बच्चैमा प्रेम, कच्चामै विहे : जीवनभरको सास्ती


प्रकाशित मिति :2018-11-27 13:50:12

–सुजता लामा–

सिन्धुली । भनिन्छ, विवाहपछि नयाँ जीवन सुरु हुन्छ । तर कमलामाई नगरपालिका २ भद्रकालीकी २० वर्षीया सुनिता तामाङको भने विवाहपछि जीवन नै सकियो ।

सुनिताले १९ वर्षमा अरुण तामाङसंग विवाह गरिन् । २०७३ सालमा भागी विवाह गरेकी सुनिता विहेलगतै गर्भवती भइन् । शिशु जन्माउन नसकेर उनको ज्यान गयो ।

शरीर परिपक्व नभई सुत्केरी हुँदा रगत धेरै बगेका कारण उनको ज्यान गएको डाक्टरको भनाइ छ । बिहे भएको १ वर्ष नहुँदै सुनिता सधैंको लागि बिदा भइन् । सुनितासँग जीवनभर खुसीका साथ जिउने सपना बुनेका अरुणको सपना पनि टुट्यो ।

कमलामाई नगरपालिका १४, चन्दपुरकी सरस्वती खड्कालाई भने श्रीमान्ले बीच मै साथ छोडे । नेपाल प्रहरीमा जागिरे उनका श्रीमान् परिवारको कुरा सुनेर उनीबाट टाढिए ।

श्रीमान् र घर परिवारको साथ नपाउँदा उनलाई अहिले जीवन चलाउनै मुस्किल परेको छ । यी सबै छिटै विवाह गर्नुको परिणाम रहेको उनको बुझाइ छ ।

बायाँबाट क्रमश सर्मिला, सरस्वती र मनिसा

सरस्वती कक्षा ११ मा पढ्दा १८ वर्षकी थिईन् । त्यहिबेला उनको मागी विवाह भएको हो । उनका एक छोरी र एक छोरा छन् । श्रीमान् घर आउन छोडे । घर व्यवहार चलाउन र छोराछोरीको पढाइ खर्च दिनु त परै जाओस् फोन गर्न समेत छोडेपछि उनी अहिले माइती नजिकै छुट्टै घर बनाएर बसेकी छिन् ।

आफ्नो र छोराछोरीको सम्पूर्ण जिम्मेवारी सरस्वतीकै काँधमा छ । ‘घर परिवारले कहिल्यै राम्रो गरेनन् । देख्यो कि टोकसो सुरु हुन्थ्यो । सानै भएकाले मैले पनि बुहारीको भूमिका पुरा गर्न जानिन । अनि परिवारको प्यारो हुन सकिन ।’ बिहेपछि श्रीमान्को साथमा सुखी र सुन्दर जीवन बिताउने सपना त्यसै तुहिएपछि दुःख लाग्ने गरेको उनले बताइन् ।

‘पढाई पुरा गर्न पाएको भए सानोतिनो जागिर गरेर घर व्यवहार टार्न र छोराछोरी पढाउन सहज हुने थियो’ सरस्वतीले थपिन्, ‘विवाह भएको १ वर्ष हुनै नपाई छोरी जन्मिई । अर्को वर्ष छोरा जन्मियो । छोरा छोरीलाई हुर्काउनु पर्ने बाध्यताले पढाइ पनि रोकियो ।’

सरस्वतीले अहिले माइतीको जग्गामा खेतीपाती गरेर छोराछोरी मुस्किलले पढाइरहेको बताइन् । कमलामाई नगरपालिका वडा नं. ४ देउरालीकी मनिसा लामिछाने श्रीमानले साथ छोडेपछि माइतीमै छिन् । उनी अहिले २१ वर्ष टेकिन् । मनिसाको विवाह ३ वर्ष अघि अर्थात् १७ वर्षमा भएको थियो ।

१० कक्षामा पढ्दा १८ वर्षका सञ्जय अधिकारीसँग भागी विवाह गरेकी मनिसाको वैवाहिक जीवन एक वर्ष पनि टिकेन ।

‘बच्पनमा गरेको माया परिवर्तन हुँदोरहेछ । विवाहको ६ महिना नबित्दै तसँग जिन्दगी काट्न सक्दिन । म अर्कै केटीलाई मन पराउँछु । यो घरबाट गइहाल भनेर झगडा गर्ने, पिट्ने गर्न थालेपछि घर छाडेँ’ मनिसाले सञ्जयसँग चाँडै सम्बन्ध टुट्नुको कारण सुनाइन् ।

दुई जनाबीचको सम्बन्ध सकियो । सञ्जय स्वतन्त्र भए । तर मनिसालाई थप जिम्मेवारी आईलाग्यो । सञ्जयको चिनो (हाल ३ वर्षको छोरा) को लालनपालन गर्ने । सुत्केरी भएको २१ दिनमै घर छोडेकी मनिसाले सञ्जयलाई त्यसपछि भेट्न समेत पाएकी छैन ।

धेरै पटक फोन गर्दा पनि सञ्जयको फोन नउठेपछि उनी सञ्जयको घर त गइन् । सञ्जयलाई भने भेट्न सकिनन् । सासूससुराका अनुसार एक वर्षदेखि घर आएका छैनन् । साथीहरूसँग भारत गयो रे भन्ने सुनिन्छ, तर कहाँ गए अत्तोपत्तो छैन । मनिसा अहिले माइतै बसेर छोरा हुर्काइरहेकी छिन् ।

‘श्रीमान्सँग सम्बन्ध बिग्रेर माइती बस्दा झन् समस्या हुँदोरहेछ,’ मनिसाले दुखेसो पोखिन्, ‘छरछिमेकले पनि फलानोको छोरी आफै बिहे गरेर गा’की, घर गर्न नसकेर माइत बस्छे भनेर कुरा काट्छन् । निकै चित्त दुख्छ । छिटै नै विवाह गरेकोमा धेरै पछुताउँछु । कसैलाई पनि छिटो बिहे नगर्नु भन्छु ।’

कमलामाई नगरपालिका ४, देउरालीकै सर्मिला तामाङलाई १६ वर्षकै उमेरमा घर परिवारले विवाह गरिदिए । सर्मिलाले १८ वर्षमा छोरा जन्माइन् । सानै उमेरमा आमा बन्दा उनकोे पाठेघर नै खस्यो ।

सुरुमा त श्रीमान् र घर परिवारले नराम्रो सोच्ने हुन् कि भन्ने डरले कसैलाई भनिनन् । झरेको पाठेघरले दिने दुःख र त्यसलाई लुकाउन वर्ष दिनसम्म गरेको प्रयास सम्झिदा बिरक्त लाग्छ उनलाई ।

उनले भनिन्, ‘पछि त धेरै समस्या हुन थाल्यो । अनि श्रीमाललाई समस्या सुनाएँ । श्रीमानले नै अस्पताल लगे । अस्पतालबाट थाहा भयो कि मेरो त पाठेघर खसेको रहेछ ।’

डाक्टरको सल्लाह अनुसार पाठेघर झर्न नदिनका लागि सर्मिलाको पाठेघरमा अहिले रिङ राखिएको छ । कमलामाई नगरपालिका ४ रायढीका कुमार थापा र पारु थापाले पनि सानै उमेरमा विवाह गरे । अहिले २० वर्षीय कुमार र पारु विवाह गर्दा १७ वर्षका थिए । कक्षा ११ मा पढ्दा उनीहरूले आफू खुसी विवाह गरेका हुन् । विवाहपछि दुवै जनाले पढाइ छोडे ।

कुमारले ठट्यौली पारामै गीत गुन्गुनाए, ‘बिहे गरेँ हतारै हतारमा, फूसदैमा लाग्छ पछुतो ।’

कुमार अहिले ज्यामी काम गर्छन् । पारु घरमा खान बनाउने, लुगा धुने, घाँस काट्ने, दाउरा जाने काम गर्छिन् । पारुलाई नयाँ–नयाँ डिजाइनका लुगा लगाउन, घुम्न मन पर्छ । तर बुहारी भएपछि उनले चाहे जस्तो लगाउन, घुम्न पाएकी छैनन् । कुमार पारुलाई खुसी पार्न त खोज्छन् । तर पुर्याउन सक्दैनन् ।

कुमार पढाई नसकी विवाह गरेकोमा निकै पछुताउँछन् । विवाहपछि पारुको समेत जिम्मेवारी थपिएकाले उनले पढाइलाई निरन्तरता दिन सकेनन् । उनी भन्छन्, ‘पढाई पुरा गरेको भए राम्रो जागिर पाउँथे । जागिर खाएर पारुका रहरहरू सजिलै पुरा गर्न सक्ने थिएँ । तर के गर्नु त्यति बेला बुद्धि बिग्रियो । अहिले पछुतो लाग्छ ।’

कुमारले ठट्यौली पारामै गीत गुन्गुनाए, ‘बिहे गरेँ हतारै हतारमा, फूसदैमा लाग्छ पछुतो ।’

सानै उमेरमा विवाह गरेकोमा कुमारलाई मात्र हैन पारुलाई समेत पछुतो लागेको छ । ‘आफ्नो र राम्रो कमाई भए लाउन खान मन लागेको कुरा किन्न समस्या हुन्नथ्यो । श्रीमान्को कमाईले मात्रै न अभाव टर्छ, न समस्या समाधान हुन्छ ।’

यी त प्रतिनिधि पात्र मात्रै हुन् । पढ्ने, लेख्ने र अभिभावकको संरक्षणमा हुर्किनुपर्ने उमेरमा विहे गरेका अधिकांश जोडी खुसी छैनन् । कोही शारीरिक रुपमा त कोही मानसिक रुपमा विक्षिप्त छन् । धेरैको सम्बन्ध त वर्षदिन ६ महिना नहुँदै टुट्छ ।

बढ्दैछन् किशाेरी अामा

जिल्ला अस्पताल सिन्धुलीको तथ्याङ्कमा पनि जिल्लामा किशोरी आमा बन्ने क्रम बढ्दो देखिन्छ । अस्पतालको तथ्याङ्क अनुसार गत बैशाखदेखि कात्तिक महिनासम्म ७ महिनाको अवधिमा १ सय १४ जना १६ वर्षदेखि २० वर्ष मूनिका किशोरीले प्रसूति सेवा लिएका छन् ।

नेपालको कानूनले २० वर्ष नपुगी विवाह गर्न नपाइने भने पनि जिल्लामा २० वर्षमुनी आमा बन्नेहरू अत्यधिक मात्रामा रहेको अस्पतालको तथ्याङ्कबाट प्रष्ट हुन्छ । यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो ।

सिन्धुलीमा झण्डै ३० वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती संस्थाहरूको तथ्यांकलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरूको तथ्यांक भयावह रहेको अस्पताले जनाएको छ ।

जिल्ला अस्पताल सिन्धुलीकी प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुमित्रा गौतम छिट्टै विवाह गर्दा शारीरिक रुपमा निकै नै समस्या आइपर्ने बताउँछिन् । डाक्टर गौतमका अनुसार २० वर्ष भन्दा अगाडि महिलाको शरीर पूर्ण रुपले विकास भइसकेको हुँदैन । जसले गर्दा शारीरिक रुपमा विभिन्न समस्याहरू आउँछन् ।

अझ २० वर्ष भन्दा अगाडि आमा त बन्नै नहुने उनी बताउँछिन् । २० वर्ष भन्दा अघि गर्भवती भए आमा र शिशु दुबैको ज्यान समेत जान सक्ने खतरा रहेको डाक्टर गौतमले बताइन् ।

गौतमका अनुसार कलिलो उमेरमा सुत्केरी हुँदा साल अड्किने, रगत धेरै बग्ने खतरा हुन्छ । प्रजनन् अङ्ग र पाठेघरको पूर्ण रुपमा विकास भइ नसक्ने भएकाले कम उमेरमा आमा बन्दा पाठेघरलाई अड्याइ राख्ने मांसपेशी कमजोर भई कतिपयको पाठेघर नै झर्ने गरेको उनले बताइन् । विवाह २० वर्ष भन्दा पछि मात्रै गर्न डाक्टर गौतमको सुझाव छ ।

२०७५ भदौ १ गतेबाट जारी भएको मुलुकी संहितामा पनि २० वर्ष पछि मात्र विवाह गर्न सकिने उल्लेख गरेको कानून व्यवसायी नारायण बरालले बताए ।

मुलुकी संहिता अन्तर्गत देवानी संहितामा केटाकेटी दुबैले २० वर्ष नपुगी विवाह गर्न नपाउने उल्लेख गरेको छ । यदि विवाह भएमा स्वतः बदर हुन्छ ।

यदि कसैले २० वर्ष भन्दा अगाडि आफू खुसी विवाह गर्छ वा घर परिवारले नै विवाह गरिदिन्छ भने केटाकेटी र विवाह गरिदिने अभिभावक दुवैैलाई ३ वर्षको कैद र २० हजार रुपैयाँ जरिबानाको व्यवस्था रहेको उनको भनाइ छ ।

बाल विवाह न्यूनिकरणका लागि जिल्लास्थित सरोकारवालाहरूले विभिन्न कार्यक्रम गरिरहेको बताएका छन् । तर पनि जिल्लामा बाल विवाह भने बढेको बढ्यै छ छ ।

बालविवाह बढ्नुको प्रमुख कारण असुरक्षा, बलात्कार र जनचेतनाको अभाव रहेको महिला अधिकारकर्मी सबिता कोइराला बताउँछिन् । बढ्दो बलात्कारका कारण छोरीहरूको असुरक्षाको डरले छिट्टै नै विवाह गरे उसलाई श्रीमान्ले संरक्षण गर्छ भन्ने सोचाइले गर्दा बाल विवाह भइरहेको उनको बुझाइ छ ।

छोरी कोमल अनि कमजोर हुन्छन् । उनीहरूलाई पुरुषको साथ चाहिन्छ । बाबु, दाजुभाई अनि श्रीमान्को सहयोगमा मात्रै अघि बढ्न सक्छन् भन्ने गलत सन्देश दिन अब बन्द गर्नुपर्छ ।

प्रेममा परेर भागी विवाह गर्न सक्ने डरले पनि अभिभावकहरूले छिटै नै विवाह गरिदिने उनले बताइन् । जनचेतनाको अभावमा यी सबै कुराहरु भइरहेको उनी बताउँछिन् । त्यस्तै पुरुषवादी चिन्तनलाई मलजल गर्ने खालका गीत, संगित र साहित्यले पनि छोरी मान्छेलाई हिन भावना पाल्न र आत्मबल कमजोर बनाउन सघाइरहेको कोइरालाको बुझाइ छ ।

छोरी कोमल अनि कमजोर हुन्छन् । उनीहरूलाई पुरुषको साथ चाहिन्छ । बाबु, दाजुभाई अनि श्रीमान्को सहयोगमा मात्रै अघि बढ्न सक्छन् भन्ने गलत सन्देश दिन अब बन्द गर्नुपर्नेमा उनले जोड दिइन् । यस्ता सन्देशले बाल मनोविज्ञानमा असर गर्ने उनले बताईन् ।

उनले बालविवाह रोक्न विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम गर्नु आवश्यक रहेको उनले पनि बताईन् । उनले थपिन्, ‘किशोरीहरूलाई क्बलको नेतृत्वमा बाल विवाह गर्दाका बेफाइदाबारे सचेतनामूलक कार्यक्रम गर्नुपर्छ । यसका लागि स्थानीय सरकारले प्रमुख भूमिका खेल्नुपर्छ । यसो गरे सानै उमेरमा बिहे गरेर जीवनभर सास्ती पाउने काम रोकिन्थ्यो कि !’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: