पञ्चायतको अन्यायः बोक्सी आरोपमा कुटिएकी महिलालाई उल्टै तिरायो एक लाख
–महिला खबर–
ललितपुर । तपाईंलाई सुन्दा पनि अचम्म लाग्ला । बोक्सी आरोपमा आफ्नै परिवार र छिमेकीमा निर्घात कुटिएकी एक महिलालाई न्याय दिलाउनुको सट्टा पञ्चायतले नै बोक्सी कबुल गर्न लगाएको छ । त्यतिमात्रै होईन ‘म बोक्सी हुँ’ भन्न लगाएबाफत ५० हजार र गाउँलेलाई भोजभतेरबाफत ५० हजार गरी एक लाख वरिबानासमेत गराइएको छ ।
धनुषाको धनौजी गाउँपालिका वडानम्बर २ कि ३८ वर्षीया मनोतरीया मण्डललाई परिवारकै सदस्यले बोक्सी भन्दै निर्घात कुटपिट र अपमान गरेका हुन् ।
कुटपिटको घटनापछि विवाद मिलाउन भनि गाउँमै बसेको पञ्चायतले भने बोक्सी स्वीकार गर्न ५० हजार र गाउँलेलाई भोजभतेर गर्न ५० हजार गरी १ लाख रुपैँया जरिवाना तिराएको मनोतरीयाले बताइन् ।
छिमेकी फुलगेन मण्डल, दुखी मण्डल, विरेन्द्र मण्डल लगायत जेठाजु इन्दल मण्डलसमेतले लछारपछार गर्दै कुटपिट गरी बोक्सी स्वीकार गर्न लगाई रकम माग गरेको उनले महिला खबरलाई बताइन् ।
श्रीमान बैदेशिक रोजगारमा रहेका कारण घरपरिवार र छिमेकीले बिना कारण आफूलाई बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै आएको पनि उनले गुनासो गरिन् ।
यता जिल्ला प्रहरी कार्यलय धनुषाको महिला सेलकी सई दिपीका ओझाले पीडितले प्रहरीमा आफूलाई कुटपिट गरेको भन्दै ठाडो उजुरी मात्रै दिएको बताएकी छन् ।
उजुरीमा अंशबण्डा नगरेको, आफूलाई सधै गाली गलौज गर्ने, जेठानी देउरानीले बोक्सी भन्दै गाली गर्ने गरेकाले कार्वाही गरीपाउँ भन्ने उल्लेख गरी शुक्रबार ठाडो उजुरी मात्रै दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आफू अहिले न्यायका लागि प्रहरी कार्यालय जाँदै गरेको र आफूमाथि अन्याय गर्नेलाई कानूनी कार्वाही गराएरै छा्डेने पीडित महिलाले बताइन् ।
आज पीडित र पीडक दुवैलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन भनिए पनि अहिलेसम्म दुवै पक्ष नपुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोबीन्द थपलीयाले बताए ।
‘दुवै पक्षका कुरा सुनेपछि मात्रै घटनाको वास्तविकता के हो भन्न सकिन्छ’ थपलीयाले महिला खबरसँग भने ।
पीडितले प्रहरी समक्ष पञ्चायत बसेर जरिबाना तिराएको कुरा पनि उल्लेख नगरेको थपलीयाले बताए ।
Comment Here!