संसदको ट्वाइलेटमा पानी छैन, महिनावारी भए बैठक नै छाेड्छन् सांसद महिला


प्रकाशित मिति :2019-03-12 11:28:13

–महिला खबर–

ललितपुर । वानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अर्थात् समग्र नेपालको नीति निर्माण हुने थलो । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा बसेर महत्वपूर्ण कानून बनाउँछन् ।

तर, त्यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जनप्रतिनिधि बनेर पुगेका महिलाले विशेष अवस्थामा दुःख पाउने गरेका छन् । उनीहरु महिनावारी भएमा बैठक नै छोडेर निस्किनुपर्ने बाध्यतामा छन् ।

सांसद महिलाका अनुसार संसदको शौचालयमा अधिकांश समय पानी हुँदैन । न त संसदमा महिला सांसदका लागि स्यानिटरी प्याडको नै व्यवस्था छ । त्यसैले महिनावारीको समयमा उनीहरुले संसद नै छाडेर निस्किनुपर्ने बाध्यता हुन्छ ।

केही समय अघि प्रतिनिधिसभा सांसद आशाकुमारी सुनारले संसदमा महत्वपूर्ण बैठक चलिरहँदा हलै छोडेर निस्किनुपर्यो । ‘बैठक चलिरहेको थियो । महिनावारी भएँ’ बैठक छोड्नुको कारण खुलाउँदै उनले भनिन्, ‘संसदको ट्वाइलेटमा न स्यानिटरी प्याडको व्यवस्था छ, न पानी आउँछ ।’

गएको शुक्रबारको बैठकमा सांसद सुनारले संसद बैठकमै कुरा उठाइन् । शौचालयमा पानी पनि छैन न त स्यानिटरी प्याड नै ।

उनीमात्रै होइन विमला विकले पनि सभामुखसँग संसदमै, ‘स्यानिटरी प्याड कहिले निःशुल्क हुन्छ साभामुख ज्यू ?’ भनेर प्रश्न गरिन् ।

आफूले प्रश्न गर्नुको कारण खुलाउँदै सांसद विकले महिला खबरसँग भनिन्, ‘संसदको ट्वाइलेटमा न पानी आउँछ, न त स्यानिटरी प्याड नै पाइन्छ ।’ उनका अनुसार पानी नहुँदा संसदको महिला शौचालयको प्यानमा अधिकांश समय महिनावारी हुँदाको रगत राताम्य हुन्छ ।

सांसद आशाले जस्तै उनले पनि शौचालयमा पानी र स्यानिटरी प्याड नहुँदा संसदको महत्वपूर्ण बैठक छोडेकी छिन् । ‘एकपटक त म आफैले संसद बैठक नै छोड्नुपर्यो’ अनुभव सुनाउँदै विमलाले भनिन्, ‘हामी यति नै बेला महिनावारी हुन्छौं भन्ने पक्का हुँदैन । महिनावारी हुँदा धेरैजसो संसदको ट्वाइलेटमा पानी हुँदैन ।’

प्रतिनिधिसभा सांसद उमा रेग्मीको अनुभव पनि उनीहरुको जस्तै छ । रेग्मी भन्छिन्, ‘शौचालय छ, पानी आउँदैन । महिला मैत्री छैन ।’

उनले महत्वपूर्ण कानून बनाउने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नै महिला मैत्री नभएको गुनासो गरिन् । रेग्मी थप्छिन्, ‘बच्चा भएका सांसद महिला छन् । न बच्चालाई हेर्ने केयर सेन्टर नै छ ।’

प्रतिनिधसभाकाे तुलनामा राष्ट्रिय सभाकाे शाैचालय भने राम्राे रहेकाे सांसदहरुले बताएका छन् । राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय  सराेकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल ‘पार्वती’ राष्ट्रिय सभा शाैचालय प्रतिनिधि सभाकाे तुलनामा राम्राे रहेकाे बताउँछिन् । यद्यपि शाैचालयमा नियमित पानी अाउँदैन । पानी अाउँदा पनि शाैच गरिसकेपछि पानी नगएर जम्ने समस्या रहेकाे उनले बताइन् ।

सम्बन्धित समाचार

सांसदको प्रश्न, ‘कण्डम निःशुल्क हुँदा प्याड किन भएन सभामुख ज्यू?’

कण्डम निःशुल्क हुँदा प्याड किन भएन स्वास्थ्य मन्त्री ज्यू ?

महिनावारीका बेला प्रयाेग गर्ने प्याडकाे खर्च बढी हुने देश मध्य नेपाल दोस्रोमा

 

संसद सचिवालयका उपसचिव केशव अर्याल भने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पर्याप्त र महिला मैत्री शौचालय रहेको दाबी गर्छन् ।

उनका अनुसार संसद हलभित्र दायाँ र बायाँ लबीमा २/२ वटा शौचालय छन् । हरेक पदाधिकारीको कार्यालय भित्र एउटा र बाहिर महिला पुरुषको बेग्लाबेग्लै शौचालय छ । भने, हल बाहिर पनि महिला पुरुषको बेग्लै शौचालय छ ।

महिला सांसदले पानीको विषयमा गरेको गुनासोबारे भने अर्याल एक/दुई दिन मगाएको समयमा पानी नआइपुगेकोले समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘पानीको समस्या राष्ट्रिय समस्या हो । कहिलेकाँही एक दिन वा एकदुई घण्टा पानी हुँदैन ।’

उनले शौचालय भित्र प्याड राख्ने बाल्टी राखिएको बताए । निःशुल्क स्यानिटरी प्याड चाहिँ सरकारले नै नीतिगत रुपमा व्यवस्था गरेमात्रै सबै सरकारी कार्यालयमा झैं अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि हुने उनको भनाइ छ ।

‘स्यानिटरी प्याडको आवश्यकताका विषयमा पनि छलफल भइसकेको छ ।’ उनले भने, ‘संसद बैठकमै कुरा उठेपछि सरकारको ध्यानाकर्षण पक्कै होला ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: