पाइलै पिच्छे मृत्यु पत्र
साथै बोकेर हिँडिरहेछु
अनि मृत्युलाई अंगाली रहेछु

रुपा थापा
किनकी,
म एउटी छोरी
म घरबाट निस्कँदा
मसँगै मेरो योनि ननिस्किए
निस्कन्थेनन् होलान् ती शिकारीहरु
जो मेरो मृत्युको कारण बनेर
पलपल मलाई पछ्याइ रहेछन् ।
मेरा छाया भन्दा डरलाग्दा
जंगली बँदेलका ति दाह्राहरुले
लुछेर फ्याँकिएका मेरो कोमल शरीरसँगै
बगिरहेछ योनिबाट रगतका धाराहरु
चिहानमा मस्त निदाएको मेरो शरीर
सोध्दै थियो मेरो मृत्युको कारण
जिन्दगीको न्यायालयका ती न्यायाधीशहरुसँग
भन्दै थियो, कहिलेसम्म मेरो मृत्युको तमासा
त्यो न्यायालयबाट हेरिबस्छस् ?
मेरा योनिबाट बगेका रगतको थोपा थोपाको मोल
के मेरो मृत्यु भन्दा पनि सस्तो थियो ?
जुन मेरो मृत्युसँगै बगिरहेको थियो
अनि, जलिरहेको थियो
मैले साथै लिइहिँडेको
त्यही मृत्यु पत्रसँग लत्पतिएका
मेरा योनिबाट बगेका ती रगतका धाराहरुले
खोज्दै थियो जवाफ आज
जुन त्यो सेतो कात्रो छिचोलेर
राताम्ये भएर भिजेका थिए ।
Comment Here!