‘बुवाले तालमा हाम फालेर मर’ भन्‍नुभयो


प्रकाशित मिति :2018-10-24 11:39:29

-जमुना वर्षा शर्मा-

पोखरा-तीजको बेला थियो । माछापुच्छ्रे एफएमले पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै मलाई सम्मान गर्यो। सम्मानको साँझ सामाजिक सञ्जालमा धन्यवाद सहित फोटो पोष्ट गरें । बधाइका शब्दहरु आइरहेका थिए। त्यही दिन राति ११ बजे मेरो फेसबुकको टाइमलाइनमा दीपा नेपालीले आक्रोशसहित असन्तुष्टिका शब्दहरु मेरो बारेमा लेखिन। एकछिन छक्क परें । उनको आक्रोश म माथि किन ? यो प्रश्न ले मलाई घोच्‍न थाल्यो।

‘उनले फोन नउठाउने, दलित भनेर हेला गरेको, यो सब नाटक हो लगायत कुरा लेखेकी थिइन्। म्यासेज हेरें । फेसबुकमा साथि हुनु भन्दा पहिले पनि केही म्यासेज पठाएकी रहिछन् । पछि थाहा पाएँ। च्याटमा कुरा भो, फोन नम्बर आदान-प्रदान गरियो । पछि बुझे उनले सामना गरेको विभेदबारे । त्यसको समाधान मबाट हुनसक्छ भन्ने उनको अपेक्षा रहेछ । अर्थात आफुले भोगेको पीडा मलाई सुनाउन खोजेकी रहेछिन् । कतिपय कल मिस हुँदा उनको म प्रति असन्तुष्टि बढेको कुरा उनले पटक पटक दोहोर्याइरहेका शब्दबाट प्रष्ट हुन्थ्यो ।

एक पत्रकार हुनुको नाताले उनले म माथि गरेको विश्वासले आफ्नो पेशाप्रति झनै सम्मान बढायो । पत्रकार न्यायाधीश होइन । न प्रहरी प्रशासन नै हो । उ मात्र समाजमा भइरहेका विकृति विसंगति विभेदका पक्षहरु उजागर गर्दै सामाजिक न्याय स्थापित गर्ने माध्यम बन्‍नु पत्रकारको धर्म हो। दसैँपछि मात्रै कुरा गर्ने अवसर जु¥यो। उनले आफ्नो जीवनको यथार्थ सुनाउँदै भनिन् ।

‘यसपालिको दसैँ पनि सकियो । चङ्गा झै खुशीले मन उडाउन सकिन । विगत देखि वर्तमान सम्म यसरीनै बीस वटा दशै बितें । भविष्यमा कति वित्ने हुन अझै । पत्तो छैन । ‘ बेखुशी हुनुपर्ने ठुलो कारण केहि होइन । मात्र अन्तरजार्तिय विवाह हो। मैले आज भन्दा बीस वर्ष अघि एक दलित युवा सँग विहे गरे । त्यो दिन देखिनै मेरो माइती, आफन्त र इष्टमित्र लगायतको अघि म अपराधि जस्तै भएँ’। उनीहरुको बहिष्कार जारी छ।

परिवारका साथ दीपा नेपाली। तस्बिर- जमुना वर्षा शर्मा/देश सञ्‍चार

यो समयमा देशमा ठुलो परिवर्तन भयो सामाजिक विभेदको अन्त्यका लागि भनेर बन्दुक उठाएकाहरु शान्ति वार्तामा आए, संविधान सभाको चुनाव भयो, राजतन्त्र अन्त्य भयो, गणतन्त्र आयो, जननिर्वाचित प्रतिनिधिबाट संविधान लेखियो। मुलुक संघीय संरचनामा गयो। तीन तहको सरकार आयो । जातीय विभेद विरुद्ध पनि कानुन बने । आवाजहरु चर्कदै गए तर अवस्थामा परिवर्तन खै ? अवस्था र सामाजिक संस्कार प्रति कटाक्ष गर्दै थिइन उनी।

बोर्डिङ्ग स्कुलमा कक्षा ९ मा पढ्दै गर्दा कक्षा १० मा ताल बाराहीमा पढ्ने महेन्द्र नेपालीसँग मेरो प्रेम भयो । भर्खर १६ वर्ष टेक्दै थिए, भागी विवाह गरे । पोखरा महानगर पालिका वडा नं ६ का महेन्द्र नेपालीसँग म बाहुन की छोरीकोे विहेलाई आकाश खसे जस्तै बनाइयो । आज पर्यन्त त यो समाज यदि कठोर छ दलित प्रति भने बीस वर्ष अघिको अवस्था कस्तो थियो होला ?


बुवाको गार्डेन प्लावर नर्सरी थियो। हाम्रो दुई वटा ममि जेठी ममिको एक छोरा र एक छोरी (दाई दिदी) हुनु हुन्छ । हामी तिर ५ छोरी हौं । म साहिली हुँ । उहाँहरुको नजरमा म मरीसके । न त बुबा आमा बोल्नु हुन्छ न त दिदि बहिनी नै।

बुबा आमा अहिले अमेरिका हुनुहुन्छ । ठूलो ममी दाई भाउजु पोखरा। दुई दिदी अमेरिका र एक दुबई र एक काठमाडौँ । कोही पनि म सँग बोल्नु हुन्न। जब तीज आउँछ, दसैँ तिहार आउँछ । माइतिको यादले सताउँछ । आज २० वर्ष सम्म माइतीको आवाज सुन्‍न पाएकी छैन। विवाह लगत्तै बुबा सँग फोनमा बोेलेकी थिएँ। बुबाले फोनमा भन्‍नुभयो ‘तँ गइहालिस् तेरो नजिकै फेवा ताल छ त्यही हाम फालेर मरेस्’।

आज पनि त्यो शब्दको चोटले मलाइ निकै पीडा दिन्छ । माइतीको चरम उपेक्षा र तिरस्कारले निकै पीडा बोध हुन्छ । मैले घरको भान्छामा लैजाऊ मलाई भनेकी छैन , फोन बाट बोलि दिए पनि मलाई शान्त हुन्थ्यो । आफन्त, इष्टमित्रहरु मलाई देखे भने बाटो काटेर हिड्छन् । यस्तो ब्यवहारले मलाई मानसिक रुपमै असर पारेको छ ।

सार्वजनिक फोरममा कोहि दलित अधिकारको बारेमा बोले भने पनि नाटक नै जस्तो लाग्छ मलाई । बदलियो समय तर बदलिएन मानिसको सोच । एक मानवले अर्को मानव प्रति किन यति सम्म घृणा र तिरस्कार गर्छन् ? उनले एकछिन रोकिएर भनिन् ‘त्यसैले हजुरले पनि वास्ता नगर्दा फेसबुकमा लेखे दिदी माफ गर्नुहोला ।’

दीपा नेपाली

मन भरि उकुस मुकुस भएका उनका आवाज घरि आँशु सँगै झर्थे त घरी निशब्द बनेर यसै रोकिन्थे । सम्हालिदै निराश मुद्रामा उनले फेरी प्रश्न गरिन् ‘समाजमा यतिका परिवर्तन हुँदा पनि मानिसको दलित प्रतिको सोच किन बदलिन नसकेको होला ?’

आफ्नै सन्तान प्रति बुबा आमा यतिसम्म निर्दयी र कठोर पनि बन्न सक्दा रहेछन् । उहाँहरुको नजरमा मैले गल्ति गरे तर मेरो जीवनमा मैले सहि निर्णय गरे । निकै कठिन परिस्थितीसँग जुधे, र मेरो परिवारले मलाई पुरा साथ, सहयोग र माया दियो अनि टुट्न दिएन मेरो मन ।

सामाजिक ब्यत्तित्व ससुरा बुबा मंगल नेपालीले पनि विचलित हुन दिनु भएन । श्रीमानले पनि हरेक असहज अवस्थामा साथ छोड्नु भएन । आज १६ वर्षको र १० वर्षको दुई छोराका साथ खुशी जीवन विताएकी छु तर माइतिको तिरस्कारले भने मन पोलिरहन्छ । आडम्बरी समाजले हरेक पल पलमा गर्ने विभेद र तिरस्कारको डोरी भने चुडाउन नसक्दा कहिलेकाँही पराजित महशुस गर्छु ।

समानता र सामाजिक न्याय स्थापना गर्ने हो भने सबै भन्दा पहिला मानिसलाई मानिसकै ब्यवहार गरेर समानता ल्याउन पर्ने हो । तर खोक्रा भाषणमा मात्रै सिमित भयो जातिय विभेदको अन्त । कानुनको कार्यान्वयन नहुँदा न्यायको अनुभुति हुन नसकेको निस्कर्ष छ उनको ।

कानुनले जातिय छुवाछुतलाई दण्डनीय अपराध मानेको छ । वि.सं. १९१० को मुलुकी ऐनले सस्थागत गरेको छुवाछूतको कानुनलाई विसं.२०२० को मुलुकी ऐन लागू गरि दण्डनीय बनाइयो । तर व्यवहारत कार्यान्वयन हुनै सकेन। नेपालको संविधान २०४७ को धारा ११ (४) का आधारमा २०४८ मा मुलुकी ऐनमा संशोधन गरी जातीय भेदभाव तथा छुवाछूतलाई निषेध गर्दै दण्ड सजाय कैद हुने व्‍यवस्था गर्यो । त्यसैगरी वि.सं. २०६२ र ६३ को जनआन्दोलन पछि पुनस्थापित संसदबाट २०६३ जेष्ठ २१ मा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरीयो । त्यसको ५ वर्षपछि ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ) ऐन, २०६८’ जेष्ठ १० गते संसदबाट पारित गरि कानुन समेत बन्यो।

नेपालको संविधान २०७२ को ‘प्रस्तावना’ संगै,भाग ३ (मौलिक हक र कर्तव्य)को धारा (१६) को उपधारा (१),धारा १८ (समानताको हक) को उपधारा (२)(३),धारा २४(छुवाछूत तथा भेदभाव विरुद्धको हक)को उपधारा १,२,३,४,५ मै स्पष्ट लेखियो तर आजसम्म जातीय विभेद तथा छुवाछूत अझै हट्न सकेको छैन । कागजमा मात्रै लेखिएका यी अक्षरहरुको ब्यवहारमा कार्यन्वयन नहुँदा दलित समुदायले विभेद र तिरस्कारहरु भोगिरहेका छन्।

दीपा यस समाजकी एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै धेरै आज पनि दलित कै नाममा सामाजिक विभेदको सिकार भइरहेका छन्। देखिएका पीडाभन्दा नदेखिएका पीडाबाट गुज्रिरहेका छन्। देख्‍ने र भन्‍नेहरुले सामान्य रुपमा लिए पनि दलित सँग विहे गरेकै आधारमा माइतिबाट उपेक्षामा खेप्नु परेको पीडाले दिपालाई बास्तवमै विद्रोही बनाउँदै लगेको छ। देश सञ्चारबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: