–ज्ञानु पंगेनी–
नवलपुर । वनमा बाँझो र खाली रहेको जग्गामा बेसार खेती गरेर कावासोतीका महिलाहरुले मनग्य आम्दानी गरेका छन् ।
कावासोती नगरपालिका १० र ७ नम्बर वडामा पर्ने लामीचौर उपभोक्ता समिति अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा यहाँका महिलाहरुले सामूहिक बेसार खेती गरेर आम्दानी गर्न सफल भएका हुन् ।
वडा नम्बर १०, चिलिया र ७ साँडका पाँच समूहले वनको बाँझो जमिनमा अर्गानिक बेसार खेती गेरेका छन् । बेसार खेती सुरु गरेको पहिलो वर्ष नै नौ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको उनीहरुले बताए ।
कावासोती १० को शान्ति देवी महिला समूह, वडा नम्बर ७ को अष्टलक्ष्मी महिला समूह, जनजागृती महिला समूह, सुनगाभा महिला समूह र भगवती महिला समूहले समुहगत रुपमा बेसार खेती गरेका छन् ।
पाँच वटा समूहमा करिब एक सय ५० जना महिला आबद्ध छन् । गएको बैशाख महिनामा लगाएको बेसार खेती फागुनको पहिलो हप्तामा समूहले खनेर बिक्री गरेको हो ।
पाँच समूहले सात विगाहा क्षेत्रफलमा बेसार खेती गरेको थियो । वनमारा र अनावश्यक झाडीले भरिएको वनको जग्गालाई सरसफाई गरेर खेती गरिएको हो ।
यहाँका महिलाहरुले घरको कामधन्दा सकेर फुर्सदको समयलाई सदुपयोग गर्न बेसार खेती सुरु गरेका थिए । यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उनीहरुलाई लागेको थिएन । तर, फुर्सदको समयमा गरिएको कामको प्रतिफल राम्रो भएपछि महिलाहरु उत्साहित भएका छन् ।
शान्ती देवी महिला समूहकी अध्यक्ष दिलमाया गुरुङ भन्छिन् – ‘घरको कामधन्दा सकेर फुर्सदको समयमा गरेको कामबाट पनि आम्दानी राम्रो हुने रहेछ । पहिलो वर्षमा नै राम्रो आम्दानी भयो अब अझै राम्ररी खेती गर्छौं ।’
समूहकी अर्की महिला तिलकुमारी मूखिया पनि घरको काम भ्याएर पनि आम्दानी गर्न सकिने रहेछ भनेर दंग छिन् । भनिन्, ‘धेरै मेहेनत पनि गर्न परेन, फुर्सदमा समूहमा मिलेर काम गर्दा काम गरेको पनि पत्तै पाइएन, आम्दानी पनी राम्रै भयो । ’
द अर्गानिक भ्याली कम्पनि सुर्खेतसँगको सहकार्यमा यहाँका महिलाहरुले बेसार खेती सुरु गरेका हुन् । कम्पनीले वनसँग समन्वय गरी महिलाहरुलाई समूहगत रुपमा बेसार खेतीको तालिम दिएको थियो ।
पहिलो वर्ष भएकाले कम्पनीले समूहका लागि सात सय ५० के. जी. अर्गानिक बेसारको बीउ र प्रति समूह २७ हजार ५ सय रुपैयाँ सापटी रकम समेत उपलब्ध गराएको थियो ।
उक्त सापटी रकम समेत कटाएर महिला समूहले नौ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको कम्पनीका शुरेन्द्र पौडेलले जानकारी दिए । सात विगाहा क्षेत्रफलमा ४० टन बेसार उत्पादन भएको पौडेलले बताए । उत्पादन भएको बेसार मध्ये पाँच टन बीउका लागि छुट्टाएर ३५ टन बेसार कम्पनीले खरिद गरेको हो । कम्पनीले प्रति किलो २१ रुपैयाँले बेसार गरेको उनले जानकारी दिए ।
पौडेलका अनुसार कम्पनीले देशका विभिन्न ठाउँमा महिलाहरुलाई सहभागी गराई अर्गानिक बेसार उत्पादन गर्दै आएको छ । खेतीका लागि तालिम र पञ्चकाव्य नामक प्राङ्गारिक किटनाशक औषधि सहयोग गरेको थियो । उत्पादन भएको सबै बेसार कम्पनीले आफै खरिद गर्ने भएकाले बजारको समस्या समेत नहुने पौडेलले बताए ।
Comment Here!