श्रीमती पाल्ने कि श्रीमान् ?


प्रकाशित मिति :2019-02-20 14:56:48

–सरिता दाहाल–

रिपोर्टिङको सिलसिलामा छोटो यात्रामा थियाैं । साथमा थिए एक पुरुष पत्रकार अनि पाँच जना अधिकारकर्मी । गाडीमा थियौं । बिहेको सिजन बाटोमा एक विहेको जन्ती भेटिए । त्यसपछि स्वभाविक विहेको कुरा निस्किने नै भयो ।

टीममा अविवाहित पत्रकार साथी मात्रै थिए । भनें, – ‘ल है यो महिना पनि जन्ती नलगी जाला नी !’

‘अब चैं विचार गर्दैछु । स्नातकोत्तर सकें । पत्रकारितामा पनि राम्रै भइरहेको छ । श्रीमती पाल्न सक्छु भन्ने आँट बढेको छ ।’ उनले भने ।
जिज्ञासा थपें, ‘तीन दशक कट्दासम्म विहे नगरेको श्रीमती पाल्न सक्दिन भनेर पो ?’

उनको सहज जवाफ थियो, – ‘हो त, अर्काको छोरी ल्याएपछि पाल्न नकिएन भने ! अहिले त, महिलाको लागि यत्रा कानूनहरु आएका छन् । विचरा हामी पुरुष !’

‘परिआए अहिलेका श्रीमतीले श्रीमानलाई नै पाल्छन्’ मैले थपें ।

एक अधिकारकर्मी दिदीले पनि भन्नुभयो – ‘श्रीमती गाई भैंसी हो र पाल्नुपर्ने चिन्ता ?’

‘गाई, भैंसी पनि बिना काम कसले पाल्छ र ! गाई भैंसीले दूध नदिउन् त कलिलो, कलिलो घाँस खोज्न को जान्छ जंगल जंगल ? कसले दिन्छ समय मिलाइ मिलाई दानापानी ? हामीले गाई भैंसी पालेका हैनौं लगानी गरेका हौं । तिनीहरुबाट आउने प्रतिफलको आशा गरेर’ – म अलि चर्किएछु क्यारे ।

पत्रकार साथी चुप थिए ।

कुराकानी चल्दै थियो । कार्यक्रम स्थल पुग्यौं । कार्यक्रम सुरु भो, सकियो । घर फर्किएँ । तर, मेरो मनको तरंग भने सेलाउँदै सेलाएन ।
मैले पनि विवाह गरेको छु । दुई सन्तान छन् । तर, श्रीमानले पालिदेलान् भन्ने आशा कहिल्यै गरिन ।

तर, पुरुषलाई विवाह अघि ‘श्रीमती पाल्ने आँट’ किन चाहिने ? हामी महिला स्वयं परिश्रमले बाँच्न सक्दैनौं ? कि महिलाको कमाइको अर्थ नै रहँदैन ?

यीनै कुरामा घोत्लिँदै गर्दा झण्डै २० वर्षअघिको आफ्नै घरको स्मृति ताजा भएर आयो ।

घरमा आमाको तुलनामा बाबा घाँस सोत्तर कुँडो पानीमा कमै सहभागी हुनुहुन्थ्यो । त्यतिबेला खोरमा १८/२० वटा बाख्रा हुन्थे । गोठमा ४/५ वटा दुहुना भैंसी, उहीँ संख्यामा गाई । २ हलसम्म गोरु अनि कुखुराहरु ।

हामी ३/४ वर्षको फरकका ५ जना छोराछोरी । ३ दिदीको विहे भइसकेको थियो । गाउँमा खेतीपाती धान्ने आधार अर्मपर्म नै थियो । पर्ममा आमा नै जानुहुन्थ्यो ।

दिदीहरु पनि सकेको सघाउनु हुन्थ्यो । आवश्यकता पर्दा बुबा पनि सहभागी हुनुहुन्थ्यो । तर, भातभान्छा, गाईभैंसी आमाकै जिम्मामा झैं हुन्थ्यो ।

आमाले गोठमा लस्करै बाँधिएका ती वस्तुभाउलाई के दिनुभयो, कति दिनुभयो, तिनिहरुले खाए खाएनन् बाबालाई खासै चासो हुन्नथ्यो । आमाले गर्नु भएको काममा भरोसा गर्नुहुन्थ्यो सायद ।

दूध डेरीमा लैजाने बेला साबिकको भन्दा दूध कम भयो भने मात्रै बुबालाई चासो हुन्थ्यो । लैनो गाई वा भंैसीको दूध घटेपछि ‘पल्न जानिनस्’ भनेर आमासँग झोक्किनुहुन्थ्यो ।

श्रीमती को हो ? जसलाई श्रीमानहरुले पालेको ठान्नुपर्ने ? घरको एक सदस्य (श्रीमती, बुहारी, आमा) जो

एउटा घरमा सबभन्दा बढी शारीरिक र मानसिक श्रम गर्छिन् । बिहान सबेरैदेखि रात अबेरसम्म

काममा हुन्छिन् । अनि तीनैलाई श्रीमानले पालेको ठान्ने

आमालाई पनि चिन्ता हुन्थ्यो क्यारे । भोलिपल्टबाट कलिला कलिला घाँस खोज्न जंगल जानुहुन्थ्यो । रसिला घाँस पाईन्छ कि भनेर खोल्साखोल्सी पस्नुहुन्थ्यो । साँझ बिहान अझै खट्नुहुन्थ्यो, दूध बढाउने मेहनत गर्न ।

जब असार र मंसिर आउँथ्यो, अरुबेला गोरुको नजिक नजाने मेरो बाबा त्यतिबेला गोरुको खुब स्याहार गर्नुहुन्थ्यो । समयमै कुँडोपानी दिने, अतिरिक्त दाना दिने गर्नुहुन्थ्यो गोरुलाई । असार र मंसिर गोरुले २४ घण्टा मध्ये १५ देखि १८ घन्टा काम गर्नुपथ्र्याे । त्यतिबेला बाबाले हामी सन्तानलाई भन्दा पनि गोरुलाई पो माया गर्नुहुन्छ झैं लाग्थ्यो मलाई ।

कुखुरा, बाख्रा बेच्ने बेलामा बाबाले सकेसम्म बढी मूल्य खोज्नुहुन्थ्यो । पालेको समय र भएको खर्चको हरहिसाब जोडेर लगानी उठ्छ उठ्दैन बडो सजगभ एर बेच्नुहुन्थ्यो ।

यी त भए सिधै पैसा लगानी भएका कुरा । मान्छेले आफ्नो ईच्छा पूरा गर्न फरक–फरक वस्तु पाल्दछ । जस्तो, कुकुर आफ्नो सुरक्षाको आशामा, बिरालो मुसाको तनावबाट मुक्ति पाउन, मैना–सुगा आफ्नो आत्मा सन्तुष्टिको लागि ।

हिजोआज सजिव मात्रै होइन निर्जीव वस्तु पनि पाल्ने चलन छ । डिजेल पेट्रोलको भाउ बढ्यो भने तपाईं हामी नै भन्छौं, ‘अब यो (मोटरसाइकल,कार लगायत सवारी साधन) पनि पाल्न नसकिने भो ।’

याे पनि पढ्नुहाेस् :

http://mahilakhabar.com/news/2018/11/28/47167.html

http://mahilakhabar.com/news/2018/09/21/45494.html

मेरो घर छेउमा भाडामा कोठा लिएर कलेज पढ्ने भाइ भन्दै थिए, ‘घरबाट आउने पैसा खाना, कलेजको फी र भाडा तिर्न ठिक्क हुन्छ । यो मोबाइल पाल्न आपत छ, नचलाउ मन मान्दैन ।’

सवारी साधनले अहिले मानिसको रोजीरोटीमा सहजता थपेको छ । समयमै काममा पुग्न सघाएको छ । साथीभाइ, समाजमा ‘स्टाटस मेन्टेन’ गर्न पनि यस्ता साधनले सहयोग गरेको बुझ्छु म ।

त्यसैले मनमा प्रश्न पनि उब्जन्छ, ‘सवारी साधनलाई मान्छेले पाल्छन् कि मान्छेलाई सवारी साधनले ?’

प्राणीहरुमा मानव यस्तो सचेत प्राणी हो, जो भविष्यबारे पुर्वानुमान गर्न सक्छ । सचेत रहन सक्छ । प्रतिफल गणना गरेर लगानी गर्छ ।
मूल विषयमा नै आउँ – श्रीमती पाल्ने ?

श्रीमती को हो ? जसलाई श्रीमानहरुले पालेको ठान्नुपर्ने ? घरको एक सदस्य (श्रीमती, बुहारी, आमा) जो एउटा घरमा सबभन्दा बढी शारीरिक र मानसिक श्रम गर्छिन् । बिहान सबेरैदेखि रात अबेरसम्म काममा हुन्छिन् । अनि तीनैलाई श्रीमानले पालेको ठान्ने ?

अचम्म लाग्छ ! ८ घण्टा काम गरेर पैसा कमाउने श्रीमानहरु १६ घन्टा बढी काम गर्ने श्रीमतीलाई आफूले पाल्नुपर्ने चिन्ता लिन्छन् ।

सोचौं त, यो कस्तो चिन्ता होला ? अचेलका पढेलेखेका श्रीमती दोहोरो जिम्मेवारी बहन गर्न तयार छन् । परिवारको सारा जिम्मेवारी बहन गरेर पनि घर बाहिर श्रीमानको सरह ड्युटी गर्न हाजिर हुन्छन् ।

म मेरै घरमा जान्छु, मेरो बाबा सोच्नुहुन्छ ‘मैले नै सबै धानेको छु’ । आमाको आराम गर्न एकपल समय हुँदैन । अनरवत काममा हुनुहुन्छ ।
तर, आमाले घरको आर्थिक भार कति धान्नु भएको छ ? त्यो कहिल्यै हरहिसाब हुन्न ।

हुँदो हो त कसको बढी योगदान देखिन्थ्यो होला ? त्यसको गणना कसले गर्ने ?

यसको अर्थ घरको कामको पनि तलब खोजेको भन्ने लाग्ला । घरको श्रम पैसामा नभएपनि कार्यबोझकोे मुल्यांकन गर्ने, मनन गर्नुपर्दैन ? यदि हरेक नेपाली महिलाले घरभित्र गर्ने कामको गणना भए कुल गार्हस्थ उत्पादनमा कस्तो प्रभाव हुन्थ्यो होला ?

विवाहले श्रीमती पाल्ने टन्टा थप्ने पुरुषहरु ठान्छन् । तर विवाह टन्टा थप्ने माध्यम होइन । एकअर्कालाई बुझ्ने हो भने जीवनशैली सहज बनाउने माध्यम हो । जसले एकमा मात्रै हुने कार्यबोझ घटाउँछ । मनोवैज्ञानिक रुपमा समेत बोझ घटाउँछ ।

समाजमा महिला र पुरुषको समविकास, समावेशी सहभागीता अनिवार्य छ । महिलाको मात्रै वा पुरुषको मात्रै सहभागीताले आदर्श समाज बन्नै सक्दैन ।

कुरा रह्यो पाल्ने र पालिने । म अहिले पनि सोच्छु, मेरो आमालाई बाबाले पाल्नु भयो कि आमाले आफू पालिएर हामीलाई समेत पाल्नुभयो ?

तपाईं स्वयं सोच्नुस् त, तपाईंको आमालाई बाबाले पाल्नु भो कि ? आमाले आफू पालिएर छोराछोरीलाई पनि पाल्नुभयो ?

श्रीमतीहरुको हैसियत भनेको श्रीमानहरुले पाल्दिनुपर्ने नै हो ? मैले साथीलाई दोषी भन्न खोजेको होइन, हाम्रो पितृसोच दोष हो । जबसम्म महिलाको योगदानलाई आर्थिक उपार्जनमा जोडिन्न सायद यो सोच हावी रहिरहनेछ ।

(पत्रकार दाहाल अध्यक्ष सञ्चारिका समूह ३ नम्बर प्रदेश शाखाको अध्यक्ष हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: