कुटोमा श्रीमती, बिटोमा श्रीमान्


प्रकाशित मिति :2018-11-25 16:42:42

–उमा पौडेल–

सिन्धुली । धनमाया अधिकारी ४८ वर्ष लागिन् । उनको २१ वर्षमा बिहे भएको थियो । त्यसयता भातभान्छा र खेती नै उनको जिम्मेवारी हो । यीनै काममा अभ्यस्त भएर होला उनलाई घर धन्दा काम हो जस्तै लाग्दैन ।

सिन्धुलीको दुधौली नगरपालिका ६, मा उनको परिवारको करिब डेढ बिगाहा जमिन छ । यही जमिनबाट उब्जेको अन्नबाली र आम्दानीबाट उनको ६ जनाको परिवार धानिन्छ ।

धनमायाको गोठमा भैँसी, बाख्रापाठा र कुखुरा पालन समेतले गर्दा उनीहरूसँग केही पैंसा जम्मा हुन्छ । खेतीपाती, गाईवस्तुको आम्दानी लिँदा त खुसी नै लाग्छ । तिनीहरूको हेरचाह गर्नु कठिन छ नै । यी सबै जिम्मेवारी धनमायाकै काँधमा छ ।

घरधन्दा, खेतीपाती धान्नकै लागि धनमाया २१ वर्षयता (अपवाद बाहेक) बिहान सँधै ३ बजे उठ्छिन् । बेलुका १० बजेमात्रै उनको काम सकिन्छ । बिहान बेलुका गाईवस्तु र भान्छाको चाँजोपाजो मिलाउँछिन् । दिउँसो खेतमै बित्छ ।

उनका अनुसार बेलाबेलामा ‘सघाउने’ श्रीमान् भएकाले दैनिकीमा केही सजिलो भएको छ । धनमायाका ३ छोरी र १ छोरा छन् । जेठो छोरा हेटौंडामा आफन्तकहाँ बसेर कक्षा १२ पढिरहेका छन् ।

३ छोरी नजिकैको विद्यालयमा आधारभूत तह पढ्दैछन् । ‘आजभोलीका केटाकेटीले काम गर्छन् भनेर आशा नगरे हुनेरहेछ’ धनमाया भन्छिन् ‘छोराछोरीले पढ्नै भ्याउँदैनन् के काम सघाउनु ! पढाई बिग्रेला भनेर पनि म उनीहरूलाई काम लगाउँदिन । बरु काममा श्रीमान्ले सघाउनुहुन्छ ।’

तीन दशकको चाकरी रित्तो भकारी

धनमायाका श्रीमान् हरी अधिकारी ५२ वर्षका भए । उनी खेतीपातीमा त्यति चासो दिँदैनन् । बरु उनको ध्यान गाईवस्तुमा बढी हुन्छ । धनमायाले आफ्नो भागको काम सुनाइन्, ‘डाले घाँस काट्ने, दुध पुर्याउने, बाख्रापाठा बेच्ने काम श्रीमान्को हो । म धुलो घाँस काट्छु, गोबर सोहोर्छु ।’

धनमायाकै अनुसार खेतीपातीको रेखदेखको जिम्मा पनि उनकै हुन्छ । तर खेतीमा के लगाउने निर्णय चाहिँ श्रीमान्को । ‘खेतीपाती गर्दा श्रीमान् धान, मकै रोप्न ईच्छा गर्नुहुन्छ ।’ उनले थपिन्, ‘मुसुरो, तोरी, आलस बढी लगाउन पर्ने बाध्यता मेरो छ ।’

के तरकारी पकाउने ? दाल पकाउने कि नपकाउने, अचार बनाउने सामग्रीको जोहो हरेक बिहान साँझ धनमायाले गर्छिन् । खेतमा तोरी भए तेल किन्नु पर्दैन । मुसुरो भए दाल किन्नुपर्दैन । दाल, भुटन किन्नुनपरे श्रीमान्लाई पैसाको लागि गुहार्नु पर्दैन । खेतमा मुसुरो, तोरी, आलस लगाउन जोड गर्ने यत्ति कारण हो ।

खेतीपातीबारे भन्दै जाँदा धनमाया अझ खुलिन्, ‘के गर्नु तीन दशक चाकरी रित्तो भकारी ।’ उनले अझ प्रष्ट्याइन्, ‘खेतीपातीमा जति समय खर्चिए पनि आफ्नो भान्छाको गर्जो टार्ने तोरी, मुसुरो, आलस भर्ने ढुकुटी सँधै रित्तो हुन्छ । श्रीमान्को धान, मकै, कोदो राख्ने ढुकुटी सँधै भरिएको ।’

कृषि र पशुपालनबाट उनीहरूको परिवारले वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्छन् । यही आम्दानीले नजिकै ५ कठ्ठा खेत र सदरमुकाममा १० धुर घडेरी पनि जोडेका छन् । तर, दुवै जग्गाको स्वामित्व धनमायाको छैन ।

धनमायाका अनुसार खेतीपातीमा श्रीमान्को भन्दा उनको खटाई धेरै छ । तर न त उनको भकारी नै भरिएको छ न त आम्दानीबाट जोरजाम गरिएको सम्पति उनको आफ्नो नाममा छ । यद्यपि असन्तुष्टि देखाउँदिनन् । सन्तुष्टिको कारण खोलिन्, ‘चाहिएका बेला खर्च पाएकै छु ।’

धनमायाका श्रीमान् हरी अधिकारीले पनि घरको काम र कृषि महिलाले धान्ने र आम्दानी पुरुषले नै व्यवस्थापन गर्ने हो भन्ने बुझेका छन् । त्यसैले आजसम्म आफूले गरेको काम केही नौलो होइन, पुरुषसँग स्वतः आउने हक हो भन्ने उनले ठानेका छन् ।

‘बाजेको पालादेखि नै यस्तै चलि आयो । न त श्रीमतीले बेचबिखनको काम म गर्छु भनिन्, न हामीले तिमी गर भन्यौं । जस्तो थियो त्यसरी नै चलिरहेको छ ।’

श्रीमान्को निर्णयमा श्रीमतीको श्रम

सदरमुकामबाट २२ किलोमिटरको दुरीमा जहानटोल गाउँ छ । जहाँनटोलका किसानहरू धान, मकै, गहुँ, तोरी, आलु, काउली लगायत सिजन अनुसारको अन्न तथा तरकारी खेती गर्छन् ।

सरिता घिमिरेको परिवार जहान टोलको सबैभन्दा मेहनती कृषक परिवारमा गनिन्छ । गोठमा आधादर्जन गाई, १ सय भन्दा बढी कुखुरा छन् । खेतीपाती पनि उस्तै । यी सबै काम परिवारका सदस्यले नै गर्छन् ।

घिमिरे दम्पत्तिका २ छोरी छन् । जेठी छोरीको विवाह भइसक्यो । कान्छी छोरी पढ्दैछिन् । उनी कामकाजमा सघाउन भ्याउँदिनन् । वस्तुभाउ, खेतीपाती श्रीमान् श्रीमतीले सम्हालेका छन् । उनीहरूको मेहनत र दिनदिनैको काम देखेर छिमेकी उनीहरूको परिवारलाई मेहनती मान्छन् ।

सरिता घिमिरे

बाहिरबाट हेर्दा दुवै जनाको काममा बराबर लगाब झैं देखिन्छ । तर, कामको जिम्मेवारी र निर्णयमा बराबरी छैन । सरिताले केही दिनअघिको घटना सम्झिइन्, ‘गोठमा ५ गाई थिए । श्रीमान्ले अझ एउटा गाई थप्ने भन्नुभयो । मलाई कुखुरा पाल्ने रहर थियो । तर उहाँले मान्नुभएन । उहाँकै निर्णय लागु भयो । एउटा गाई थपियो ।’ अहिले उनीहरूको गोठमा ६ वटा गाई छन् ।

सरितालाई गाई भन्दा कुखुराको स्याहार सजिलो लाग्ने भएकाले कुखुरा थप्ने रहर गरेकी रहिछन् । तर, श्रीमान् हरिले आम्दानी हेरे ।

‘कुखुराभन्दा गाईको दूधबाट बढी आम्दानी हुने भएकाले श्रीमान्ले गाई थप्नुभयो’ सरिताले भनिन्, ‘आफू काममा बढी खट्नुपर्छ । उहाँहरू पैसा हेरेर निर्णय गर्नुहुन्छ । कामको बोझको ख्याल गर्नुहुन्न ।’

सरिता र हरीको कामको बाँडफाँड नतोकिएर पनि तोकिएजस्तै छ । सरिता सबेरै उठेर घाँसकुँडो गर्छिन् । वस्तुभाउ अघाउँछिन् । हरि नजिकैको डेरीमा दूध पुर्याएर ९ बजे फर्किन्छन् । त्यतिन्जेलसम्म सरिताले दिनभरलाई पुग्ने घाँस काटेर ल्याइसक्नुपर्छ । अनि भात तरकारी पनि ठिक्क पारिसक्नुपर्छ ।

सरिताकै अनुसार कृषि र पशुपालनबाट उनको परिवारले वार्षिक ४ लाखदेखि बढीमा ६ लाख रुपैयाँसम्म आम्दानी गर्छ ।

उब्जेका बाली र पालेका पशुको भाउ छिन्ने, बेचबिखन गर्ने काम श्रीमान्को हो । सरिताचाहिँ आफूले लिएको खर्चको हिसाबकिताब बुझाएपछि आवश्यकता अनुसारको खर्च श्रीमान्बाट पाउँछिन् । ‘बाँकी आम्दानी कहाँ खर्च र लगानी गर्नुहुन्छ म खासै चासो गर्दिन’ सरिताले भनिन् ।

जहानटोलकै ५३ वर्षकी लक्ष्मी भट्टराईलाई श्रीमान् पुष्कर भट्टराई नभएको बेला अन्तपात बेच्ने आँट आउँदैन । उनीहरूको १ बिगाहा उब्जनी हुने जमिन छ । खेतीपातीको राम्रो ज्ञान पनि उनमा छ ।

लक्ष्मीले भनिन्, ‘दिनरात नभनेरै खेतीपाती गरिन्छ । तर बेच्ने बेलामा श्रीमान्लाई नसोधी आँट आउँदैन ।’

छरछिमेकमा मानापाथी अ‍ैचौपैँचो गर्नचाहिँ कसैसँग सोध्नुपर्दैन । तर, उनले धान मकै बेच्ने निर्णय श्रीमान् बिना आजसम्म गरेकी छैनन् । बेच्ने मात्रै होइन खेतमा कस्तो बाली लगाउने, धान खलाबाटै बेच्ने कि ढुकुटीमा राखेर बेच्ने सबै कुराको निर्णय श्रीमान्ले नै गर्ने गरेको उनले बताईन् ।

बेचबिखन मात्रै होइन, उनले थपिन्, ‘खेताला कति जना लगाउने भन्ने निर्णय पनि उहाँ (श्रीमान) ले नै गर्नुहुन्छ । खेताला खोज्ने कामचाहिँ मैले गर्नुपर्छ ।’ ज्याला तिर्ने बेला फेरि श्रीमाननै गुहार्नुपर्छ लक्ष्मीले ।

महिला बजार गए कसरी घर चल्छ ?

सरिताका श्रीमान् हरि घिमिरे आफूले आम्दानी लिने र श्रीमतीलाई आवश्यकता अनुसारको खर्च दिने कुरालाई स्वभाविक मान्छन् । उनलाई बाहिर हिँड्ने, समाजमा कुरा बुझ्ने, बजारभाउ बुझ्ने, बेच्ने जिम्मेवारी पुरुषकै हो भन्ने लाग्छ ।

हरिको बुझाइमा, यी काम महिलाले गरे घर कसरी चल्छ ? भन्छन्, ‘श्रीमतीलाई वस्तुभाउ र खेतीपाती कसरी गर्ने भन्ने राम्रो ज्ञान छ । त्यसैले उनले घरकै काम गर्छिन् । बाहिरको काम गर्ने म छँदैछु । उनलाई के को दुःख !’

उनले परिवारमा आफ्नो भूमिका अझ प्रष्ट्याउँदै थपे, ‘मागेको बेला उनलाई खर्च दिएकै छु ।’

लक्ष्मीका श्रीमान् पुष्कर भट्टराई भने थोरै उत्पादन हुने दाल, तोरी बेच्ने निर्णय श्रीमतीले नै गर्ने बताउँछन् ।

उनले थपे, ‘थोरै तिना कारोबार उनले पनि गर्छिन् । मकै, धान अलि बढी बेच्छांै । यसको कारोबार पहिलेदेखि आफैले गरिएको छ । लक्ष्मीले यसको बारेमा चासो नै गर्दिनन् ।’

महसुस छ, कारोबारको जिम्मा दिन सकिँदैन

गौतमप्रसाद भट्टराई कमलामाई नगरपालिका १०, का वडा सदस्य हुन् । उनलाई महिलाहरूको उत्पादनमा सहभागिता, लाभमा भने पहुँच नभएकोबारे राम्रोसँग ज्ञान छ ।

सेवामूलक काम गर्नु महिलाको जिम्मेवारी र त्यसको आम्दानी लिनु पुरुषको अधिकार जस्तै बनेको छ । ‘यस्तो अवस्था परिवर्तन गर्नुपर्छ’ भन्ने पनि गर्छन् ।

तर, आफ्नै परिवारको अवस्था भने परिवर्तन भएको छैन । आफ्नै परिवारमा पनि श्रीमतीले घर खेतको काम गर्ने र आम्दानी तथा खर्च व्यवस्थापन आफूले गर्दै आएको उनले बताए ।

उनले भने, ‘दुःख गर्ने श्रीमतीले आम्दानी पनि लिन पाउनुपर्छ भन्ने राम्रोसँग थाहा छ । उनी घरधन्दाले भ्याउँदिनन् । मेरो बाहिर हिँडिरहने काम पर्छ । त्यही बेला आर्थिक कारोबार आफै गर्छु ।’

उनकी श्रीमती कल्पना भट्टराई हुन् । खेतीपातीको आम्दानी घरखर्च कटाएर बैंकमा जम्मा गर्ने गरेको उनले बताईन् ।

कल्पनाले थपिन्, ‘भान्छालाई चाहिने जति खर्च श्रीमानले घरै छाडिदिनुहुन्छ । बाँकी पैसा कति बैंकमा जम्मा गर्ने कति ब्याजमा लगाउने उहाँकै निर्णय हुन्छ ।’

विवाह गरेर भित्रिएको दिनदेखि भट्टराई परिवारमा उनले यही चलन देखिन् । महिलाहरू आम्दानी खर्चको व्यवस्थापनमा अघि बढेका कहिल्यै थाहा पाइनन् । त्यसैले श्रीमानले आम्दानी लिनु र आफूले श्रम गर्नु उनलाई नौलो लाग्दैन ।

सिन्धुलीको धुरा बजार नजिकैको बुधबारे हाटमा सरिता आचार्य इस्कुस र गोलभेंडा बेचिरहेकी भेट्ईन् । श्रीमान्ले तीन महिनाअघि आत्महत्या गरेपछि सरिता ३ छोरीका साथ आफ्नै गाउँ चपौलीमा बस्छिन् । उनलाई आफ्नो जग्गा यति नै छ भन्ने थाहा छैन ।

करेसाबारीमा तरकारी फलाउँछिन् । श्रीमान् नभएपछि उनी पहिलो पटक तरकारी बेच्न आफै हाटबजार पुगिन् । भन्छिन् ‘श्रीमान् हुँदासम्म यसरी तरकारी बेच्न हिँड्नु पर्दैनथ्यो । उहाँ नभएपछि आफ्नै काँधमा आयो ।’

पहिलोपटक तरकारी बेच्न जाँदा उनलाई अप्ठ्यारो लागिरहेको रहेछ । मूल्यको पनि मेसो पाएकी थिइनन् । हिसाब किताबमा अलमल झैं देखिएकी थिईन् ।

हाट बजारको घुँईचोभन्दा वरै एकान्तमा बसेर टमाटर बेच्दै गरेकी थिईन् । तरकारी बेचेको आम्दानीले ६ कक्षा, ४ कक्षा र ३ कक्षा पढ्ने छोरीको खर्च धान्नुपर्ने बताईन् ।

‘पहिले श्रीमान्ले कहाँ लगेर तरकारी बेच्नुहुन्थ्यो त्यो पनि थाहा हुँदैन थियो । म फलाउँथे उहाँ बेचेर घरमा चाहिने सामान लग्नुहुन्थो’ उनले थपिन्, ‘पहिलेदेखि आफूले पनि ज्ञान लिएको भए अहिले अप्ठ्यारो नपर्ने रै’छ ।’

‘छोराछोरी मान्दैनन्, श्रीमतीले जान्दिनन्’

बुधबारे हाटमा डोकोभरी चम्सुरको साग लिएर बसेका भक्तमान वाईवा ६२ वर्षका भए । कमलामाई नगरपालिका १२ शिखर उनको घर हो । उनको ९ कठ्ठा जमिन छ ।

भक्तमान वाईवा

अहिले उनको बारीमा चम्सुर खेती छ । बिहान चम्सुर उखेलेर, मुठा बाँधिदिएर श्रीमतीले ठिक्क पारिदिन्छिन् । डोकोमा चम्सुर बोकेर उनी बजार झर्छन् । भने, ‘मैले जोतेँ, जहानले छर्यो । गोडमेल गर्न पर्दैन, सजिलो छ चम्सुर उब्जाउन ।’

उनले आफ्नो तरकारी बिक्रीको हिसाब किताब सुनाए, ‘मुठाको २५ रुपैयाँमा बेच्छु । अहिलेसम्म ४ सय ७५ कमाएँ । यो सकेर चिनी मसला किनेर घर लैजान्छु ।’

भक्तमान वाईवाको परिवारमा ५ छोरी र २ छोरासहित ९ जना छन् । तर, तरकारी बिक्रीको लागि सँधै उनी नै बजार झर्छन् । ‘केटाकेटा मान्दैन, श्रीमती जान्दैन’ बजार आउनुको कारण खुलाउँदै भक्त बहादुरले थपे, ‘बच्चाहरूलाई जाउ भन्दा मान्दैनन् । बुढीले हिसाब भुल्छ जस्तो लाग्छ । उसलाई पठाउन मनै मान्दैन । आफै आउँछु । उ आजसम्म बेच्न हिँड्या छैन । उसले रोप्छ, मैले बेच्छु ।’

८२ प्रतिशत महिला कृषिमा

सरकारकै तथ्याङ्क अनुसार नेपालको कृषि क्षेत्रमा ८० प्रतिशत बढी महिलाले श्रम गर्छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र कृषि अनुसन्धान परिषद् (नार्क) ले २०७१\०७२ मा निकालेको लैंगिक समता तथा सामाजिक समावेशीकरण प्रगती प्रतिवेदन अनुसार जिल्लागत रुपमा हेर्दा कम्तिमा ४३ देखि ८२ प्रतिशतसम्म कृषि क्षेत्रमा महिलाले श्रम गर्ने उल्लेख छ ।

यद्यपि श्रम अनुसारको प्रतिफल उपभोगको भने तथ्याङ्क छैन । सिन्धुलीको कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २ लाख ५१ हजार ८ सय ७९ हेक्टर जमिन छ । जसमध्ये ६२ हजार ७ सय १३ हेक्टर खेतीयोग्य जमिन छ । खेतीयोग्य जमिनमध्ये पनि ४९ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा मात्रै खेतीपाती हुने गरेको छ ।

यी खेतीयोग्य जमिनमा आवद्ध किसानको परिवार संख्या ३३ हजार ७ सय ९० छ । तर, महिला कति आवद्ध छन् भन्ने तथ्याङ्क भने कृषि ज्ञान केन्द्र सिन्धुलीमा छैन ।

कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकाल महिला कृषकको संख्या यकिन नभए पनि कृषिमा सहभागी हुनेमध्ये धेरै महिला नै रहेका बताउँछन् । यद्यपि कृषिलाई आधुनिक तरिकाले गर्न सिकाउने तालिममा पुरुषको सहभागिता बढी छ ।

केन्द्रबाट गएको आर्थिक वर्षमा सञ्चालन भएको कृषि पेशासँग सम्बन्धित विभिन्न तालिममा सहभागी भने पुरुष बढी छन् । केन्द्रले ४ हजार ४ सय ८१ जनालाई तालिम दिएको थियो । ती मध्ये २ हजार ३ सय ३१ जना पुरुष र २ हजार १ सय ५० जना महिला रहेका ढकालले जानकारी दिए ।

प्रमुख राजन ढकाल कृषिमा महिलाहरूले बढी श्रम गरे पनि आम्दानीमा भने महिलाको पहुँच निकै कम रहेको बताउँछन् ।

महिलाहरूको खेतीसँगै बालबच्चा तथा घरायसी कामको पनि जिम्मेवारी बढी हुने भएकाले कृषि सम्बन्धी तालिममा उनीहरूको संख्या कम भएको ढकालले बताए । उनले भने, ‘यद्यपि हामीले महिलालाई कृषिमा प्रोत्साहन गर्नका लागि समान सहभागिताको सर्त राखेर समूह तथा सहकारीहरूमा पत्राचार गर्ने गरेका छौं ।’

ढकाल महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था जस्तै कृषि क्षेत्रमा पनि बाध्यकारी व्यवस्था गर्नुपर्ने सुझाव दिन्छन् ।

कृषिमा महिला पुरुषको समान सहभागिता बढाउन राष्ट्रिय युवा परिषदबाट अनुदान लिनका लागि समूहमा ५० प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था छ ।

तर, कृषि श्रममा पुरुष भन्दा महिला सहभागिता बढी भए पनि समूहमा आबद्धता भने निकै कम छ ।

अघिल्ला दुई आर्थिक वर्षमा जिल्ला युवा समिति सिन्धुलीबाट कृषि तथा पशुपालनका लागि ५ लाख अनुदान लिएका ५ वटा समूह सबैको नेतृत्वमा पुरुष छन् । जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष संजय दाहाल भन्छन्, ‘५० प्रतिशत महिला सहभागिता भएको समूह पाउनै हम्मेहम्मे छ । त्यसमा पनि महिला मुख्य पदमा निकै कम छन् ।’

अधिकारकर्मी सुशीला थिङ कृषि काममा महिलाको मेहनत धेरै हुने र पुरुष हाबी हुने बताउँछिन् । ‘शहरी क्षेत्रका केही कृषक महिलाले आफ्नो उत्पादन, आम्दानी र त्यसको व्यवस्थापन आफै गरेका छन्’ थिङले भनिन्, ‘ग्रामीण क्षेत्रमा स्थिती निकै जटिल छ । महिलाले दिनरात नभनेर गरेको आम्दानी दुरुपयोग गर्ने पुरुषहरू प्रसस्तै छन् ।’

महिलाले कृषिबाट ६४ प्रतिशत आम्दानी गर्ने तर १० प्रतिशत पनि उपयोग नगर्ने गरेको विभिन्न तथ्यांकहरूले समेत पुष्टि गरेको उनको भनाइ छ । थिङ भन्छिन्, ‘सिन्धुलीमा मात्रै नभई देशैभर महिला कृषि क्षेत्रको आम्दानीका लागि मुहान हुन् । तर, उपभोग उनीहरूको पहुँच बाहिर छ ।’

परम्परागत भूमिका छोड्नुपर्छ

ईक्वेल एक्सेसका संचार तथा पैरवी अधिकृत नवोदिता सुवेदी किसान महिलाहरूलाई नै लक्षित गरेर प्रभावकारी अभियान नथालेसम्म उनीहरू परम्परागत भूमिकाबाट बाहिर आउन नसक्ने बताउँछिन् ।

सुवेदी भन्छिन्, ‘कुटो कोदालो चलाउनेदेखि वस्तुभाउको हेरचाह गर्ने ठेक्का महिलाको हुन्छ । तर त्यसको बेचबिखन गर्ने, पैंसा लगानी गर्ने, राख्ने सबै कुराको निर्णय पुरुषको हातमा । किसान महिला र पुरुषको परम्परागत भूमिकालाई परिवर्तन गर्न महिला लक्षित कार्यक्रम हुनैपर्छ ।’

‘सही हो’ अभियान अन्तरगत इक्वेल एक्सेसले सन् २०१८ जनवरीदेखि किसान महिलाको नेतृत्व विकास गर्न सिन्धुलीमा कार्यक्रम गरिरहेको छ । सुवेदी भन्छिन्, ‘यो अभियान अन्तरगत हामीले किसान महिलाका कुरा सुन्यौं । तपाई के गर्नुहुन्छ भन्दा किसान महिलाको जवाफ आउछ, ‘म केही गर्दिन् । घर सम्हाल्ने, खेतीपाती र वस्तुभाउ स्याहार्ने काम गर्छु’ भन्नुहुन्छ । यो भनेको उहाँहरूले आफ्नो कामलाई महत्वपूर्ण नठानेको अवस्था हो ।’

‘खेतबारी र वस्तुभाउमा १८ घण्टा भन्दा बढी काम गर्ने महिलाहरू आफ्नो कामप्रति गर्व नै गदैनन्’ सुवेदीले थपिन्, ‘सामाजिक मूल्य मान्यताका कारण बजारमा महिलाको उपस्थिती नै हुँदैन । त्यसो हुँदा उत्पादन गर्ने काममा मात्रै महिलाको सहभागिता हुन्छ । पैंसा र निर्णयबाट बिमुख गराइन्छन् ।’

‘सही हो’ अभियानले सिन्धुलीमा स्थानीय तहका प्रमुख र किसान महिलाहरूलाई एकै ठाउँमा राखेर गरेको कार्यक्रममा पनि किसान महिलाहरूले परम्परागत भूमिका नै आफूहरुको गतिशिलताको बाधक भएको प्रष्ट्याए ।

यसको समाधान के त ? संचार तथा पैरवी अधिकृत सुवेदीले भनिन्, ‘सरकारी तथा गैर सरकारी निकायले किसान लक्षित कार्यक्रम गर्दा किसान महिलालाई केन्द्र विन्दुमा राख्नुपर्छ । किसान सम्बन्धी के कस्ता कार्यक्रमहरू कहिले र कहाँ हुँदैछन् भन्ने सूचना पाउनुपर्छ । त्यस्ता कार्यक्रममा उनीहरूको अर्थपूर्ण सहभागिता हुनुपर्छ । अनिमात्रै किसान महिलाहरूले आफूले पालेका वस्तुभाउ र उब्जाएका बालीनाली बेचबिखन गर्दा आफैले निर्णय गरेर आफ्नो पनि स्वामित्व खोजी गर्छन् ।’

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: