महिला रोग चिनाउने सिनेमा


प्रकाशित मिति :2018-11-10 12:59:43

‘ड्राइ’ शब्द भन्यो भने तपाईंको दिमागमा के कुरा आउला ?

अझ यसलाई एउटा रोगसँग दाँजेर हेरियो भने के होला? फिस्टुलासँग नि ?

विश्वभरमा पाठेघरको फिस्टुला रोगबाट पीडित २० लाखभन्दा धेरै महिला छन्। उनीहरूको लागि ‘ड्राइ’ को अर्थ के होला ?

‘पुनर्जन्म’ वा यस्तै केही।

पाठेघरको फिस्टुला भएपछि योनी र पाठेघरको बीचमा प्वाल पर्छ। योनी र मलाशयबीचमा पनि पर्न सक्छ। दिसा र पिसाब अडिँदैन। नियन्त्रणको कुनै उपाय छैन। लामो समय ‘लेबर’ रोकिएर मृत बच्चा जन्मिन्छ। मानव फोहोर निरन्तर रूपमा उनीहरूको तिघ्रासम्म बग्दै जान्छ। थुप्रिन्छ। दुर्गन्ध आउँछ। नजिकै बसेर कोही पनि कुराकानी गर्न आउँदैन। हालत सोध्दैन। लामो समय सामाजिक बेवास्ताको सिकार भएर उनीहरू संसार छाड्छन्।

फिस्टुला समस्या हुने महिलाहरू प्राय: गरिब र अनपढ छन्। उनीहरूसम्म स्वास्थ्य सेवा पहुँच हुँदैन। अफ्रिका, एसिया र मध्यपूर्वी क्षेत्रमा यसको अवस्था विकराल छ। त्यहाँ अहिले पनि यसलाई लुकाइन्छ। हरेक वर्ष १५ वर्षदेखि ३५ वर्षसम्मका महिला धेरै प्रभावित हुन्छन्। गर्भाधारण पहिलो वा दसौं पनि हुनसक्छ। कति बच्चा बाँच्छन्। कति बाँच्दैनन्।

फिल्मको मुख्य पात्र हलिमा।

अन्तिममा शल्यक्रिया गर्नुपर्ने हुन्छ। संक्रमित अंग नै काटेर फाल्नुपर्छ। शल्यक्रिया सफल भएपछि सर्जनले भन्छ ‘तिमी सुख्खा भयौ’। अनि सबैथोक फेरिन्छ। दुर्गन्ध हराउँछ। पोल्ने संक्रमित छाला निको हुन्छ। समाजको तिरस्कार र अवहेलना पनि कम हुन्छ।

उनीहरूको पुनर्जन्म हुन्छ।

त्यो मामुली शब्दभित्र भरिएको यही पीडादायी यथार्थले नाइजेरियाकी ३३ वर्षीय फिल्म निर्माता/अभिनेत्री स्टेफेनिया लिनसलाई तान्यो। उनले त्यही बेलै ‘ड्राइ’ शब्दलाई आफ्नो फिल्मको शीर्षक बनाउने सोचिन्। त्यही सोच पछि फिल्म बन्यो। त्यो ‘वेस्ट ओभरअल फिल्म’ सहित ९ वटा अफ्रिका म्याजिक भ्यूअर्स च्वाइस अवार्डमा मनोनित भयो।

फिल्मको मुख्य पात्र हलिमा नाम गरेकी एक किशोरी हो। ऊ १३ वर्षकी छे। आफूभन्दा धेरै बुढो मानिससँग उसको विवाह भएको छ। उसले एक मृत बच्चा जन्म दिन्छे र फिस्टुला हुर्काउँछे।

लिनसका लागि फिस्टुला मानवअधिकारको मुद्दा हो। उनले यो अन्तर्वार्तामा धेरै कमले जानेको र बुझेको त्यही फिस्टुलाबारे कुराकानी गरेकी छन्। साथै सर्वसाधारण मानिसको पहुँचमा पुग्नै नसक्ने गरी महँगो उपचारलाई सर्वसुलभ बनाउन के गर्नुपर्छ र यसको निराकरण सम्भावनाबारे कसरी खोज्न सकिन्छ भन्नेबारे बोलेकी छन्।

पढ्नुहोस् नेसनल पब्लिक रेडियोका लागि ग्लेन्डोरा मिकलले लिएको अन्तर्वार्ता, सुरज सुवेदीको नेपाली अनुवादमा।

फिल्म निर्माता/अभिनेत्री स्टेफेनिया लिनस

धेरै मानिसले नसुनेको एउटा रोगबारे ‘नलिउड’ (नाइजेरियाको फिल्म उद्योगलाई नलिउड भनिन्छ) मा फिल्म बनेको देखेर खुसी भएँ। तपाईंले फिस्टुलाबारे पहिलोपल्ट कहिले सुन्नुभयो?

विश्वविद्यालयमा मेरो एक साथी उत्तरी नाइजेरियाबाट आएकी थिइन्। उनैले मलाई आफ्नो देशमा हुने बालविवाह र त्यसले निम्त्याइरहेको फिस्टुलाबारे सुनाइन्। त्यो मेरो लागि नयाँ कुरा थियो। अचम्म परेँ। के नाइजेरियामा साँच्चै यस्तो भइरहेको छ? आफू नाइजेरियाकै भए पनि यो प्रश्न मनमा घुमिरह्यो। आफूलाई सम्झिएँ। म भाग्यमानी थिएँ। किनकि मेरो शिक्षामा पहुँच थियो। मेरो शरीरमा के हुनुपर्छ भन्ने निर्णय गर्न म स्वतन्त्र थिएँ। तर नाइजेरिया त्यस्तो थिएन।

त्यसपछि मैले रिसर्च सुरु गरेँ। सियारा लियोन गएँ। मलाई थाहा भइसकेको थियो, फिस्टुला नाइजेरियाको मात्र समस्या हैन। मेरो मनमा एउटै कुरा मात्र खेलिरहन्थ्यो, म यसलाई कम गर्न के गर्न सक्छु होला?

फिस्टुलाबारे यसअघि पनि दुईवटा डकुमेन्ट्री बनेका थिए। तर फिल्मजस्तो मनोरञ्जनको माध्यममा आएको सम्भवतः यो नै पहिलो अवसर हो। यसलाई कसरी लिनुहुन्छ? एकैपल्ट ठूलो संख्याका दर्शकमा सचेतना बाँड्न पाउने अवसर वा अरू केही?

मैले यसबारे जति जति पढ्दै/खोज्दै गएँ, त्यति त्यति मानिसहरू यसबारे अनभिज्ञ छन् भन्ने ज्ञान हुँदै गयो। कतिले त सुनेकै रहेनछन्। मैले भेटेका केही मान्छे त ‘के विषयमा कुरा गरेको हामीलाई थाहा छैन’ भन्थे। त्यसैले मलाई लाग्यो यसबारे काम गर्नुअघि पर्याप्त सचेतना ल्याउनुपर्छ। यो तिमीहरूकै ठाउँको समस्या हो भनिदिनुपर्छ। त्यसको माध्यम खोज्दा फिल्मभन्दा उपयुक्त अरू माध्यम हुन्छ जस्तो लागेन।

नलिउड विश्वको तेस्रो ठूलो फिल्म उद्योग हो। त्यसैले मैले फिल्ममा मनोरञ्जन खोज्न आउने मान्छेहरू मार्फत यो सन्देश बाँड्न खोजेँ। मसँग फिल्म बनाउने सीप थियो। मैले त्यही रूपमा योगदान पुर्‍याउन सक्थेँ।

यो फिल्मका लागि धेरैले मन पराउने विषय हैन। फिल्मले कमाउँछ कि कमाउँदैन भन्ने टुङ्गो पनि नहुने यस्तो विषयमा फिल्म बनाउन पैसा जुटाउन कठिन भयो कि भएन?

सबभन्दा गाह्रो कुरा नै यही हो जस्तो लाग्छ। मैले फिस्टुलाकै क्षेत्रमा काम गरिरहेका केही संस्थाहरूसँग पहिलो चरणमा कुराकानी गरेँ। उनीहरूले फिल्मको सोच मन पराए तर पैसा हालिहाल्ने रुचि देखाएनन्। धेरैतिर यस्तो हुँदो रहेछ। विषय नराम्रो कसैले भनेनन् तर पैसा हाल्न हात पनि बढाएनन्। तर हार मानिनँ। खोज्न छोडिनँ। भाग्यवश मैले नाइजेरियन राष्ट्रपतिका एक जना विशेष सल्लाहकारसँग भेट्न पाएँ। उनी सहश्राव्दी विकास लक्ष्यको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका थिए। भनेँ, ‘यो तपाईंहरूले सुन्नुपर्ने विषय हो।’

पछि मेरो फिस्टुला पीडित केही महिलाहरूसँग भेट भयो। उनीहरूको उपचार र शल्यक्रिया हेरेँ। त्यो अनुभवले मलाई ‘एक्टेन्डेड ह्याण्ड्स फाउन्डेसन’ खोल्न प्रेरित गर्‍यो। त्यसैको माध्यमबाट महिलाहरूलाई सर्जिकल उपचार सेवा दिन र मेडिकल साधन वितरण गर्न सकेँ। फिस्टुलाका विषयमा बनाउन लागेको फिल्मको लागि पैसा जुटाइरहेको बेला त्यही रोग लागेका महिलाको उपचार खर्च जोहो गर्न सक्नु आफैंमा सन्तुष्टिको कुरा थियो।

तपाईंले सोचेका यो फिल्मका सम्भावित दर्शक को हुन्?

म चाहन्छु यो फिल्म सबैसम्म पुगोस्। यसलाई सबैले हेरून्। बुझून्। कुरा गरून्। पश्चिमा देशका नेता, नाइजेरियाका बासिन्दा र पूरै अफ्रिकाका मानिस कोही नछुटून्। यो विषय विश्वकै हो। सबैले महशुस गर्न सक्छन्। हामीले इङ्ल्याण्डमा प्रदर्शन गर्दा धेरैले मुक्तकण्ठले प्रशंसा गरेका थिए।

तपाईंको फिल्म भन्छ फिस्टुला जति विकराल रोग बन्दै गइरहेको छ, यसको उपचारमा सरकारको बेवास्ता उति नै बढ्दो छ। यसको उपचारमा पैसा शून्य प्रायः छ भन्दा हुन्छ। विशेषज्ञ डाक्टरले धेरै वर्ष पढेर र सिकेर पैसामा काम गर्ने हो कि डाक्टरको सिद्धान्तमा ?

सर्जन पनि निराश छन्। तिनको कुरा सुन्दा उनीहरू करिअरको सुरुवातमा पनि फिस्टुला उपचारतर्फ जान चाहँदैनन्। किनकि धेरै बिरामी गरिब छन्। उनीहरूको शुल्क आउँदैन। यसका लागि सरकारले व्यवस्था नगरी हुँदै हुँदैन। भर्खरै मात्र नाइजेरियाको सरकारले त्यस प्रकारको शल्यक्रियाका लागि केही व्यवस्था गरेको छ। हातमा केही आउँदैन भनेर नजाने डाक्टरसँग अपेक्षा पनि के गर्नु? उनीहरूले पनि आफ्नो परिवारलाई खुवाउनुपर्ने होला।

हलिमा पात्र कसरी तयार भइन्? ऊ जस्तै कोही बिरामीले प्रभाव पारेको हो?

हो। मैले हलिमासँग मिल्दोजुल्दो एक केटी भेटेँ। एक भर्खरकी युवती। उसको कथाले म धेरै समय खल्बलिएँ। त्यस्ता कथा धेरैसँग आपसमा मिल्ने रहेछन्। भोगेको पीडा उस्तै। फिल्मको सिनमा तपाईं जति पनि महिला वार्डमा सुतिरहेका देख्नुहुन्छ, उनीहरू साँच्चै फिस्टुला पीडित हुन्।

फिल्मको अन्तिमतिर एक पात्रले ‘अफ्रिकी महिलाहरूलाई संसारमा लोप हुन लागेका प्राणी भनिदिए हुन्छ’ भनेकी छ। तपाईं के भन्नुहुन्छ?

ऊ साँचो त भन्दैछे। फिल्ममा हामी फिस्टुलाबारे मात्र कुरा गरिरहेका छैनौं। त्यहाँ बलात्कारको कुरा छ। जबर्जस्ती देहव्यापारमा पुर्‍याइएका युवतीको कुरा छ। भयावय अवस्थामा बाँचिरहेका हजारौं महिलाका कथा छन्। उनीहरूको जीवनलाई महत्त्व दिइनुपर्छ भन्ने मेरो आवाज हो। त्यो पात्रले बोलेको कुराले यही अपेक्षा गर्छ। त्यसले भन्ने खोजेको, यदि उनीहरू मान्छे हुन् भने उनीहरूलाई सुरक्षित राख्न कानुन र स्वास्थ्य सेवा दिनुपर्छ भन्ने हो।

फिस्टुलाको समस्या ती समाजमा धेरै छ, जहाँ पुरुष शक्तिशाली छन्। तर हाम्रो बहस पुरुषलाई बेवास्ता गरेर महिलाहरू एकअर्कासँग मात्र बोलिरहेको जस्तो देखिन्छ। फिस्टुला जस्तो समस्यामा पुरुषको भूमिका कस्तो हुनुपर्छ जस्तो तपाईंलाई लाग्छ?

तपाईं सही हुनुहुन्छ। अझ हाँस उठ्दो कुरा त के छ भने, फिस्टुला उपचार गर्ने धेरै सर्जन पुरुष छन्। फिल्मले महिला आफ्नो समस्याको कारण आफैं हुने गरेको कुरा पनि देखिन्छ। उनीहरूसँग शक्ति छ तर प्रयोग गर्दैनन्। हलिमाको सासूसँग आफ्नो छोराको सोच परिवर्तन गर्ने शक्ति छ। तर हलिमालाई धेरै पीडा उनले नै दिएकी छन्। उनीसँग हलिमाप्रति कुनै सहानुभूति छैन। ‘विमन सरकमसिजन’ (महिलाको यौनांगको माथिल्लो तह काट्ने संस्कार) गर्ने बेला पनि महिलाले नै नेतृत्व लिइरहेका छन्।

मलाई लाग्छ हामीले यो मुद्दामा महिला र पुरुष दुवैलाई सँगै ल्याउनुपर्छ। यसको कारण खोज्नेसँगै असर के कस्तो हुन्छ भन्ने कुरा पनि भनिदिनुपर्छ।

उसो भए तपाईं हुर्किएको नाइजेरिया र हलिमाले अनुभव गरेको नाइजेरियामा धेरै फरक छ हैन?

केही फरक पक्कै छ। तर अझै पनि स्वास्थ्य जाँच प्रणालीमा व्यापक सुधार जरुरी छ। अहिले अस्पतालहरू बनेका छन्। तिनमा सेवा पनि राम्रो नै छ। सन् २००५ मा दुर्घटना भएको बेला त्यस्तो सेवाको प्रत्यक्ष अनुभव मैले पनि गरेँ। मेरो खुट्टा भाँचिएको थियो। अनुहार जलेको। त्योबेला मैले धेरै गुणस्तरको सेवा पाएँ।

तर मैले भुल्न हुँदैन, म सहरको अस्पतालको कुरा गर्दैछु। मसँग त्यसको पहुँच भयो। ग्रामीण भेगमा कथा अर्कै छ। फिल्ममार्फत मैले त्यही दूरी देखाउन खोजेको हुँ। हलिमासँग स्वास्थ्य जाँचको पहुँच छैन। उनी जानसक्ने अस्पतालमा राम्रो सुविधा छैन। हजारौं महिलालाई जाँच्न एउटा डाक्टर भएको ठाउँ हो त्यो। ती कमी पूरा गर्न सरकारले धेरै काम गर्नुछ।

तपाईंले फिल्ममा देखाउनु भएका बालविवाह, बलात्कार, पुरुषवादी समाज, शिक्षाको कमीजस्ता धेरै सामाजिक यथार्थलाई केहीले अफ्रिकाको एकपक्षीय प्रस्तुति पनि भन्लान्। ती दृश्य प्रस्तुत गर्दै गर्दा एकपक्षीय भएँ कि भन्ने चिन्ता लागेन?

चिन्ता लागेको हो। मैले यो सोचेको पनि थिएँ। यथार्थ पनि त्यही हो। म भन्छु नाइजेरिया एकदमै सुन्दर देश हो। यहाँ धेरै अवसर छन्। विकास हुँदैछ। मानिसहरू पढेका छन्। मिहिनेत पनि गर्छन्। तर यहाँको संस्कृति र परम्परामा समस्या छन्। दु:खको कुरा, मानिसहरू त्योबारे सुन्न चाहँदैनन्। त्यसैले यो पूरै नाइजेरियाको कथा हैन। भन्नैपर्ने यथार्थ कथा भने हो।

फिल्मको मुख्य केन्द्रविन्दु शिक्षाको आवश्यकतामा केन्द्रित छ। के तपाईंको भन्नु पनि त्यही हो?

शिक्षा साह्रै ठूलो कुरा हो। ती किशोरीलाई आधारभूत शिक्षा मात्र दिन सके उनी सबै व्यवस्था गर्न सक्छिन्। अज्ञात नै रहिन् भने उनलाई के गर्ने भन्ने थाहै हुँदैन। छोरीको बिहे सानैमा गर्न चाहने सबै आमाबाबुलाई छोरी पढाउन उत्प्रेरित गर्नुपर्छ। हामीले मानिसहरूलाई शिक्षित बनाउन सक्यौं भने यसले त्यस्ता कुरा रोक्न थाल्छ। हामीसँग अहिले नै फिस्टुला भएका धेरै महिला छन्। हामीले अरूलाई यसको समस्यामा पर्नबाट रोक्नै पर्छ। सेतोपाटीबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: