चाडपर्वमा मादक पदार्थ, त्रासमा महिला


प्रकाशित मिति :2018-10-13 10:00:06

–उमा पौडेल–

यस वर्ष दसैँको रौनक सुरु भइसक्यो । म भने दसैँले थपेको थप हिंसाको स्मरणमा अल्झिरहेको छु । पोहोर सालको दसैँ । सप्तमीको दिन सिन्धुलीको मरिण गाउँपालिकामा थिएँ ।

एउटा गैरसरकारी संस्थाको लागि त्यस गाउँपालिकाका महिलाहरूको स्वास्थ्य समस्याका बारेमा रिपोर्ट तयार पारिदिनुपर्ने थियो । अफिस बाहेकका काम यसरी नै बिदाको समय मिलाएर गर्नुपर्छ ।

मैले कम्तिमा ४० जना स्थानीय महिलालाई भेटेर छलफल गर्नुपर्ने थियो । चाडपर्वको रौनक बिर्सिएर प्रत्यक समूहमा १० जना महिलासँग बल्लतल्ल स्वास्थ्य समस्याबारे छलफल चल्दै थियो ।

छलफलमा सहभागी मीना तामाङको अनुहार निकै निरस थियो । उनको हातमा प्लाष्टर थियो । सोधें, ‘तपाईंलाई के भयो ?
उनको शिर निहुरियो ।

छिमेकी बोलिन्, ‘अस्ति बुढोले रक्सी खाएर कुट्दा हातै भाँचिदिएछ । दसैँको मुखमा दशा लाग्योे बिचरीलाई ।’ कामको सिलसिलामा पोखरा बस्ने उनका श्रीमान दसैँ मनाउन घर आउँदा मादक पदार्थ सेवन गरी रमाईलो गर्ने बहानामा श्रीमतीलाई कुटपिट गर्दा हात भाँच्चिएको रहेछ ।

मसँगै जिल्लाकै एउटा हेल्थ पोष्टमा काम गर्ने अनमी साथी थिईन् । मीनाको घटनासँग जोड्दै उनले आफ्नो भोगाई सुनाईन्, ‘दसैँको बेला ८-१० हजार त एक्स्ट्रा पैसा लिएर बस्नैपर्छ । कसको घरमा श्रीमानले रक्सी खाएर कतिबेला कुट्छन् र आपत पर्यो भन्दै सापटी माग्न आईपुग्छन् ।’

‘जनजाती समुदायमा सगुनका रुपमा मादक पदार्थ सेवन गर्ने हुनाले पनि महिला अझ बढि हिंसामा पर्ने जोखिम हुन्छ ।’

उनीसँग दशैको बेला मादक पदार्थ सेवन गरी घरमा हुने झै झगडाले दुर्घटना भएको धेरै अनुभव छ । गाउँमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले दुर्घटना भएलगत्तै उनीकहाँ पुग्छन् । त्यसैले उनलाई यस्ता घटना नौलो नलाग्ने रहेछ ।

चाडपर्वमा घर जाँदा लत्ता कपडा भन्दा पनि प्राथमिक उपचारका सामानले ब्याग भर्नुपर्ने उनको बाध्यता जस्तै रहेछ । अझ विशेष गरेर त्यस्ता दुर्घटना मादक पदार्थ सेवनपछि हुने गरेको पनि सुनाईन् ।

अझ चाडपर्व लागेपछि गाउँका अधिकांश पुरुषको काम दिनभर रक्सी खाने बेलुका भएपछि घरमा रडाको मच्चाउने हुँदोरहेछ । अधिकांश महिलालाई त चाडपर्व त्रासको रुपमा मात्रै आउने ।

अधिकारकर्मी शान्ता पाख्रिन मादक पदार्थ सेवनपछि मात्रै रमाईलो हुन्छ भन्ने गलत मानसिकताका कारण चाडबाडका बेला महिलाहरू हिंसा भोग्न बाध्य हुने बताउँछिन् । उनले थपिन्, ‘जनजाती समुदायमा सगुनका रुपमा मादक पदार्थ सेवन गर्ने हुनाले पनि महिला अझ बढि हिंसामा पर्ने जोखिम हुन्छ ।’

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल अव्यवस्थित रुपमा सञ्चालन भएका मदिराजन्य पदार्थको बिक्री बितरणका कारण विकृति फैलिएको बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी ढकाल भन्छन्, ‘घर–घरमा व्यवसायकै रुप लिएर उत्पादन भएको मदिरा नियन्त्रण गर्न सके धेरै हदसम्म महिला हिंसाका घटनामा न्यूनीकरण हुन्छ ।’

चाडपर्वको बेला हुने मदिरापान महिलाको लागि त्रास मात्रै होइन, प्रशासनका लागि पनि टाउको दुखाई हो । चाडबाडका समयमा मादक पदार्थ सेवन, जुवा तास जस्ता विकृतिका कारण महिला हिंसा बढ्न सक्ने भन्दै यसमा सचेत रहन पनि उनले सुझाए ।

चाडपर्वमा हुने हिंसा न्यूनिरकणको लागि मादक पदार्थको नियन्त्रणका साथै परिवारमा आफन्त भेटघाट हुँदा पारिवारिक, सामाजिक समस्या र समाधानका उपायबारे छलफल तथा काम गनुपर्छ ।

प्रहरीको तथ्याङ्कले मदिरा र महिला हिंसा बीच सम्बन्ध रहेको देखाउँछ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार ८० प्रतिशतभन्दा बढी घरेलु हिंसा मादक पदार्थका कारण भएका छन् ।

रमाईलोका लागि भन्दै सेवन गरिने मादक पदार्थका कारण धेरै महिलाहरूले सामान्य गाली गलौजदेखि कुटपिटसम्म भोग्न बाध्य छन् ।
प्रहरीको रेकर्ड अनुसार आर्थिक वर्ष २०७३-०७४ मा घरेलु हिंसाका ५९ उजुरी र अघिल्लो आर्थिक वर्षमा दर्ता भएका ७४ उजुरीको प्रमुख कारण मादक पदार्थ सेवन हो ।

यसको नियन्त्रण गर्न सके महिलामाथि हुने धेरै प्रकारका हिंसा अन्त्य गर्न सकिने प्रहरी तथा महिलाका क्षेत्रमा काम गर्नेहरूले अनुभव गरिसकेका छन् ।

सिन्धुली ट्रष्ट नेपालका अध्यक्ष तथा समाजसेवी उज्वल थापाको भनाइ झैं चाडपर्वमा गरिने यस्ता फजुल खर्चको व्यवस्थापन गर्न सकिने थुप्रै विकल्प छन् ।

चाडपर्वको बहानामा गरिने अनावश्यक फजुल खर्चले घाटा बढाउने भन्दै गरिब, असहायहरूका लागि खर्च गरे पर्वको सार्थकता झल्किने थापाको भनाइ छ ।

चाडपर्वमा हुने हिंसा न्यूनिरकणको लागि मादक पदार्थको नियन्त्रणका साथै परिवारमा आफन्त भेटघाट हुँदा पारिवारिक, सामाजिक समस्या र समाधानका उपायबारे छलफल तथा काम गनुपर्छ ।

थापा भन्छन्, ‘चाडपर्वको समयमा अझ बढी गम्भीरताका साथ अनुगमन गरी मादक पदार्थ बिक्री वितरणलाई नियन्त्रण गर्ने तथा यस्ता पदार्थको सेवन गरी विकृति फैलाउनेलाई कारबाही भए मात्रै यस्ता क्रियाकलाप न्यूनिकरण हुन्छ ।’

दसैँ पुरुष वा समाजका हुनेखाने वर्गको मात्रै होइन । परिवारभित्र पनि मूली वा स्रोतको परिचालन गर्ने व्यक्तिले मात्रै मनाउने होइन । यो पर्व वर्गीय हिसाबले तल रहेका, स्रोतमा पहुँच कम भएका व्यक्तिको पनि हो ।

हाम्रो समाजमा महिलालाई सँधै दोस्रो दर्जामा राखियो । उनीहरूको मनोरञ्जन परिवारकै सदस्यको पनि प्राथमिकतामा परेन । सँधै दासी झैं व्यवहार गरिने । अब यो परम्परा फेरिनुपर्छ ।

सँस्कृति मनाउनुपर्छ । चाडपर्वमा मनोरञ्जन लिनुपर्छ । त्यसैले दसैँ तिहार जस्ता चाडपर्वमा सबैले समान रुपमा मनोरञ्जन गर्न पाउनुपर्छ ।

चाडपर्वमा श्रीमानले श्रीमतीलाई कामकाजमा समान सहयोग, परिवारको जिम्मेवारीमा बाँडफाँड, बालबच्चाको हेरचाहमा समान भूमिका निभाउनुपर्छ । तबमात्रै चाडपर्व खुसीका साथ सबैले मनाउन सकिन्छ ।

चाडपर्वमा मादक पदार्थ तथा लागुपदार्थ सेवन अनिवार्य जस्तै मानिने विकृत परिपाटीलाई अन्त्य गर्नु प्रत्येक सचेत नागरिकको भूमिका पनि हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: