–महिला खबर–
ललितपुर । नेपालमा नागरिकता लिन योग्य उमेरका व्यक्तिहरुमध्ये ३५ प्रतिशत भन्दा बढी व्यक्तिको नागरिकता नभएको पाइएको छ ।
नेपालमा वर्षेनी चार लाख व्यक्तिले नागरिकता लिने भएपनि ६ लाख जनाभन्दा बढी व्यक्ति नागरिकता लिन योग्य रहेको पाइएको हो ।
महिला कानून र विकास मञ्चले गरेको अध्ययनले उक्त तथ्य देखाएको छ । मञ्चकी अध्यक्ष तथा अधिवक्ता मिरा ढुङ्गानाले भनिन्, ‘नेपालमा नागरिकता लिन योग्य नागरिक ६ लाखभन्दा बढी भएपनि सरकारले करिब ४ लाखलाई मात्र नागरिकता दिने गरेको छ ।’
उनले नागरिकता नहुनेमा महिला बढी रहेको पनि जानकारी दिइन् । नागरिकता वितरणमा महिलामाथि हुने विभेद र बाबुको नामबाट मात्र नागरिकता पाउने व्यवस्थाका कारण धेरै महिलाले नागरिकता लिन नसकेका उनको भनाइ छ ।
मञ्चका प्रमुख कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले हरेक वर्ष नागरिकताविहीनको संख्या बढ्दै गएको बताए । यद्यपि यकिन तथ्याङ्क सरकारले राखेको छैन ।
श्रेष्ठ भन्छन्, ‘नागरिकता वितरण गर्ने जिल्ला प्रशासन कार्यालयमा नै नागरिकताविहीन र नागरिकता प्राप्त गर्नेको तथ्याङ्क राख्नुपर्छ ।’
नागरिताविहीनको तथ्याङ्क बढ्दै गएमा २०७८ सम्ममा ६७ लाख मानिस नागरिकताविहीन हुने मञ्चको अनुमान छ ।
महिला, कानुन तथा विकास मञ्चद्वारा प्रकाशित नेपालमा नागरिकताको प्रमाणपत्र प्राप्तीको अनुमानित अवस्था नामक रिपोर्टको तथ्याङ्क अनुसार भुगोलका आधारमा २८.५ प्रतिशत पहाडी क्षेत्रमा, १७.५ प्रतिशत तराई क्षेत्रमा र ३४ प्रतिशत हिमाली क्षेत्रमा नागरिकताबाट बञ्चित रहेको पनि उनले जानकारी दिए ।
नेपालमा कानुनी पहिचान प्रदान गर्ने प्रमुख आधार नै नागरिकता हो । त्यसैले यो बिना सन्तानको जन्म दर्ता समेत गर्न नसकिने भएकाले राज्यको नागरिकताको वितरणमा गम्भीर हुनुपर्ने उनले बताए ।
Comment Here!