सञ्चारिकाका निवर्तमान अध्यक्ष शर्मालाई राष्ट्रिय पत्रकारिता पुरस्कार
–महिला खबर–
ललितपुर । वरिष्ठ पत्रकार एवम् संचारिका समूहकी निवर्तमान अध्यक्ष निर्मला शर्मा राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएकी छिन् ।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहकाबीच मंगलबार शर्मालाई प्रदान गरेकी हुन् । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
शर्मा २५ वर्ष भन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील छिन् । लैंगिक समानता कायम गर्न संचारिका समूहले कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गर्ने कार्यक्रम ‘समकोण’ को निर्माता तथा निर्देशक शर्मा लैंगिक विज्ञका रुपमा समेत परिचित छन् ।
शर्मासँगै २ जना पत्रकारलाई वरिष्ठ पत्रकारिता पुरस्कार र ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुने अन्य पत्रकारहरुमा वरिष्ठ पत्रकारिता पुरस्कारबाट बद्रीबिनोद प्रतिक र तीर्थ कोइराला रहेका छन् ।
त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा उमिद वागचन्द महाकाली, माधब बिद्रोही मेची, डण्ड गुरुङ, खिलबहादुर भण्डारी र माला कर्ण रहेका छन् ।
पुरस्कृत हुने वरिष्ठ पत्रकारले २ लाख रुपैयाँसहित प्रमाण पत्र र राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने ६ जनाले जनही एक एक लाखका दरले नगद पुरस्कार प्रमाण पत्र पाएका हुन् । मन्त्रालयले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गर्दैै आएको छ ।
Comment Here!