–कृष्णमाया उपाध्याय–
जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार दुई छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ कि झनमाया रोकाया घर निकाला भएकी हुन् ।
२६ वर्षीया झनमायाले ६ महिनाको गर्भवती अवस्थामा श्रीमान गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् ।
श्रीमानले घरबाट निकालेपछि माइतीसँग बस्दै आएकी उनले यही पुस ३ गते तेस्रो सन्तानमा रुपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अपे्रसनबाट जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा सुको नहुँदा उपचारमा समस्या भएको बताइएको छ ।
झनमायाकी दुईटै छोरी मावलीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् ।
झनमायाका माइती पक्ष पनि आर्थिक रुपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ ।
अस्पतालले रेफर गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताइन् ।
सानै उमेरमा बिहे गरेकी उनले ६ सन्तान जन्माएको र तीनटा मात्रै जीवित रहेको दुखेसो गरिन् ।
पहिलो सन्तान छोरी जन्मदा मरेको जन्मेको र त्यसपछि गर्भवती हुँदा गर्भ परीक्षण गर्दा छोरी देखिएपछि २ छोरी श्रीमानको दबाबमा गर्भपतन समेत गरेको उनको भनाइ छ ।
‘पटक पटक छोरी जन्माएपछि निकै दुःख पाएँ’ झनमायाले भनिन्, ‘श्रीमान आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन् । आफ्नो कोही भएनन् ।’
गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि बुढा बुवाको सहारामा अस्पताल पुगेकी उनले जन्मदै छोरी रोगी जन्मिएपछि झन पीडा थपिएको बताइन् ।
कसैले सहयोग पाए छोरीलाइ हेपटाइटिस बी को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिती रहेको उनले बताइन् ।
छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान भने कहाँ छन् भन्ने पत्तोसम्म नभएको झनमायाले बताइन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनकी छोरीको उपचारका लागी अन्य निकायसँग समन्वय गरेर बाहिरबाट खोप मगाएर भए पनि उपचार गर्न सहयोग गर्ने आश्वासन दिएको छ ।
अस्पतालका रजिष्टार विश्वराज काफ्लेले अति विपन्न वर्गका मान्छेलाई अस्पतालले सहयोग गर्ने गरेको भन्दै नवजात शिशुलाई हेपाटाइटिस बी को खोप लगाउन पहल गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पनि श्रीमती छोडेर भागेका श्रीमानको खोजीको लागि पहल गर्ने बताएका छन् ।
अस्पतालमै रहेकी झनमाया र छोरीको उपचारका लागी अस्पतालसँग समन्वय गरेर अगाडि बढ्ने प्रजिअ पौडेलले बताए ।
Comment Here!