–लेखनाथ खतिवडा–
पाँचथर । १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचथर जिल्ला अदालतले एक व्यक्तिलाई १५ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले सोमबार इलामको सुर्योदय नगरपालिका–६, का ५० वर्षीय रविन भन्ने खुदबहादुर गुरुङलाई १५ वर्ष कैदको फैसला गरेको हो ।
इजलासले पीडितलाई कसुरदारबाट ५० हजार रुपैया क्षतिपूर्ति समेत भराउन फैसला गरेको छ । फैसला अनुसार कैद भुक्तान गर्न कसुरदारलाई जिल्ला कारागार चलान गरिएको अदालतको सूचना अधिकारी याम चौहानले बताए ।
कसुरदारले पीडितलाई असोज २ गते बलात्कार गरेको भन्दै असोज ४ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो । प्रहरीले असोज ५ गते आरोपितलाई गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशले असोज २२ गतेदेखि आरोपित पूर्पक्षका लागि कारागारमा रहेका थिए ।
Comment Here!