–महिला खबर–
ललितपुर । खुल्ला सीमाका कारण बैतडीमा महिला तथा बालबालिका हराउने संख्या बढ्दै गएको छ ।
घर परिवारलाई थाहा नदिई साथीको लहलहैमा लागेर अथवा विभिन्न कारणले महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।
महिला तथा बालबालिकाहरु झुलाघाट सीमा हुँदै भारतीय बजारमा सामान किन्न लगायत विभिन्न बहानामा जाने र उतैबाट हराउने गरेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७२\७३ मा १५ जना महिला हराएका थिए भने २७ जना बालबालिका बेपत्ता भएका थिए । यी मध्ये ८ जना महिला र ५ बालिका गरि १३ जना मात्र फेला परेका छन् ।
आर्थिक वर्ष २०७३\७४ मा १९ महिला र १९ जना बालबालिका हराएको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन परेकोमा ७ जना महिला र ११ जना बालबालिका फेला परेका छन् ।
आर्थिक वर्ष ०७४\७५ मा २० जना महिला र २५ बालबालिका हराएकोमा ५ महिला र ५ बालबालिकामात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै २०७५\०७६ को हालसम्ममा ६ महिला र ४ जना बालबालिका हराएकोमा २ महिला र एक बालिका फेला परेको प्रहरीले जनाएको छ ।
हराएका मध्ये अधिकांश बालबालिका र महिलाहरू भारतमा फेला पर्ने गरेको प्रहरीले जनाएको छ ।
हराएको भन्दै खोजीका लागि निबेदन दिए पनि पछि फेला परे नपरेको परिवारले जानकारी नगराउँदा फेला परेकाहरूको एकिन तथ्याङक नभएको प्रहरीले जनाएको छ ।
बैतडीको सीमा नाका हुँदै बैतडी लगायत प्रदेश नम्बर ७ का ७ वटै पहाडी जिल्ला र कालीकोट, मुगु, जुम्लाका नागरिक पनि भारत जाने गरेको सीमा प्रहरीचौकी झुलाघाटका प्रमुख चक्रदेव पाण्डेले बताए ।
Comment Here!