-महिला खबर-
ललितपुर । संकल्प महिला सञ्जालले ‘हाम्रो महिला प्रतिनिधि–२०७५’ पुस्तक सार्वजनिक गरेको छ । प्रतिनिधि सभा तथा सातवटै प्रदेश सभाका महिला सांसद सदस्यहरुको संक्षिप्त जीवनी समेटिएको पुस्तक बिहीबार विमोचन गरिएको हो
संक्षिप्त जीवनी विमोचन कार्यक्रम संकल्प सञ्जालकी अध्यक्ष लिली थापाको अध्यक्षता तथा माननीय उपसभामुख शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा भएको थियो ।
‘हाम्रो महिला प्रतिनिधि–२०७५’ को विमोचन संकल्पकी अध्यक्ष लिली थापा, उपसभामुख शिवमाया तुम्वाहाम्फे, पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, रोयल नर्वेजियन दुतावासका राजदूत ल्याजे बदेर्न जोहनेसन, नर्वेजियन दुतावासका वरिष्ठ राजनीतिक तथा सामाजिक विकास सल्लाहकार कमला विष्ट तथा संकल्पका महासचिव शोभा वस्नेतले संयुक्त रुपमा गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै उपसभामुख शिवमाया तुम्वाहाम्फेले महिलालाई समानता र समान अवसर मात्र दिएर नपुग्ने बताइन् । उनले भनिन्, ‘महिलाका लागि समताको पनि आवश्यकता हुन्छ । यसले नै समावेशिताको अवधारणालाई आत्मसात गर्छ ।’
कार्यक्रममा पूर्व निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जनसंख्याको अनुपातमा हरेक निकायमा महिलाको प्रतिनिधित्व अनिवार्य रहेको बताए । उनले समावेशिताको अवधारणालाई आत्मसात गर्न महिलाको समान प्रतिनिधित्व आवश्यक रहेको बताए ।
‘संविधानले व्यवस्था गरेता पनि संघीय संसद, राजनीतिक दलहरु एवं अन्य महत्वपूर्ण क्षेत्रहरुमा महिलाको ३३ प्रतिशत सहभागिता हुन सकेको छैन ।’ उनले भने, ‘हालको अवस्थालाई हेर्दा राजनीतिक दलहरु अझै उदार हुन सकेको देखिएन ।’
कार्यक्रममा नर्वेजियन दुतावासका राजदूत ल्याजे बदेर्न जोहनेसनले नर्वेमा प्रधानमन्त्री लगायत २२ वटा मन्त्रालयमध्ये १० वटा मन्त्रालयमा र ४ वटा राजनीतिक दलहरुमध्ये ३ वटामा महिलाको प्रमुख नेतृत्व रहेको उदाहरण दिए । साथै उनले लैङ्गिक समानताको लागि राजनीतिक क्षेत्र मात्र होइन आर्थिक क्षेत्रमा पनि महिला प्रतिनिधित्व हुनुपर्ने बताए ।
संकल्पकी अध्यक्ष लिली थापाले ‘हाम्रो महिला प्रतिनिधि–२०७५’ पुस्तक ऐतिहासिक दस्तावेजका रुपमा रहेको बताउँदै भविष्यका पुस्ताहरुलाई नेपाली महिलाका संघर्षका कथा थाहा पाउन तथा विभिन्न नीति नियम कानून निर्माणमा सहयोगी रहेको बताएकी थिइन् ।
Comment Here!