बजारिया अर्थतन्त्र र महिला नेतृत्व


प्रकाशित मिति :2018-12-07 11:05:36

अमेरिकन सोसियोजिकल एशोशियन–२०१८ को वार्षिक बैठकमा सहभागी हुन पेन्सलभानिया राज्यको फिलाडेल्फिया सहर जाँदै थिएँ । मलाई लिनका लागि भर्मन्ट राज्यबाट मित्र रब एम. विलियम आएका थिए । तीन दशकदेखि समाजशास्त्र अध्यापन गराईरहेका उनी, नेपालबारे जान्न उत्सुक देखिन्थे ।

पाँच घण्टाको यात्रामा अमेरिकन र नेपाली समाजका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक पक्ष बारेमा थुप्रै चर्चा भए । लैंगिक, क्षेत्रीय, जातीय, धार्मिक, तथा भाषिक हिसाबमा नेपाली समाज अहिले कस्तो छ भन्ने जिज्ञासाले साँच्चै असहज र गम्भीर बनायो । यो प्रश्न आकारका हिसाबले ठूलो नभएपनि तौलका हिसाबले गह्रुँगो थियो । यसले नेपालभित्र पत्र–पत्र गरेर थिचिएका र बेवास्ता गरिएका धेरै यथार्थलाई केलाउनुपर्ने बनायो ।

गहिरिएर नसोच्ने हो भने हाम्रा धेरै कुरा बदलिए । छोराछोरी सबै विद्यालय जाने भएका छन् । सबैले नोकरी, पेशा वा व्यवसाय गर्ने अवस्था बनेको छ । पहिरनदेखि आचरणसम्म फेरिएका छन् । सहर वा गाउँ सबैतिर महिला वा पुरुष भएका कारणले हुने विभेद झट्ट देखिंदैनन् । छोरीहरू आफ्नो आर्जन खर्चन सक्ने बनेका छन् । तर छोरीले गर्ने आर्जनको आकार, आर्जनका लागि निर्वाह गर्ने भूमिका, र त्यो भूमिकाले खडा गर्ने नेतृत्वको अवस्था सोचेजस्तो देखिँदैन ।

हाम्रा कैयन यथार्थ यस्ता छन् । जो राजनीतिक र आर्थिक अभ्याससँगै बदलिएनन् । बदल्न चाहेनौं, सकेनौं । जे हुनैपर्ने थियो, भएन । जो लैंगिक सवालमा अस्वीकार्य छन् । यत्रतत्र देखिने गरी परिवर्तन भएका छन् । जे भईरहेछ, सहि छन् भन्ने लाग्छ । तापनि, महिलालाई अर्थतन्त्रको केन्द्रसम्म पुर्याउन सक्ने खालका सोचेजस्तो परिवर्तन भएका छैनन् । व्यापार, व्यवसाय, उद्योग, विद्यालय वा विश्वविद्यालय; सबैतिर महिलाको नेतृत्व किन पछि छ ?

परिवारको बनोट र सम्बन्ध, राज्यको चरित्र र संरचना, बजारमा किनिने र बेचिने वस्तु र तिनको उपयोगिता कति दोषी वा जिम्मेवार छन् । यसबारे कति बहस गर्यौं ? महिला र नेतृत्वको सवालमा यी कुरा कसरी जोडिन्छन् ? भन्ने जिज्ञासाको अन्तरसम्बन्ध केलाउन जरुरी छ ।

मूल कुरा

राज्य र राजनीति समाजमा प्रमुख रहन्छन् । तथापि, अर्थतन्त्रको संरचना र चरित्रले बनाएका सम्बन्ध, महिला नेतृत्वको सवालमा ज्यादा मानक वा जिम्मेवार हुन्छन् । लैंगिक हिसाबमा हुने आर्थिक सम्बन्धमा बदलाव नआएकाले, आर्थिक क्षेत्रमा महिलाहरू फस्टाउन सकेनन् भन्न सकिन्छ ।

यसो भनिरहँदा, पुरुष प्रधान आर्थिक सम्बन्ध (मुख्यतःबजार) लाई बनिबनाउ र बचाईराख्ने, आर्थिक संरचना र चरित्रलाई परिवार, राजनीति, संस्कृतिसँग जोडेर बुझ्नु जरुरी छ । जसलाई अहिले किन्ने बेच्ने ठाउँ भनेर बुझिन्छ । राम्रो विद्यालय वा विश्वविद्यालय पढ्नुको सिधा मतलब, राम्रो जागिर दिने राम्रो संस्थामा (बजारमा) नोकरी गर्नु हो । त्यो भन्दा फरक सोच्नेले, आवश्यक ज्ञान र सीप आर्जन गरेर, आफ्नो राम्रो व्यवसाय (बजारमा) गर्नुहोला । जे हुन्छन्, आर्थिक समृद्धि हुँदै सामाजिक र सांस्कृतिक उन्नति गर्नु नै हो । यी नेतृत्वकै लागि अपरिहार्य हुन्छ ।

परिवारले कति उन्नति गर्यो भनेर जाँच्न, उसले बजारमा बेच्न राखिएका वस्तु वा सेवा, कति किन्न वा उपभोग गर्नसक्यो भनेर जान्नुपर्ने भएको छ । बजारमा कसले (महिला वा पुरुष) कति खर्च गर्यो भन्ने कुराले महिला वा पुरुष कति उन्नत र समृद्ध छन् भन्ने देखाउँछ । उन्नति र समृद्धिको जगमा टेकेर नै महिला नेतृत्व तयार गर्दै जाने हो ।

उन्नति वा समृद्धि, त्यतिमा सीमित छैन । आर्थिक र सामाजिक स्तर कति र कस्तो रुपमा बदलियो भन्ने कुरा सँग–सँगै जोडिएर आउँछन् । कुन पेशा वा व्यवसायको कस्तो खालको जिम्मेवारी, त्यसबापतको आर्जन कति छ भन्ने कुरा, उन्नतिको मुख्य मानक हो । उदार आर्थिक सिद्धान्त र अभ्यासले चलेको राज्यमा, फरक लैंगिक पहिचान हुनुले यसलाई असर र छेक्ने काम गर्दैन र हुनुहुँदैन । तर, हामी कहाँ किन त्यस्तो हुन सकेन ? बजारमा नै लैंगिक विभेदका अक्षम्य अभ्यास भईरहेका छन् । यो ख्याल–ख्यालमा नै विभेद जन्माउने स्थान जस्तो देखिदैछ ।

अबको महिला नेतृत्व वा समृद्धिको मापनलाई चलनचल्तीको विश्लेषणले धान्न सक्दैन । राजनीति वा पैतृक स्वामित्वको चस्माबाट गरिने आलोचना वा समर्थनबाट निकाल्न जरुरी छ । पैतृक स्वामित्व अबको बजारमा काम लाग्दैन । बजारमा त सीप, क्षमता, योग्यता र विभिन्न हिसाबबाट लगानी गर्नसक्ने काममा आउँछ ।

बजार, लैंगिक यथार्थ र नेतृत्वसँग जोडिएर आउनु पर्दछ । अर्थात्, बजार र लैंगिकतालाई अलग गरेर, समाजका विभिन्न प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक क्षेत्रमा भएका यथार्थ बुझ्न सकिन्न । जे भएका छन्, बजारले गर्दा भएका छन् । जे भएनन्, बजारले गर्दा हुन सकेन भन्ने प्रस्तावनाबाट मात्रै आर्थिक क्षेत्रको चुचुरोमा पुग्नबाट रोकिएका महिला र तीनका कारणबारे थाहा लाग्छ ।

बुझाईको सीमा

नेतृत्व, पद वा जिम्मेवारी मात्र होईन । यो हरेक संघ–संस्था र संगठनको बनावट बदल्नसक्ने र बनोटको ढाँचा कोर्नसक्ने, स्वतन्त्र र पहुँचवाला व्यक्तित्व (महिला वा पुरुष)को सकृय सहभागिता पनि हो । चाहे त्यो राजनीति, अर्थतन्त्र, समाज वा संस्कृति जे होस् । यसको वरपर र भित्र उभिएका संस्थामा बदलाव ल्याउन सक्नु साँचो नेतृत्व हो ।

तथ्य र तथ्यांकलाई आर्थिक तथा सामाजिक–साँकृतिक चालचलन र चरित्रसँग जोडेर हेर्दा मात्र विभेदमा उभिएको नेतृत्व देखिन्छ । जसले घटनाको व्याख्या मात्रको जोेखिमलाई कम गर्दै यथार्थ कारण पहिल्याउन सहयोग गर्दछ । सहकारी संस्थाको सञ्चालक समितिको प्रमुख वा कार्यालय प्रवन्धकमा महिला छ/छैन भन्दा पनि, नीति तथा कार्यक्रम बनाउन प्रबन्धक वा संस्थाको प्रमुखको रुपमा महिला, स्वतन्त्र र सक्षम छ/छैन भन्ने मुख्य हो ।

महिलाले आर्थिक क्षेत्रमा नेतृत्व लिनबाट पछि परेको कुरा, हिजोका अभ्यास र त्यसको सन्दर्भमा, आज बन्दै गरेको चलनहरू निर्धारक हुन्छन् । हिजो कुन कुरा कस्तो थियो भन्ने नबुझी, आज किन यस्तो छ, यकिन भन्न गाह्रो हुन्छ । जसले हिजो भए वा गरेका कुराहरूको निरन्तरता वा बदलावले आजको के भयो वा भएन भनेर बुझाउँछ । आजको सजिलो र अप्ठ्यारोलाई देखाइदिन्छ ।

बजारको कुरा

बजार भनेका घर वरपरका दोकान मात्र होईनन् । हाम्रो सीप, योग्यता, लगानी क्षमतालाई बेच्ने ठाउँ हो । यसले हाम्रो सोच विचार र व्यवहारलाई बनाउँछ, निर्देशन गर्छ । घरपरिवार बजारतिर छिर्दा, लैंगिकता पनि सँग–सँगै छिर्यो । साहुजी पुरुष, उनका सहयोगी महिला । ठूला सपिङ सेन्टरका मुख्य कार्यकारी अधिकृत पुरुष, काउन्टरमा खटिने महिला । बैकमा त्यस्तै– कारोबारको अन्तिम निर्णय गर्ने पुरुष, त्यसका लागि जरुरी कागजात तयार गरिदिने महिला । यस्तो किन हुन्छ र अद्यापि किन भईरहेछन् ? यो प्रश्नको उत्तर खोज्न, यी प्रतिनिधि उदाहरण सहि हुन् ।

बजारले नै पुरुष नेतृत्व (सत्ता) बनाउन सघाईरहेछ । जसले महिलालाई पछि पार्ने नै भयो । सन् १९९० को वरपर, परिवारका कमाई गर्ने, वा पढेर कमाउन योग्य बन्ने सपना लिएका युवापुरुष, पढ्न सहर पसे । सहरमा खुम्चिएको बजार, बेच्ने थुप्रै सामान बोकेर बिस्तारै गाउँ पस्दै गयो । गाउँको आफैमा कमाउन विकल्प थिएन । गाउँमा रहने महिलाको संख्या बिस्तारै बढ्दै गयो । अर्थात्, कमाउन र पढ्न गाउँ छोड्ने पुरुषको संख्या बढ्दै जाँदा, गाउँमा बस्ने निर्भर महिला बढ्दै गए । बेच्ने कुरा चिन्न भ्याईनसकेको गाउँ, किन्नका लागि चाहिने रुपैयाँ–पैसाका लागि सहरमा नोकरी, धन्दा, व्यापार गर्र्ने पुरुषमा निर्भर हुँदै गयो ।

आजसम्म यो चक्रले रुप फेरे पनि चरित्रमा उस्तै गति कायम राखेको छ । गाउँँका पुरुष परिवार लिएर सहर पसे । आफू नोकरी, धन्दा वा व्यापारतिर लागे । धेरैजसो महिला हुँदा गर्दाको कृषिलाई छोडेर, पति, पिता वा दाजुभाईको पछि लागेर सहर पसे । सहरभित्रको बजारलाई चाहिने योग्यता, दक्षता वा सीप नहुँदा, पुरुषमाथिको आर्थिक परनिर्भरता झनै बढ्दै गयो । यसले सहर छिरेका महिलाको घर वा डेरा कुर्ने र स्याहार्ने जिम्मा भागमा परिरह्यो । यो क्रम लैंगिकता– महिला वा पुरुषको सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थ पहिचान र स्वीकार भईसक्दाको लामो समयसम्म कायम छ ।

पिँधको दृष्य

सामान्य लाग्ने, एउटा अनुभवलाई जोडौं । गतवर्ष, राजधानीको एउटा कार्यशाला गोष्ठीमा एकजना बहिनीसँग कुरा गर्ने मौका मिलेको थियो । काठमाडौंबासी पाल्पाली आमाबुबाका सन्तान, उनको लक्ष्य नै सक्षम र प्रतिष्ठित बैंकर बन्नु थियो । पढाईको कुरा सुन्न सँधै तयार हुने बुबाले बिहेबारे उनको निर्णय सुनेनन् । पढाई नसकिँदै, बिहे भयो ।

उनको लक्ष्य, एउटा पुरुषबाट (बुबा) अर्को पुरुषको (श्रीमान) तजबिजमा सर्यो । सासूससुराको मान राख्न आमा बनेपछि उनको पढाईलाई घरायसी धन्दा र बच्चा हुर्काउनुपर्ने दायित्वले धकेल्यो । श्रीमानले उनलाई सुखी राख्न, काम गर्न दिएनन् । यस्तै चक्र र चर्चाले उनको पाँच वर्ष पढाइ बिना बिते । अहिलेसम्म आईपुग्दा, सँगैका सहपाठी (धेरै पुरुष) प्रतिष्ठित बैंकको शाखा प्रबन्धक भईसकेका छन् ।

बजारमा जागिर दिने हाकिम, दोकान भाडामा दिने घर मालिक पुरुष, रोजगार खडा गर्ने ठूला उद्योगपति वा व्यवसायी पुरुष, आदी । सबैतिर पुरुष नै छन् । परिवारले उपभोग गर्छ भन्ने मान्यता र अभ्यासले नै बजार जन्मायो ।

यसलाई मुल विषयसँग जोडेर चर्चा गरौं । विवाह, परिवार र समाजको कारण उस्तैखालको समस्या पुरुषले व्यहोरका घटना धेरै कम छन् । किन त ? पारिवारिक तथा बजारिया सत्ता पुरुष प्रधान छ । पुरुष सत्तामा पुरुषका विचार र सोच प्रधान हुने नै भयो । अर्थात् महिलाका कुरा नसुनिनु स्वभाविक हुन आउँछ । परिवारको आर्थिक चक्रको मुख्य केन्द्र पुरुष भएको परिवार, हामीकहाँ धेरै छन् । पुस्तौंदेखिको पितृसत्तात्मक स्वामित्व हस्तान्तरण संस्थागत अभ्यास र बजारमा संस्थागत भईसकेका पुरुषप्रधान आर्य आर्जनका क्षेत्र आदिले अद्यापि महिलाको आर्थिक निर्भरता उस्तै छ ।

आर्थिक स्वतन्त्रता स्थापित भईसकेको छैन । सहरमा साना–ठूला रोजगारी वा अन्य काम गर्ने महिलाले गरेका आर्जन आर्थिक स्वतन्त्रताको मानक होईन । यसले त महिलाका आफ्ना आधारभूत आवश्यकता मात्र पुरा गरेका छन् । जो घर, पेशा वा अन्य ठाउँमा निर्णायक बन्न सघाउने खालको छैन । वित्तीय योजना बनाउने गरी आर्जन गर्ने ठाउँमा महिला उपस्थिती कमजोर छ ।

पक्षपाती परिवार ?

परिवार नै अनुदार छ । सन्तानको शिक्षा र सामाजिकरणमा नै परिवारले भुल गरिरहेकै छ । आवश्यक सीप र शिक्षा तथा अवसरले नेतृत्व जन्माउने हो । यो थोरै हिस्सा ओगट्ने सहरीया संभ्रान्त परिवारको कुरा नभएर मध्यम वर्गीय परिवारको कुरा हो । विपन्न परिवारको हकमा त यो धेरै पछाडि छ । छोरा र छोरीको विद्यालय एउटै नगर्ने आमाबुवा सहरमा नै सहरमा अद्यापी उल्लेख्य छन् ।

छोराले परिवारबाट पाउने शैक्षिक परामर्श र विषय छनौटको स्वतन्त्रता छोरीसम्म पुगिसकेको छैन । व्यक्ति (महिला)को सवालमा परिवार यस्तो संस्था हो । जहाँ दिगो हिसाबमा राज्य, बजार व्यक्ति र अरु थुप्रै कुरा ठोक्किन पुग्छन् । परिवार बजार र महिला बीचको पुल हो ।

बहुल परिवार जान्दछ, अहिले जस्तो आय–आर्जन र पेशा चलनमा छ । त्यसमा महिला (छोरी, दिदीबहिनी वा श्रीमती)लाई अघि सार्दा परिवारले आर्थिक पहुँच र अवसर अझ आर्थिक सुरक्षा गुमाउँछ । छोरीले परिवारलाई सुरक्षा दिनसक्छ भन्ने सांस्कृतिक मान्यता उस्तै हुँदा यो मान्यता सहि जस्तो लाग्छ । तथापी हाम्रो बजारले परिवारको आर्थिक सुरक्षाका लागि खटिने उपभोक्तालाई सहि मान्दैन । उपभोगका हिसाबले स्वतन्त्र निर्णय गर्नसक्ने उपभोक्ता (खरिददार) उसको छनौटमा पर्दछ । यो कुरा थोरै परिवारले बुझेको छ ।

यहि संस्थागत संस्कृतिबाट गएका पुरुष परिवारको बजारमा हालीमुहाली छ । बजारमा जागिर दिने हाकिम, दोकान भाडामा दिने घर मालिक पुरुष, रोजगार खडा गर्ने ठूला उद्योगपति वा व्यवसायी पुरुष, आदी । सबैतिर पुरुष नै छन् । परिवारले उपभोग गर्छ भन्ने मान्यता र अभ्यासले नै बजार जन्मायो ।

जब बजार नै पुरुष सत्ताको अधिनमा छ भने त्यसमा महिलाको खटन (नेतृत्व) नचल्ने नै भयो । तर, परिवारले छोरी (महिला)लाई बजारमा उभिन सक्ने, निणय दिन र कार्यान्वयन गर्न र गराउन सक्ने गरी अघि सार्न सकेन, चाहेन । अहिले बजारमा कमाई गरेर बजारमा खर्च गर्ने आर्थिक गतिविधी निर्विकल्प बनेको छ । बजारमा कमाई गर्ने पुरुष मात्र भएपछि, परिवारमा यसले पुरुष सत्तालाई अझ बलियो बनाएको छ । पारिवारिक पुरुष सत्ताले प्रारम्भिक महिला नेतृत्व जन्मने वा विकास हुने बाटो छेकेको छ ।

दलको खटन

नेतृत्व भन्नाले राजनीतिक दलका नेताले गर्ने दलीय गतिविधी हो भन्ने छ । यसो हुनुमा दलीय राजनीतिले गाँजेका हाम्रा सामाजिक सेवाका क्षेत्र, औद्योगिक वा कृषिका उत्पादन र वितरणका प्रणाली, बजार र व्यवसायिक क्रियाकलाप आदि धेरै दोषी छ । जसले नेतृत्वको अवधारणा, दल बाहिर विकास र वितरण हुन दिएन । अन्य नेतृत्वलाई फिक्का बनाईदियो ।

राजनीतिक दलले दलबाहिर कसरी असर गर्छ भन्नु ठिकै हो । गम्भीर भएर नसोच्दा, हो पनि । तर, उदारवादी बजारमा हुने आर्थिक क्षमता र राजनीतिक दलको सम्बन्ध तथा हिजोदेखिको लैंगिक संरचना र चरित्रले पुरुष बढि सक्षम र नेतृत्व लिन दलको सहयोग समर्थन लिने सवालमा धेरै अगाडि छन् ।

आर्थिक क्रियाकलापभित्रको महिला नेतृत्वलाई अतिसमर्थन या अतिविरोधले तौलँदा, समस्याको व्याख्या मात्र भयो । बदलाव रोक्ने कारण खोतल्न सकिएन । दल र यसको विभिन्न तहका नेतासँग हिजो वा आजका अलग क्षेत्रमा विकसित पुरुष नेतृत्वको विश्लेषण भएन ।

पुस्तैनी आर्थिक बदलाव

आर्थिक बदलावको श्रृंखलालाई नहेरी आर्थिक नेतृत्वको चर्चा गर्नु सहि होइन । परम्रागत कृषिले चल्ने हाम्रो परिवारलाई अहिले बजारले चलाएको छ । खेतबारी हाँक्ने छोराले खेती छोडे पनि बजार हाँक्ने अवसर पाएकै छ । छोरा बजार तिर पस्दा, छोरी घरमा छुटेको कुरा विशेष हुन सकिरहेको छैेन । कमाउने जिम्मा छोरा मात्रको भनिरहँदा, नोकरी, पेशा, व्यवसाय हुँदै बजार हाँक्ने छोरी बन्ने–बनाउने कुरा पछि पर्दै गयो । आर्थिक निर्णय, योजना र अभ्यासलाई छोरीको बीचमा आउनै दिइएन, दिईरहेको छैन । जसले अर्थतन्त्र भित्र महिलालाई निर्भर बनाईरहेको छ ।

लैंगिक सवाल, सन्तान जन्माउनुको आर्थिक कारणलाई विश्लेषण गरौं । सन्तान जन्माउनु रहर वा दम्पतिको जैविक प्रजनन क्षमता जाँच्ने कारक मात्र नभएर यो सामाजिक हैसियत र प्रतिष्ठाको कुरा थियो । खेतीपाती गर्न श्रम आपूर्तिको भरपर्दे श्रोत नै परिवार र सन्तान भएकाले सन्तान त्यसमा पनि नयाँ सन्तानको रेखदेख गनुपर्ने खासगरी काबिल कारणले महिलालाई घरदेखि पर जान नसक्ने हुँदा छोरा, लोग्ने वा श्रीमानहरू महत्वपूर्ण हुने नै भए ।

खेतीपाती परिवारको मुख्य आर्थिक आधार हुनु र त्यसले छोराहरूको शारीरिक, मानसिक उपस्थिती र रणनीतिलाई निखार्दै लैंजाँदा, घरपरिवार नेतृत्व पनि छोराको हातमा पुग्यो । बिस्तारै जीवन चलाउने आर्थिक आधार घरबाट बजार तिर, खेतबारीबाट उद्योगतिर सर्यो । छोरा जातीको (पुरुष)को सक्रियता, पहुँच पनि त्यतातिर सर्दै गयो । यो सबैले देखे बुझेको कुरा भए । यो सामजिक र आर्थिक प्रकृयामा महिला छुट्दा अहिले भएका प्रयासहरूले अपेक्षित परिणाम दिन सकेनन् ।

परिवार र बजारको कुरा महत्वपूर्ण किन छ भने, बजार, कृषिबाट निस्कदै गरेको परिवारको एकमात्र गन्तव्य हो । रोजगारी वा पेशा व्यापार, किन जान्छ, यो अलग भयो । तर, यसले कृषि गर्दाको परिवारको जस्तै परिवारको चलनलाई झण्डै उस्तै छिराएको छ । घरधन्दा चलाउने महिलाको भूमिका दोकान चलाउने भएर फेरिएको छ । तथापी, दोकानमा कुन सामान बिक्छ, आवश्यक छ भन्ने निर्णय पति, पिता वा दाजुभाईले निर्धारण गर्दछ । अहिले पनि हाम्रो आर्थिक बुझाई हिजोको जस्तै छ, पुरुषवादी । आर्थिक कृयाकलापको केन्द्रमा महिला थोरै कम पुगेका छन् ।

प्रष्ट देखिने कुरा, राज्यले ऐन–कानुन बनाएर लागु गरेको छ । तर, यी सबै परिवार, बजारको तलसम्म पुगेका छैनन् । त्रुटीपूर्ण आर्थिक चलन र सांस्कृतिक अभ्यासलाई अन्त्य गर्न सकेन । राज्य सतहमा मात्र देखियो । बजारभित्र रहेका थुप्रै पक्ष जसले महिला नेतृत्वलाई निर्धारण र विकसित गर्दछ ।

अन्त्यमा

आर्थिक नेतृत्व स्थापित नभई, समाज वा राजनीति, अन्य कुनैपनि क्षेत्रमा नेतृत्वमा पुग्न सकिन्छ भन्ने हुँदैन । आर्थिक स्रोतको रुप र चरित्र बदलिएर बजार सबैथोक बनेको छ । यस्तो यथार्थको तल परेर नेतृत्व विकास गर्ने कुरा यसभित्र भएका नेतृत्व सम्भावनाका क्षेत्र र त्यसका चुनौतीलाई मसिनो गरी विश्लेषण गर्नु आवश्यक छ ।

(लेखक गुरुङ समाजशास्त्री हुन् ।)

email: [email protected]

(लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा संचारिका समूह र ‘सही हो’ अभियानको सहकार्य ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: