विष्णुप्रसाद पोखरेल/महिला खबर
झापा । झापाको पवित्र धार्मिक स्थल कन्काई नगरपालिकाको कोटीहोमका एक धार्मिक गुरू बलात्कार आरोपमा पक्राउ परेका छन् ।
गुरूले आफूलाइ बारम्बार डर र त्रास देखाउँदै बलात्कार गरेको आरोप लगाएपछि कोटीहोमका गुरू ईलामको रोङ्ग गाउँपालिका वडा नं. ३ घर भएका छत्रबहादुर गिरी बताउने छत्रबहादुर गुरूङ पक्राउ परेका छन् । उनी गेरुबस्त्र र दारी पालेर साधुको भेषमा कोटीहोममा बस्दै आएका थिए ।
कोटीहोममै र विभिन्न धार्मिक कार्यक्रमहरुमा जाँदा छत्रबहादुरले आफूलाई बलात्कार गरेको महिलाले बताएकी छन् । ‘बारम्बार बलात्कार हुँदाको पीडा सहन नसकेपछि र अति नै गरेपछि ती महिला हामीसम्म आइपुगेकी रहिछिन्’ सेफ हाउसकी सञ्चालक बसन्तलक्ष्मी उदासले भनिन् ।
महिला दुई सन्तानकी आमा हुन् । केही वर्ष अघिदेखि गुरू मानेर छत्रबहादुरसंगै कार्यक्रममा हिँड्दै आएको अवस्थामा विभिन्न प्रकारका डर त्रास देखाएर बलात्कार गरेपछि महिला मानसिक रुपमा विक्षिप्त बनेको पनि सुरक्षा आवास गृहले महिला खबरलाई जनाएको छ ।
महिलाको सोमबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र आरोपित छत्रबहादुरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
महिला भने तीन दिनदेखि सुरक्षा आवास गृहको संरक्षणमा छिन् । उनलाई परामर्श र सहयोग आवश्यक रहेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।
Comment Here!