पुनर्विवाह ? अहँ गर्दिन


प्रकाशित मिति :2018-12-27 12:33:24

नेपाली समाजमा हेर्दा सामान्यतया गाउँमा १५ वर्षकै उमेरदेखि महिलाको विवाह हुने गर्छ । भने ३५ वर्षसम्म पनि विवाह भएको पाइन्छ । सार्वजनिक रुपमा उठ्न थालेको आवाज झैं सामाजिक रुपमा विवाह योग्य उमेरमा नै एकल भएका महिलामध्ये कतिले पुनर्विवाहबारे सोच्लान् त ? 

-पुष्पा तामाङ –

कुनै समय रातो पहिरनका लागि आवाज उठाउने एकल (विधवा) महिलाहरु अहिले आफ्नो शरीरमा आफ्नो अधिकारको सवाल उठाइरहेका छन् । एकल भइसकेपछि पुनर्विवाह गर्न पाउनु पनि एकल महिलाका अधिकारको हो भन्ने यस क्षेत्रका अभियन्ताहरुको भनाइ छ ।

२०६८ सालको जनगणना अनुसार नेपालमा एकल (विधवा) महिलाको संख्या ४ लाख ९८ हजार ६ सय ६ जना छ । ती मध्ये ६७ हजार महिला ३५ वर्ष मूनि रहेका सरकारको आधिकारिक तथ्याङ्क नै छ ।

नेपाली समाजमा हेर्दा सामान्यतया गाउँमा १५ वर्षकै उमेरदेखि महिलाको विवाह हुने गर्छ । भने ३५ वर्षसम्म पनि विवाह भएको पाइन्छ । सार्वजनिक रुपमा उठ्न थालेको आवाज झैं सामाजिक रुपमा विवाह योग्य उमेरमा नै एकल भएका महिलामध्ये कतिले पुनर्विवाहबारे सोच्लान् त ?

ओखलढुंगाका केही ‘विधवा’ महिलाहरुका कुराले पुष्टि गर्छ निकै कम मात्रै एकल महिलाले पुनर्विवाह र आफ्नो खुसीबारे सोचेका हुन्छन् । उनीहरु पुनर्विवाहबारे किन सोच्न सक्दैनन् ? ओखलढुंगाका केही ‘विधवा’ महिलाले आफ्ना कथा महिला खबरसँग बाँडेका छन् ।

०००

अरुना राई ३२ वर्षकी भइन् । उनी एकल हुन् । ४ वर्षअघि उनका श्रीमानले आत्महत्या गरे । त्यसयता दुई सन्तानको रेखदेखमा नै उनको दिन बितिरहेको छ ।

२७ वर्षको हुँदा श्रीमान थिरबहादुर राईले आफै मृत्यु रोजेपछि उनी एकल बनिन् । त्यतिबेला २ सन्तानको जन्म भइसकेको थियो । श्रीमानको मृत्युपछि उनलाई परिवार भित्रैबाट हिंसा हुन थाल्यो । एकातिर श्रीमानको मृत्युको पीडा । अर्कोतिर छोराछोरी हुर्काउने एकल जिम्मेवारी ।

त्यहीमाथि थपियो ‘लोग्ने खाइ’ भन्ने आरोप । त्यतिमात्रै कहाँ ! उनले भोगाइ सम्झिइन्, ‘कतै एक्लै जाँदा गर्दा कसैको श्रीमान, दाजुभाइसँग बोल्यो भने पनि बिगार्न कत्ति कुरा गरेको भन्छन् । श्रीमान नहुँदा बिनासित्ति आरोप खेप्नुपर्छ ।’

एकल भएकै कारण हिजोसम्मका आफ्नाले नै गर्ने व्यवहार परिवर्तन भएपछि उनलाई पुनः विवाह गरुँ झैं पनि लाग्छ । तर, अबोध सन्तानको मुहार पुलुक्क हेर्छिन् । उनीहरुको भविष्य सोच्छिन् । अनि आफ्नो इच्छाभन्दा सन्तानको भविष्य माथि लाग्छ उनलाई ।

उनले भनिन्, ‘आफ्नो मनलाई आफै रोक्छु । अरुले श्रीमान् खाई । बच्चाको बिच्चली पारेर गई भन्ने बनाउन मन छैन । आखिर मेरो भाग्य नै नराम्रो छ भने अर्को विहे गरेर पनि राम्रो हुँदैन । मैले अर्को विहे गरें भने मेरो छोराछोरीले अरुको काम गर्नुपर्छ । दुःख पाउँछन् । यहि सम्झेर दोस्रो विहे गर्न मनै लाग्दैन ।’

व्यवहार मात्रै होइन बाहिरी रुपको कारण पनि विवाह गरौं झै हुन्छिन् कहिलेकाँही । ‘अरुले रातो सिन्दुर, टीका, चुरा लगाएर हिँडेको देख्दा आफुलाई नि हिँड्न मन लाग्छ ।’ तर, मनलाई उनले बाँध्छिन् । अनि सोच्छिन्, ‘विधवा महिलालाई दोस्रो विवाहले क्षणिक खुसी मात्र दिने हो ।’

समाज, आफन्त अनि सन्तानको घेरा सम्झिँदा पुनर्विवाह गर्ने सोच त्यसै हराएर जान्छ । उनी भन्छिन् , ‘विगतका कुरालाई बिर्सिएर खुसी साथ जीवन विताउने रहर मलाई पनि छ । कोहिकोहिले मन मिल्ने पाए विहे गर पनि भन्छन् । मेरो अवस्थालाई बुझेर बच्चाको बारेमा पनि बुझ्ने भए विहे गर्थे नि तर त्यस्तो मान्छे कहाँ हुन्छन् र ?’

०००

मानेभञ्ज्याङ गाउँपालिका ३, उबुँकी पुतलीमाया राईको १६ वर्षको उमेरमा विवाह भएको थियो । २५ वर्षकी पुतली एकल हुन् । छोरा १६ महिनाको थियो । बिहानको ५ बजेतिर छोरालाई दुध चुसाउँदै थिइन् । ओच्छ्यानमा सुतिरहेका श्रीमान् कृपाधन एक्कासी छट्पटाए । खाटबाट भूईंमा पल्टिए ।

उनी आत्तिइन् । घरका सबैलाई बोलाउँदा श्रीमान्को मृत्यु भइसकेको थियो । ‘पहिला ऐठन परेको जस्तो लाग्दै थियो पछि त्यतिकैमा बित्नुभयो’ उनले भनिन् । त्यो बेला पुतली २१ वर्षको मात्रै थिईन् । अहिले श्रीमानको मृत्यु भएको पनि ४ वर्ष बितिसकेको छ ।

परिवारमा सासू ससुरा छन् । पुतली एक छोरा हेरचाह गर्छिन् । घरमै काम गर्छिन् । घरमा सबैले माया गर्छन् । सबैको साथ पनि छ । समूहमा रहेर पनि पुतली भने एक्लोपनको महसुस गर्छिन् । उनलाई जीवनको नजिकको मान्छे (जीवनसाथी) को अभाव हरक्षण खड्किन्छ ।

भर्खरै २५ वर्षकी पुतलीको मनमा जिन्दगी कटाउने जीवनसाथी चाहिन्छ झैं पनि लाग्छ । ‘पुनर्विवाह गर्नु ठिकै हो जस्तो लाग्छ’ पुतली भन्छिन्, तर छोराको भविष्य सोच्छु । अनि फेरि विवाह गर्ने सोच नै हराएर जान्छ ।’

‘मेरो श्रीमान् नभएर मेरो मृत्यु भएको भए कर गरेर पनि मेरो श्रीमनले अर्को विवाह गरिसक्नु हुन्थ्यो । मलाई भन्नु त कसैले पनि विहे नगर पनि भनेको छैन । गर भनेको पनि छैन ।’

पुतलीलाई समाजले पनि ‘विधवा’ को विवाहलाई नकारात्मक सोच्छ भन्ने पनि थाहा छ । समाज परिवर्तन आफैले गर्ने हो भन्ने पनि बुझेकी छिन् । तर, आँट अझै छैन ।

पुतलीले भनिन्, ‘मेरो श्रीमान् नभएर मेरो मृत्यु भएको भए कर गरेर पनि मेरो श्रीमनले अर्को विवाह गरिसक्नु हुन्थ्यो । मलाई भन्नु त कसैले पनि विहे नगर पनि भनेको छैन । गर भनेको पनि छैन ।’

उनलाई मन मिल्ने, कुरा बुझ्ने मान्छे भेटिए विवाह गर्छु झैं पनि लाग्छ । ‘सबै कुरा बुझ्ने मान्छे त पाईंदैन यदि त्यस्तो मान्छे भेट्यो भने विवाहबारे सोच्छु ।’ उनले भनिन् ।

पुतली गाउँकै सहकारीमा काम गर्छन् । उनका सहकर्मी र नजिकको साथीले विवाह गर्न सुझाएका पनि छन् । तर, उनलाई छोराको माया र भविष्यले पिरोल्छ । छोरालाई पनि आफ्नै झैं माया गर्ने कोही पाए विवाहबारे सोच्ने उनले बताइन् ।

०००

खिजीदेम्बा ५ की पेमडोमा शेर्पा १८ वर्षको उमेरमा विवाह भएको थियो । सशस्त्र द्वन्द्वको समयमा २०६२ साल बैशाख २६ गते उनको श्रीमानको हत्या भयो । त्यतिबेला उनी २४ वर्षकी थिइन् । अहिले उनी ३७ वर्षकी भइन् ।

द्वन्द्वको बेला दुबै तत्कालिन माओवादीमा थिए । अहिले पेमडोमा ओखलढुंगा जिल्लाको सामाजिक सेवामा सक्रिय महिलामा गनिन्छिन् । उनको सन्तान छैनन् । न त दोस्रो विवाह नै गरिन् ।

श्रीमानको मृत्यु भए पछि घरमा बस्ने वातावरण नभएको उनले बताइन् । त्यसैले उनी सदरमुकाम ओखलढुंगामा बसिन् । त्यहीबाट नै सामाजिक काम गर्दै आएकी छिन् ।

हुन त पेमाडोमा पुनर्विवाहको पक्षमा छिन् । अरु एकल महिलालाई पुनः विवाह गर्न प्रोत्साहन पनि गर्छिन् । भन्छिन्, ‘आफुले पुनर्विवाह नगरे पनि कम उमेरमा विधवा भएका महिलाले विवाह गर्नुपर्छ भन्छु ।’

तर, एकल महिलाले विवाह गरेपछि थप आउने समस्याका बारेमा भने सोच्नुपर्ने उनको तर्क छ । उनले पुनर्विवाह पछिको समस्याको बारेमा भनिन्, ‘विवाह भनेको संयोग हो । आफूले बुझेको र आफुलाई पनि बुझ्ने मानिससँग सम्बन्ध जोड्नुपर्छ । विचार मिलेन भने पुनर्विवाह गर्दा झनै समस्या आउँछ ।’

आफूले भने पुनर्विवाहको बारेमा सोच्ने फूर्सद नै नपाएको बताउँछिन् । उनले थपिन्, ‘सामाजिक काम गर्दा गर्दै आफ्नो पुनर्विवाहबारे भने सोच्नै भ्याइन ।’

उनको पनि अन्य महिला झैं सन्तान भइसकेपछि एकल भएका महिलाले भने अर्को विवाह नगरेकै ठिक भन्ने धारणा छ । थपिन्, ‘बच्चा भइसकेका विधवा महिलाले विवाह नगरेको नै राम्रो भन्छु । किनकी आमा नहुँदा बच्चा टुहुरो हुन्छ ।’

समाजमा महिलालाई हेर्ने दृष्टिकोण पुरुषलाई झैं समान छैन । एकल महिलालाई त झनै गलत नजरले हेर्ने गरेको उनको अनुभव छ । जिल्लामा रहेर सामाजिका काम गदौ एकल महिलाको जिल्ला स्तरमा सञ्जाल पनि विस्तार गरेको उनले बताइन् ।

०००

माथिका तीन महिलाको भन्दा खोमा तामाङको कथा फरक छ । उनको घर सिद्धिचरण नगरपालिका वडा नम्बर ११ हो । उनको २०७० साल असोजमा २१ वर्षको उमेरमा विवाह भएको थियो ।

उनको श्रीमानको पहिलो श्रीमतीको मृत्यु भइसकेपछि उनी दोस्री श्रीमतीको रुपमा विवाह भएको थियो । पहिलो श्रीमतीको तर्फबाट दुई वटा छोरा छन् । तिनीहरुको रेखदेख गर्नुपर्छ भन्ने जानेर नै उनले विवाह गरेकी थिईन् ।

उनको श्रीमानको दोस्री पत्नी भएपनि उनको भने पहिलो विवाह थियो । भनिन्, ‘मलाई झुक्याएर बिहे गरेको हैन । सबै कुरा भनेर दुई वटा छोरा छ भनेर दुःख पनि देखाउनुभयो । मन पनि मिले जस्तो भयो अनि हामीले बिहे गरेको हो ।’

तर विवाहको आधा वर्ष मात्रै उनले श्रीमानसँगै बिताउन पाइन् । खोमासँग विवाह गरेको ६ महिना पछि श्रीमान विदेश गए । श्रीमानको पहिलो विवाहपछि जन्मिएका दुई छोराको हेचरचाह मै उनको समय बित्यो । श्रीमान विदेशिएको केहि समय पछि उनको पनि छोरा जन्मियो ।

केही समयपछि खोमाको श्रीमान विदेशबाट फर्किए तर बिरामी भएर । घर आएको केहि दिन पछि नै श्रीमानको मृत्यु भयो । ‘खै के रोग हो भनेर नै पत्ता नलाग्दै उहाँ बित्नुभयो ।’ उनले थपिन् ‘हामी धेरै समयसँगै बस्नै पाएनौं । अहिले उनले ३ जना छोराको जिम्मेवारी उनकै काँधमा छ । ‘मरेर जान सकिदैन जसरी पनि अरुको जीवन बिताउनै पर्ने रै’छ’ उनले भनिन् ।

उनी एकल भएपछि अरुले हेर्ने दृष्टिकोण फेरिएको छ । कसैसँग बोल्दा पनि कोसँग छरछिमेकले लागिस् भन्ने गरेको उनले बताइन् । उनलाई पुनर्विवाह गर्न मन नभएको पनि होइन । तर आँट छैन । अर्कोतर्फ आफ्नो छोरा र श्रीमानको पहिलो श्रीमती तर्फका दुई छोराहरुको जिम्मेवारीले सोच्न पनि सकेको छैन ।

उनले थपिन्, ‘समाजको भन्दा ३ छोराको चिन्ता छ मलाई । मेरो पनि बाबा मम्मीले एक्लै बनाएर छोडेर गएको भए मेरो हालत के हुन्थ्यो भन्ने सोच्छु । अनि अर्को विवाह दिमागमै आउँदैन ।’

जिम्मेवारीका कारण एकल महिलाले पुनर्विवाह सोच्नै भ्याउँदैनन्

मानअधिकारका लागि महिला एकल महिला समूहकी केन्द्रीय अध्यक्ष कुन्दा शर्मा एकल महिलाका लागि समाज, परिवार र आफन्त नै एकल महिलाका पुनर्विवाहको बाधक ठान्छिन् । ‘एक त उनीहरुको सन्तानको जिम्मेवारी हुन्छ’ उनले थपिन्, ‘अर्कोतर्फ समाजले राम्रो नठान्ने प्रवृत्तिका कारण एकल महिलाले पुनर्विवाहलाई प्राथमिकता दिँदैनन् ।’

अध्यक्ष शर्माका अनुसार पछिल्लो समय एकल महिलाले पुनर्विवाह गर्ने अवस्था पनि बढ्दै गएको छ । पहिले कानूनले एकल महिलाले विवाह गरेमा पहिलो श्रीमानतर्फबाट पाएको सम्पत्ती फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था थियो । उक्त व्यवस्था हटाइएपछि एकल महिलाले पुनर्विवाह गर्न थालेका उनले बताइन् ।

उनले एकल महिलाको पनि आम व्यक्ति सरह इच्छा हुने भएकोले समाजका हरेक व्यक्तिले विवाहको चाहना राख्ने एकल महिलालाई सहयोग गर्नुपर्ने पनि धारणा राखिन् ।

(पुष्पा तामाङ अाेखलढुंगाबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: