-महिला खबर-
ललितपुर । बाख्रा चराउन जंगल गएकी बालिकाको हत्या आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी अर्जुन रानाभाटको नेतृत्वमा घटनास्थलमा पुगेको टोलीले सोमबार पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको शनिबार दिउसो बाख्रा चराउन गएको बेला जंगलमा रहस्यम तरिकाले मृत्यु भएको थियो ।
बालिकाको रहस्यमय तरिकाले मृत्यु भएको प्रहरीलाई खबर गरेपछि तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय पाँचजना युवालाई नियन्त्रणमा लिएको हो ।
स्थानीयबासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको डीएसपी रानाभाटले बताए । पक्राउ परेका पाँचै जनाको नाम गोप्य राखिएको छ ।
बालिकाको शव अहिले पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ । डीएसपी रानाभाटले शवको पोष्टमार्टमबाट मात्र बलात्कारपछि हत्या हो वा अन्य भन्ने खुल्ने बताए ।
उनले भने, ‘यसै हो भन्ने अवस्था छैन, पोष्टमार्टम र पक्राउ परेकाको बयानपछि घटनाको एकिन हुन्छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
पक्राउ परेका युवाहरु पनि जंगलमा बाख्रा चराउन गएका थिए ।
Comment Here!