा कम उमेरका छन् भने ऊजुरी कहिले गरिन्छ, त्यसले कुनै फरक पार्दैैन ।

अमेरिकाको एक रिपोर्ट अनुसार बलात्कारका दर्ता गरिएका कूल घटनामध्ये १८ प्रतिशतलाई मात्र पक्राउ गरियो भने मात्र दुई प्रतिशतले सजाय पाए ।

४. यदि पीडितले साँच्चै नै सम्बन्ध बनाउन चाहेका थिएनन् भने उनीहरुले डटेर लड्नु पर्दथ्योः

बलात्कार वा यौनहिंसाका घटनाका बेला हरेक पीडितको व्यवहार भिन्न हुन्छ ।

न्यूजिल्याण्डको वेलिंगटन युनिभर्सिटीकी जेन जोर्डनले यसबारे किताब लेखेकी छिन् – सिरियल सर्भाइभर्स ।

उनले यौनहिंसाका १५ पीडित महिलाको उदाहरण दिएर आरोपी एकै व्यक्ति भए पनि हरेक केसमा महिलाले यौन अपराधप्रति भिन्न प्रतिक्रिया दिएको जानकारी दिइन् ।

कतिले ती व्यक्तिसँग कुराकानी गरेर बच्न कोसिस गरे । कतिले उसँग लडे ।

अमेरिकामा बलात्कारका दुई सय ७४ मामलाको रिपोर्ट हेर्दा केवल २२ प्रतिशत मामलामा महिलाले चिच्याएर वा लडेर बलात्कारबाट बच्ने कोसिस गरे ।

५६ प्रतिशत पीडितले आरोपीसँग हार गुहार गरेर बच्ने कोसिस गरे । यस्तै, कोही भने अत्यधिक डराएका कारण केही गर्नै सकेनन् ।

भिन्न भिन्न स्थितीमा थरीथरीका तरिका काम लाग्छन् । जो महिला लडे, तीमध्ये धेरैजसो बाँच्न सफल भए ।

तर, यस्तो स्थितीमा उनीहरु कुनै हातहतियारको प्रयोगबाट घाइते हुने खतरा बढ्यो । यस्तै, दयाको भीख माग्ने, रुने वा कुराकानी गरेर सम्झाउने मामलामा पीडित घाइते हुने सम्भावनामा थप वृद्धि भयो ।

यदि महिलालाई कोही नचिनेका व्यक्तिले हमला गरेका छन् भने महिलामाथि अपराध हुने डर थप बढ्ने गर्छ ।

यहाँ यो बुझ्न आवश्यक छ कि यस्तो स्थितीमा मानिसहरु आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैनन् । कोही त यस्तो स्थितीमा फ्रिज हुने गर्छन् ।

स्विडेनमा दुई सय ९८ महिलामाथि गरिएको अनुसन्धानबाट ७० प्रतिशत महिला यौनहिंसाका बेला केही गर्न सक्ने अवस्थामा नभएको र यस्तै, ४८ प्रतिशतले त होस नै गुमाएको पत्ता लाग्यो ।

यस्ता महिला आफूमाथि भएको हिंसापछि तनावको शिकार भए । डिप्रेशनमा पुगे ।

५. पीडितको स्मरण शक्तिमा नकारात्मक असरः

बलात्कार वा यौनहिंसाका शिकार धेरैजसो महिलालाई विशेष कुरा याद हुने दाबी गर्छन् । उनीहरुको दिमागमा केही आवाज वा गन्ध कैद हुने गर्छ ।

घटना भएको दशक बितिसक्दा पनि यस्ता तस्बिर, गन्ध वा आवाज ती पीडितको दिमागमा सधैंका ताजा हुन्छ ।

तर पीडितलाई कसको आवाज उनीहरुको दिमागमा गुञ्जिरहेको छ र कसको गन्धलाई उनीहरुले बिर्सन सक्दैनन् भनेर सोधिएको खण्डमा त्यसको उत्तर भने दिन सक्दैनन् ।

थुप्रै पटक पीडित आफूले भनेको कुरालाई नै अस्विकार गर्ने गर्छन् ।

लण्डनको किंग्स कलेजकी मनोवैज्ञानिक एमी हार्डी भन्छिन्, ‘घटनाको याद र अदालती कारवाहीमा निकै लामो अन्तर हुन्छ । मानिसहरु आफूमाथि भएको दुःखद अनुभवलाई धेरैजसो कानूनी तरिकाले व्याख्या गर्न सक्दैनन् ।’

दैनिकको यादभन्दा यस्ता घटनाका याद भिन्न हुने भएकाले यस्तो हुन्छ । साधारणतया हामी जे देख्छौं, सुन्छौं, सुँघ्छौ वा छोएर महसुस गर्छौं ती कुरा हाम्रो दिमागमा कैद हुने गर्छन् ।

पछि त्यही कुरा दोहोरिए ती यादको हिसाबले हाम्रो दिमागले त्यसलाई हेर्छ र बुझ्छ ।

तर जतिबेला यस्ता दुर्घटना हुन्छन्, हामो शरिर तनावको शिकार हुने गर्छ । त्यसपछि हाम्रो दिमागले त्यो कुराको सही तस्बिर कैद गर्न पाउँदैन किनभने जब हामी कुनै खतराको शिकार हुन्छौं हाम्रो पूरा ध्यान त्यो अवस्थाबाट निस्कनेमा केन्द्रीत हुन्छ ।

त्यतिबेला हामी उक्त स्थितीलाई भविष्यमा प्रयोगका लागि आफ्नो दिमाग चलाउनुको साटो स्थितीबाट निस्कनका लागि जोड दिन्छौं । यसै कारण कहिलेकाँही समस्या पर्दा हाम्रो दिमागले काम नगरेको पाउँछौं ।

लिन्डा गेडेस /बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: