–इन्द्रसरा खड्का–
ललितपुर । सिन्धुपाल्चोककी सुनिता श्रेष्ठ अहिले काठमाडौंको स्वयम्भूमा बस्छिन् । उनले सिन्धुपाल्चोकका गणेश श्रेष्ठसँग २०७२ सालमा बिहे गरिन् ।
सुनितासंग अहिले २ वर्षका छोरा छन् । उनका श्रीमान बिहेपछि काठमाडौंमै बस्थे । वर्षमा एकपटक घर जान्थे । खर्च पनि कहिलेकाहीँ ५ ,६ हजार मात्रै दिन्थे । उनी १ वर्ष अघि श्रीमानसँग बस्न भन्दै छोरा बोक्दै काठमाडौं पुगिन् ।
काठमाडौं स्वयम्भूमा अमाजुको घरमा कोठा लिएर बसिन् । काठमाडौं आउँदा पनि श्रीमान कहिले कोठामै नआउने, कुरै नगर्ने गर्दा उनलाई के बिगारे जस्तै लाग्यो ।
श्रीमानको व्यवहारले उनलाई भित्रभित्र चोट पर्न थाल्यो । श्रीमानले किन यस्तो व्यवहार गर्दारहेछन् भन्ने कुरा उनलाई गत भदौ महिनामा मात्रै थाहा भयो । यता श्रीमानले त अर्कै बिहे पो गरेका रहेछन् ।
‘शुरुमा त मलाई बिश्वास नै लागेन श्रीमानले अर्को बिहे गरेका छन् भन्ने । तर, जव सौताको रुपमा आएकी संगिता उपरकोटीको बहिनीले फेसबुकमा फोटो राखिन्, तब विश्वास लाग्यो कि श्रीमानले त अर्को बिहे गरेका रहेछन्’ सुनिताले भनिन् ।
श्रीमानले बिहे गरेको कुरा थाहा पाएपछि उनले महिलासेल कालिमाटीमा भाद्र १५ गते बहुविवाहको उजुरी दिइन् । उजुरीपछि जिल्ला अदालत काठमाडौंमा बहुविवाह सम्बन्धी मुद्दा दर्ता भयो ।
जिल्ला अदालत काठ्माडौंले असोज १६ गते ४५ हजार धरौटीमा श्रीमान र उनकी दोस्री श्रीमतीलाई छोडिदियो । उजुरी भाद्र महिनामा दिए पनि उनको श्रीमानले २०७४ साल फागुनमा बिहे गरेको खुलेको छ । बिहे पहिले नै गरेकाले पुरानै कानून अनुसार कार्वाही प्रक्रिया अघि बढ्ने अदालतले बताएको सुनिताले बताइन् ।
२
काठमाडौंको रानिबनकी अस्मीता न्यौपानेले बिहे गरेको ८ वर्ष भयो । उनीसँग ७ वर्षकी छोरी छन् । बिहे गरेको ७ वर्षसम्म उनीहरूको सम्बन्ध राम्रै थियो ।
उनका श्रीमान चित्रमणी न्यौपाने २, ३ महिनाको अन्तरालमा फरक फरक संस्थामा काम गर्छन् । १ वर्षको अवधिमा श्रीमानले गर्ने व्यवहार अचानक बदलियो ।
निहुँ खोजेरै श्रीमानले कुटपिट गर्न थाले । कोठामा नआउने, खर्च नदिने, अनावश्यक कुरामा शंका गर्ने गर्दा उनलाई अचम्म लाग्न थाल्यो ।
‘सँधै माया गर्ने श्रीमानको व्यवहार कसरी परिवर्तन भयो । श्रीमानले दोस्रो बिहे गर्छन् भन्ने मलार्ई शंका पनि थिएन । तर बाहिर श्रीमानले अर्को बिहे गरेको हल्ला फैलिसकेको थियो’ उनले भनिन् ।
दोस्रो बिहे गरेको भने पनि बिहे गरेको प्रमाण थिएन । साउनको अन्तिम साता श्रीमानले अर्को केटीसंगको फोटो फेसबुकमा राखेको उनले देखिन् । त्यो फोटोमा श्रीमानका साथीहरूले वैवाहिक जीवनको शुभकामना दिएका कमेन्टहरू पनि पढिन् ।
फोटो र लेखेको स्टाससंगै उनले भाद्र महिनाको २९ गते महिला सेलमा उजुरी दिइन् । प्रहरीले उनलाई पक्राउ ग¥यो । तर, श्रीमानले जिल्ला अदालतमा पुगेर आफूलाई लगाएका सबै आरोप झुटा भएको बताए । दोस्रो विवाह नगरेको दाबी गरे ।
‘मसँग प्रमाण हुँदा पनि अदालतले प्रमाण नपुगेको भन्दै ३ लाख ५० हजार धरौटीमा छोडिदियो’ उनले भनिन् । बाहिरबाटै पनि अनुसन्धान गर्न मिल्ने भन्दै अदालतले छोड्दा अस्मीताले न्याय नपाएको गुनासो गरेकी छन् । न्यायमा पनि पैसाको चलखेल हुने भन्दै उनले कहाँ गएर न्याय पाउने दुखेसो गरिन् ।
सर्लाहीकी २६ वर्षीया युवतीले बिहे गरेको ४ वर्ष भयो । उनीसंग १ छोरी छन् । अहिले उनी चन्द्रागिरी नगरपालिका काठमाडौँमा बस्छन् ।
उनका श्रीमानको व्यहार पनि अस्मीता र सुनिताको श्रीमान जस्तै । बिहे गरेको पहिलो वर्षमा माया, त्यसपछि वेवास्ता । उनले पनि श्रीमानले अर्को बिहे गरेको कुरा गएको भाद्र महिनामा मात्रै थाहा पाइन् ।
उनले पनि श्रीमानले आफू हुँदाहुदै दोस्रो बिहे गरेको भन्दै महिलासेल कालिमाटीमा भाद्र २९ गते उजुरी दिइन् । प्रहरीमा उजुरी परेपछि उनका श्रीमान र कान्छी श्रीमती फरार रहेका छन् ।
‘उजुरी दिएकै दिन फरार भए । कहाँ छन् भन्ने पनि अत्तोपत्तो छैन’ मनिसाले भनिन् ।
बहुविवाह बारे यसो भन्छ ऐन
देवानी संहिता २०७४ ले बहुविवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । २०७५ साल भाद्र १ गतेदेखि लागू भएको कानूनले बहुविवाहस्वतः बदर व्यवस्था गरेको हो ।
देवानी संहिताको दफा ८२ ले ३ अवस्थामा पुनः विवाह गर्न सक्ने व्यवस्था गरेको छ । कानूनी रुपमा सम्बन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा र पति र पत्नी कानून बमोजिम अंशबन्डा गरी भिन्न भएको अवस्थामा पुनः विवाह गर्न पाउने व्यवस्था छ ।
ऐन लागू हुनुअघि नै भएका बहुविवाहका हकमा विधेयक मौन रहे पनि लागू भएपछि बहुविवाह गर्नेको हकमा सजायको मात्रा बढाइएको छ ।
बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ भने बहुविवाह स्वतः बदर हुने व्यवस्था विधेयकमा छ ।
विगतमा बहुविवाह दण्डनीय हुन्थ्यो । तर, सामाजिक मान्यता पाउँथ्यो । अब बहुविवाहले कानूनी मान्यता नपाउँने भने पनि अवस्था अहिले पनि पुरानै जस्तो देखिएको छ ।
भदौ १ पछि ६ वटा बहुविवाहका उजुरी
महिलासेल कालिमाटीमा मात्रै भदौ १ गते पछि अहिलेसम्म बहुविवाहका ८ मुद्दा दर्ता भएका छन् । प्रहरीमा आएको उजुरीका आधारमा ८ वटै मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएका छन् ।
ती मध्ये २ जोडी अहिले पनि फरार रहेका छन् अरु जोडीलाई अदालतले कसैलाई धरौटीमा र कसैलाई पुर्पक्षकालागि थुनामा राखेको छ । तर, बदर भने कसैको बिहे पनि भएको छैन ।
घटना पुराना, उजुरी नयाँः कमला सुवेदी, महिलासेल प्रमुख
महिला सेलका प्रमुख कमला सुवेदीले बहुविवाहका उजुरी भाद्र र असोज महिनामा आए पनि बिहे १,२ वर्ष पहिले नै गरेको पाइएको बताइन् ।
बहुविवाहको हकमा दोस्रो बिहे गरेको ३५ दिनभित्र उजुरी दिनसक्ने व्यवस्था छ । तर, प्रहरीमा आउने उजुरीमा बिहे पहिले नै गरेको श्रीमतीले भने धेरैपछि मात्रै थाहा भएका उजुरी परेका हुन् ।
श्रीमान कामको सिलसिलामा घरभन्दा बाहिर हुँदा घरका श्रीमतीलाई थाहै नदिइ सुटुक्क बिहे गर्ने गर्दछन् । बिहे गरेको १ वर्ष,२, ३ वर्षसम्म पनि थाहा नदिने र पछि अन्यत्रबाट थाहा पाउँदा ढिलो भइसकेको हुनाले पनि समस्या हुँदै गएको प्रमुख सुवेदीले बताइन् ।
Comment Here!