प्रहरीले गरे महिलामाथि दुर्व्यवहार
दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही
-महिला खबर-
ललितपुर । उदयपुरको कटारी नगरपालिका ४ मा गएराती स्थानीय र प्रहरीबीच विवाद हुँदा प्रहरीले स्थानीय महिलालाई दुर्व्यवहार गरेका छन् ।
चुनढुंगा ढुवानीको विषयमा शनिबार मध्यरातमा स्थानीयसँग प्रहरीको विवाद भएको थियो । सिद्धिचरण लोकमार्गमा धुँवाधुलोले बस्न समस्या भएको भन्दै स्थानीयले ट्रिपर चलाउन नदिने जनाएका थिए ।

घटनापछि भेला भएका स्थानीय
स्थानीयले उक्त बाटोमा ट्रिपर चलाउन नदिने निर्णयको बिपरित ट्रिपरचालकले चुनढुङ्गा बोक्न थालेपछि स्थानीयले ट्रिपरलाई सडकमै रोकेका थिए ।
त्यसपछि प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेको थियो । त्यतिबेला प्रहरीले महिलालाई दुर्व्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् । झडपका क्रममा २ जना महिला सहित ६ जना घाइते भएका थिए ।
झडपकाक्रममा प्रहरीले महिलालाई अश्लिल शब्द प्रयोग गर्नुका साथै दुर्व्यवहार गरेको स्थानीयले बताएका छन् । प्रहरीले नै महिलामाथि दुर्व्यवहार गरेको भन्दै स्थानीयले सडक बन्द गराएका थिए ।
दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही
महिलामाथी दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही गरिने भएको छ । घटनापछि आइतबार बिहान कटारी नगरपालिका, इलाका प्रशासन कार्यलय, इलाका प्रहरी कार्यलय लगायत सरोकारवालाबीच भएको छलफलले प्रहरीलाई विभागीय कारबाही गरिने निर्णय भएको हो ।
शनिबार मध्यरातमा इलाका प्रहरी कटारीका डिएसपी धुब्र श्रेष्ठको नेतृत्वमा प्रहरी खटिएको थियो ।
छलफलमा इलाका प्रशासन कार्यलयका डिएसपी धुर्वकुमार श्रेष्ठ, प्रहरी नायब निरीक्षक श्याम बहादुर रावत र प्रहरी हवल्दार रामेश्वर खँगले क्षमायाचना सहित माफी पनि मागेको इलाका प्रशासन कार्यलयका कटारीका प्रमुख सुनिल पौडेलले बताए ।
घाइते भएकाहरुको नगरपालिकाले उपचार गर्ने, सो सडकमा ट्रिपर नचलाउने, महिलालाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्ने निर्णयपछि विवाद टुंगिएको पौडेलले जानकारी दिए ।
इलाका प्रहरी कार्यलय कटारीका डिएसपी धु्रबकुमार श्रेष्ठले भने महिलालाई कुनै अश्लिल शब्द प्रयोग नगरेको दाबी गरेका छन् । विवादका क्रममा महिला आफै आइलागेको र आफै गाडीमा चढ्न खोज्दा लडेर चोट लागेको उनको दाबी छ ।
डिएसपी श्रेष्ठले भने, ‘हामीबाट गल्ती भएको भनेपछि हामीले माफी मागिसकेका छौँ । अब घटना टुंगिसकेको छ ।’
Comment Here!