पर्वले बल्झाइदिने पीडाहरू


प्रकाशित मिति :2018-10-14 14:20:39

‘मलाई दसैँ मन पर्दैन’ शोभाले मलिन आवाजमा भनिन् । मैले सोधेका प्रश्नमध्ये उत्तरमा उनको यति सानो आवाज पहिलो थियो । दसैँको रातो रंगले खुसी दिन छोडेको धेरै वर्ष भएछ उनलाई ।

‘पहिला पहिला दसैँमा हुने काटमार मन नपरे पनि लिंगे पीङ, रातो टीका र जमराले म जत्तिको खुसी कोही हँुदैन थियो सायद’ विगत सम्झिइदैं शोभाले थपिन्, ‘घरकी एउटै छोरी भएकाले पनि कुनै चाडबाडमा मेरो निधारमा रातो टीका छुट्दैन थिए, आर्शीवाद टुट्दैन थिए । तर आज भोली………।’

बोली रोकियो । उनी भावुक भइन् । उनको पीडा बल्झाइदिन मन लागेन । मैले कुरा मोडे, ‘दिदी यो न्युरोडमा त कति भिड है ?’

उनले फेरि आफैलाई जोडिन्, ‘घरीघरी त यी भिडहरूमा म आफँै हराउन पाए । शहरमा एकले अर्कालाई चिन्दैनन् नि, मलाई पनि त्यस्तै कसैले नचिन्ने हुने पाए । यतै बिलाउन पाए कति जाती हुन्थ्यो ।’ यति भनेर उनी चुप रहिन् ।

सुजाता ढुंगाना

उनको यत्ति कुराबाट मैले धेरै बुझेँ जस्तो लाग्यो । घरपरिवार र आफन्तको सहयोगमा २०६३ सालमा चितवन कालिका नगरपालिका खुलेसिमलका प्रकाश धितालसँग शोभाको विवाह भएको रहेछ ।

विवाहले नयाँ जिन्दगी दिन्छ, नयाँ खुसीहरू मिल्छ भन्ने सुनेकी थिइन् उनले । तर उनको जिन्दगीको नियमसँग त्यो कुरा लागू भएन । विवाह गरेका केही दिनमै उनले आफ्ना पुराना खुसीहरू मात्रै गुमाइनन्, नयाँ खुसीहरूको बास्ना समेत महशुस गर्न सकिनन् ।

श्रीमानले कुटपिट गर्न थाले । शारीरिक र मानसिक यातनाको स्तर बढ्दै गयो । श्रीमानको माया र वास्ता त परको कुरा, तन र मनका चोटहरू पनि बल्झिदै गए । विवाहका सबै मूल्य मान्यताहरू पालना गर्दागर्दै पनि श्रीमानको यातना र हेलोहोचो नरोकिएपछि अन्नततः उनी विवाहको बन्धनलाई तोड्ने निष्कर्षमा पुगिन् ।

यतिबेला उनी काठमाडौंको जावलाखेलमा दाजुभाउजुसँगै बस्छिन् । बाहिरबाट हेर्दा उनलाई कुनै कुराको अभाव छैन जस्तो लाग्छ । मनको एउटा कुनामा भने विवाहले जन्माएका घाउका खाटाहरू देख्दा बेलाबेलामा भक्कानिन्छिन् उनी । भन्छिन्, ‘माइतीबाट पुरै सहयोग त छ । तर पनि सधैं माइतीकै आश्रयमा बस्दा भने मन खिन्न भइरहन्छ ।’

‘सानोछँदा जसरी घरछेउको डिलमा उफ्रन सक्थेँ, त्यसरी ढुक्क भएर म बस्न समेत सक्दिन । मलाई यसरी बस्दा कसैले केही भनिरहेको छ कि जस्तो लागिरहन्छ । जन्मे हुर्केको ठाउँ पनि बिरानो लाग्छ ।’

छोरी मान्छे विवाहपछि मात्रै फूल्छे, फल्छे र पूर्ण हुन्छे भन्ने संकिर्ण मान्यता र बुझाइकै परिणाम हो सायद यतिबेला शोभाको दुखको कारण । नत्र भने एक्लै जन्मिएर एक्लै मर्नुपर्ने जीवनको गोरेटो काट्न गरिने विवाह टुट्दैमा महिला मात्रैले किन यतिविघ्न पीडा भोग्छन् र महशुस गर्छन् त ?

कारण हो, विवाहका मूल्य र मान्यता भत्काउने, कुल्चिने र जलाउने लोग्ने मान्छेलाई श्रीमतीलाई दुख दिएको, विवाह तोडेको र जीवनभर साथ दिने बाचा गरेर हात समातेकी जीवन साथीलाई बीच बाटोमै अलपत्र पारेको आरोपमा कुनै खालका प्रश्नहरूको उत्तर दिइरहनु पर्दैन ।

आमाबाले श्रीमती जोगाउन सकिनस्, घर गरी खान सकिनस् भन्दै आलोचना गदैनन् । छरछिमेक र आफन्तले पनि श्रीमतीले छोडेको भन्दै हेलोहोचो र अपमान गर्दैनन् । बरु ‘मर्दका सातोटी’ भन्ने समाज विरोधी उखानका पक्षपोषकहरू किन एक्लै बसेको ? केटी खोज्दिम् भन्दै छिटोछिटो अर्को बिहे गर्नै उक्साइहाल्छन् । र उसले विवाह भत्काएकोमा कुनै प्रश्न, आलोचना र अपमान झेल्नुपर्दैन । उ चाँडै दोकला भइहाल्छ ।

विवाहका मूल्य र मान्यता भत्काउने, कुल्चिने र जलाउने लोग्ने मान्छेलाई श्रीमतीलाई दुख दिएको, विवाह तोडेको र जीवनभर साथ दिने बाचा गरेर हात समातेकी जीवन साथीलाई बीच बाटोमै अलपत्र पारेको आरोपमा कुनै खालका प्रश्नहरूको उत्तर दिइरहनु पर्दैन ।

हो, त्यही भएर शोभा मात्रै हैन धेरै त्यस्ता महिलाहरू छन्, जसलाई बिहे भत्किएपछिको जीवनमा पराईको त के कुरा, आफ्नैले समेत हाँस्न र बाँच्न दिन्नन् ।

यस्तै नियतीको सिकार हुने अर्को महिला हुन् नुवाकोट घर भई हाल टोखा नगरपालिका वडा न.१० बस्ने शुसिला अधिकारी । उनलाई पनि दसैँका रंगहरूले खुसीको सट्टा पीडा मात्रै थोपरिदिएको छ ।

घरायसी काम गरेर जीवन चलाउदै आएकी शुसीलाले दसैँ हिन्दु नेपालीहरूको ठूलो चाड हो भन्ने बुझेकी छन् । तर त्यही हिन्दु धर्ममा विश्वास गर्ने उनका लागि भने दसैँ दशा मात्रै भइदिएको छ । दुःख बोकेर आउने पर्व बनिदिएको छ ।

बिहे अघि कुनै कुराको अभाव थिएन उनलाई । ‘बुवाआमाले किनेर ल्याई दिएको घाँगरमै मात्र पनि खुसीहरूको भकारी भेटिन्थ्यो । अहिले त कहाँ त्यस्तो हुनु…..’ यति मात्रै बोलिन् उनी । सपनाजस्तो लाग्ने आफ्नै विगत सम्झिदा उनको मुहारमा मुस्कानसँगै परेली पनि भिज्न थाल्छन् । भक्किानिन्छिन् केहीबेर र सम्हाल्छिन् आफैलाई ।

उनी बोलिन्, ‘दसैँले मलाई उमंग होइन, खिन्नता थपिदिन्छ । यो शहरबाट आर्शीवाद थाप्न, बुवाआमा भेट्न, साथीसंगी देख्न नुवाकोट जाने कि नजाने भनेर निर्णय गर्न सकेकी छैन ।’ माइत जाँदा आफ्नैले गर्ने प्रश्न र हेर्ने दृष्टिकोणले मनमा पैरो जाला भन्ने पीर रहेछ उनलाई ।

परिवारको मन्जुरीमा काठमाडौं महानगरपालिका १६ बालाजुका हरीबहादुर अधिकारीसँग २०६७ सालमा विवाह भयो उनको । हरी लामो समयदेखी कुलतमा फसेका रहेछन् । त्यो कुरा उनले विवाह पश्चात मात्रै थाहा पाइन् ।

श्रीमानको कुलतको लत हटाउन धेरै कोशिस त गरिन् उनले । सफल हुन सकिनन् । वैवाहिक जीवन सुखमय हुन सकेन उनको । अन्ततः जिल्ला अदालत काठमाडौँमा माना चामल र अंश मागेर ८ महिना अगाडि सम्बन्ध बिच्छेदको मुद्दा हालिन् । श्रीमानसँगको सम्बन्ध त्यतिमै सकियो ।

‘दसैँमा आमा छोरी मात्रै बस्छौँ । माइतीघरको ढोका मेरा लागि खुल्ला भए पनि मनमा अनेक किसिमका प्रश्नहरू आईरहन्छन् । २ वर्ष अघिसम्मका दसैँमा तिमीहरूको जिन्दगी संधै खुसी बनोस् भन्दै परिवारले दिएको आर्शीवाद सम्झेर मन पोलिरहन्छ ।’ आफैँलाई प्रश्न गर्दै शुसिला भन्छिन्, ‘जुन घरमा हुर्के, खेले, खाए अहिले त्यही घरले मलाई तँ एक्लै किन आएको शुसिला, ज्वाईँ खै ? भनेर प्रश्न गरे जस्तै लाग्छ ।’ समाजले ओहो ! एक्लै आयौ, त्यति पनि बुढाबुढी मिल्न सकेनौ है ? भनेर सोधे जस्तो लाग्छ ।

‘विवाहपछि त छोरीहरूको न घर हुँदोरहेछ, न थर । तर पनि भरै नहुने वैवाहिक सम्बन्ध टुट्दा दोष जति महिलाकै थाप्लोमा आउँदोरहेछ’ शुसिला एकतवरले बोल्दै थिइन् । ‘माइती गए पनि के गर्नु ? कतै हिँडडुल गर्न मन पर्दैन । सबैले ए तिम्रो त श्रीमान कस्तो नजाती परेछ भनेर दया देखाउन खोज्छन् । मलाई त्यस्तो मन पर्दैन । श्रीमानसँगको सम्बन्ध मेरो कारणले नै टुटेको हो भन्ने दोषी आँखाले मलाई हेर्छन्, त्यो सहनै सक्दिन ।’

जसरी एउटा पुरुष पात्र, लोग्ने मान्छेलाई केन्द्रविन्दुमा राखेर हाम्रा चाडहरूमा खुसी छरिन्छन् । विवाहित महिलाका खुसीहरू जोडिन्छन् । एउटी महिला भने श्रीमानसँगको सम्बन्ध टुट्नेबित्तिकै उसका सारा खुसीहरू टुटेर जान्छन् । हराएर जान्छन् । र परिवारहरू टुक्रिएर जान्छन् । छोरीहरू बेघरका बन्छन् । अनि बेथरका हुन्छन् । र दसैँ, दसैँ जस्तो नभएर पीडा बल्झाएर जान्छ् ।

शुसिलाको दाम्पत्य जीवन बिग्रनुको कारण श्रीमान कुलतबाट नउम्किनु थियो । जसका कारण उनले त्यसलाई निरन्तरता दिन सकिनन् । ‘मचाहिँ कसरी दोषी भए ? उनी आफैँलाई प्रश्न गर्छिन् । अनि भन्छिन्, ‘सबैका श्रीमान श्रीमती रातो टीका र पहेँलो जमरामा चिटिक्क परेर हिँडेको देख्छु, मन कटक्क दुख्छ । अहँ मलाई यो दसैँ मन पर्दैन ।’ उनी दोहो¥याउदै भन्छिन् ।

म उनको कुरा सुनिरहन्छु । उनका कुराहरूमा कताकता आफ्नै छायाँहरू भेट्छु, छोरीहरूको जिन्दगी देख्छु र सोच्छु के छोराहरूले पनि यस्तै भोग्नु परेको छ त ? के श्रीमान र श्रीमतीको सम्बन्ध सकिएपछि छोराहरूलाई पनि खै त बुहारी ? खै त श्रीमती भनेर प्रश्न गर्ने हिम्मत समाजले गर्छ ? दसैँमा हुने लिंगे पीङको उचाइ जस्तै अग्लो शिर बनाएर छोराहरूले जस्तै छोरीहरूले एकल जिन्दगीमा रमाउन खोज्दा के समाजले प्रश्न नगर्ला ?

प्रश्नहरूले घोचीरहँदा केही पुरुष अनुहारहरू अगाडि आए । जो सम्बन्ध बिच्छेद हुन नपाउँदै अर्को विवाह गरेर जीवन गुजार्दै गरेका । चाडबाडमा अझ धेरै चौडा छाती बनाउँदै घुमिरहेका । अनि लाग्यो, चाडबाडहरू एउटा लोग्ने मान्छेको वरीपरि घुमिरहन्छन् ।

जसरी एउटा पुरुष पात्र, लोग्ने मान्छेलाई केन्द्रविन्दुमा राखेर हाम्रा चाडहरूमा खुसी छरिन्छन् । विवाहित महिलाका खुसीहरू जोडिन्छन् । एउटी महिला भने श्रीमानसँगको सम्बन्ध टुट्नेबित्तिकै उसका सारा खुसीहरू टुटेर जान्छन् । हराएर जान्छन् । र परिवारहरू टुक्रिएर जान्छन् । छोरीहरू बेघरका बन्छन् । अनि बेथरका हुन्छन् । र दसैँ, दसैँ जस्तो नभएर पीडा बल्झाएर जान्छ् ।

हामी किन बुझ्दैनौं कि, दसैँ त महिलालाई पुजिने चाड हो । अर्थात महिषासुर जस्तो राक्षसको नास गर्न सक्षम महिलाको जितमा हर्षोलास् मनाइएको चाड हो । कसैले दसैँ मान्छ भने उसले जुनसुकै रुप र अवस्थाकी भए पनि महिलालाई देवी मान्नुपर्छ । र तस्वीरमा महिलालाई पूज्नेहरूले जीवित देवी (महिला) लाई नै पीडा दिन लालायित हुनुहुन्न । व्यवहारमा महिलालाई हेला गरेर तस्वीरमा महिलालाई पुज्ने काम चेतनाको युग भनिएको एक्काइसौं शताब्दिकै विरुद्ध होइन र ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: