-धनराज अबिरल-
कैलाली । कैलालीको लम्की चुहा नगरपालिका ६ चैनपुरका महिलाहरूले महिनावारी भएको बेला बस्ने छाउ गोठ भत्काएका छन् । छाउ गोठमा महिलाहरू असुरक्षित हुने भन्दै महिलाहरूले आफू बस्ने छाउ गोठ आफै भन्काएका हुन् ।
महिनावारी हुँदा छाउ गोठमा बस्नेलाई राज्यले कानून लगाएर कार्वाही गर्ने कुरा थाहा पाएपछि छाउ गोठ भन्काएको उनीहरूले बताए ।
पुस ३ गते चैनपुरमा भएको खेलकुद कार्यक्रमको उद्घाटन गर्दै लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाँइले नगरपालिकाले छाउ प्रथा न्युनीकरण गर्न अभियान संचालन गर्ने भन्दै छाउ गोठ भत्काउनेलाई पुरस्कार र सम्मान गर्ने बताएपछि चैनपुरका महिलाहरूले छाउ गोठ भत्काएको बताएका छन् ।
लम्की चुहा नगरपालिका ६ चैनपुरकी २३ वर्षीया सृजना बिकले छाउ गोठमा बस्नु गलत भएको महसुस भएपछि यसको अन्त्यको लागि आफूले बस्दै आएको छाउ गोठ भत्काएको बताईन् ।
सासू, ससुरा र श्रीमानको सहयोगमा छाउगोठ भत्काउन सफल भएको बताउँदै उनले भनिन्, ‘गाउँका करिब १५ जना महिलाहरू मेरै घरमा बनेको छाउ गोठमा बस्दै आएका छन् । हामी छाउ गोठमा बस्ने महिलाहरूले नै छाउ गोठ भत्काएका हौं ।’ अब छाउगोठ नै नभएपछि महिलाहरू बाध्यताले घरमा बस्ने अवस्था आएको उनले बताइन् । भनिन्, ‘छाउ गोठ नै नभएपछि कहाँ बस्ने त ? घरमा बस्ने बाटो खुलेको छ ।’
सृजनाकी सासू ४३ वर्षीया धनसरा बिकले भनिन्, ‘बुहारीले पहिले नै गोठमा नबसौं भनेकी थिईन् । हामीले बुहारीको कुरा सुनेनौं । मेयर सा’बले छाउ गोठमा बस्नु अपराध भन्नु भो । चित्त बुझ्यो । आज गोठ भत्काएका हौं ।’
सृजनाकी छिमेकी संगिता बिकले सृजनाको हिम्मतमा आफूले पनि साथ दिएको बताइन् । अहिलेसम्म महिनावारी हुँदखा गोठमै बस्दै आएकी उनले अब गोठ नभएको बहानामा घरमा बस्न थाल्ने बताइन् ।
स्थानीय चन्द्रा विकले पनि अबदेखि महिनावारीको बेला घरमै बस्ने प्रतिवद्धता गरिन् ।
स्थानीय अगुवा बिस्ना कुमारी बिसीले दुई वर्षको अवधिमा ६० छाउ गोठ भत्काउन सफल भएको बताईन् । दुई वर्ष अघि स्थानीय पद्मा विकले सबैभन्दा पहिला छाउ गोठ भत्काएको स्मरण गर्दै बिस्नाले भनिन्, ‘छाउ गोठ भन्काउन त सफल भयौं । अब मनका गोठ भत्किन कति समय पर्खिनु पर्ने हो थाहा छैन ।’
Comment Here!