२८ वर्षपछि स्वास्थ्य प्रमुखमा महिला


प्रकाशित मिति :2019-05-29 13:25:53

गोकर्ण दयाल/महिला खबर

बैतडी । २८ वर्ष अघि स्थापना भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा पहिलो पटक महिला स्वास्थ्य प्रमुखको पदस्थापना भएको छ ।

६ महिना अघि बैतडी र दार्चुला जिल्ला हेर्ने गरी नेपाल सरकारले स्वास्थ्य प्रमुखका रुपमा निशा जोशीलाई बैतडी पठाएको हो । अहिले उनी बैतडी स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् ।

आफू स्वास्थ्य कार्यालय प्रमुख भएर आएपछि बैतडीको स्वास्थ्य संस्थामा परिवर्तन ल्याउन मुख्य पाँच वटा निशाना बनाएर काम सुरु गरेको उनले बताइन् ।

पूर्ण संस्थागत सुत्केरी, हरेक बालबालिकालाई खोप पुर्याउने, बैतडीका १० वटै स्थानीय तहसंग समन्य गरेर जिल्ला भरीका ६५ वटा स्वास्थ्य चौकी र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने, बैतडीका ८४ वटै वडामा स्वास्थ्यको पहुँच पुर्याउने र रुढीवादी परम्पराले महिलाको स्वास्थ्यमा पारेको नराम्रो प्रभाव हटाउने मुख्य निशाना रहेको जोशीले बताइन् ।

बैतडीका १० स्थानीय तहका ८४ वडा मध्ये १६ वडामा स्वास्थ्य चौकी छैन । सुत्केरी व्यथा लागेपछि ४/५ घण्टा हिँड्नु पर्ने अवस्था रहेको भन्दै ती सबै वडामा स्वास्थ्य चौकी निर्माणका लागि १० वटै स्थानीय तहमा दगुरिरहेको पनि उनले महिला खबरलाई बताइन् ।

‘समाजमा छाउ प्रथा छ । शिशु जन्मेपछि सुत्केरीलाई छुनुहुँदैन भन्ने गलत मान्यता कायमै छ । गर्भवती भएका महिलाहरुले पोषिलो खानेकुरा र पूर्ण आराम गर्न नपाउँदा पाठेघर खस्ने समस्या झन् बिकराल छ’ प्रमुख जोशीले भनिन्, ‘त्यतिमात्रै होइन्, गर्भमा छोरी छ भन्ने थाहा पाएपछि भ्र्रूणहत्या गर्ने र छोरा पाउन पटक–पटक गर्भाधान गर्ने पितृसत्तात्मक सोच कायमै छ ।’

यी सबै समस्या स्वास्थ्यका मात्रै नभएर सामाजिक समस्या भएको उनले बताइन् । यीनै गलत सामाजिक मान्यताहरुका कारण बैतडीको स्वास्थ्य अवस्था नाजुक बनाउने काम भएको उनले अनुभव सुनाइन् ।

जेठ दोस्रो हप्ता मात्रै बैतडीको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिका घुमेर बैतडीको स्वास्थ्य अवस्थाका बारेमा जाँचबुझ गर्दा सरकारले दिन चाहेको गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको घरदैलोमा नपुगेको तितो यथार्थ भेटिएको उनले बताइन् ।

‘बैतडीका १६ वटा वडामा स्वास्थ्य चौकी छैनन् । स्थानीय तहको सरकारसंग समन्वय गरेर यथासक्य चाँडो पहिले स्वास्थ्य चौकी निर्माण गर्न सुझाव दिएकी छु’ जोशीले भनिन्, ‘महिलाहरु व्यथा लागेर घण्टौं पैदल हिँड्दा बाटोमै सुत्केरी हुने गरेका छन् । यो समस्याको अन्त्यका लागि समुदायकै सहयोग चाहिएको छ ।’

जेठ १४ गते बैतडीको दोगडाकेदार गाउँपालिकामा भेटिएकी निशा जोशी । तस्वीरः गोकर्ण दयाल

संघीयतापछि संरचनागत रुपमा सबै भन्दा बढी प्रभावित भएको संस्था भनेको स्वास्थ्य संस्था भएकोले स्थानीय सरकार, स्वास्थ्य कार्यालय र आम नागरिकको चासो सामान्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पाए नपाएको हेर्नु पर्ने दायित्व रहेको जोशीले बताइन् ।

पब्लिक हेल्थमा स्नाकोत्तर गरेकी जोशीले बैतडीको स्वास्थ्य संस्थामा विगतका दिनमा हासिल गरेका राम्रा कामलाई निरन्तरता दिँदै बैतडीको स्वास्थ्य क्षेत्र थप सुदृढ गर्न अहोरात्र खटिरहेको बताइन् ।

सामान्य तया बैतडी आएर दुर्गम ठाउँमा बसेर काम गर्न स्वास्थ्य कार्यालयका प्रमख र डाक्टरहरु त्यति रुची गर्दैनन् । तर, निशा भने हरेक दिन स्वास्थ्य संस्थाका समस्या पहिल्याउन स्थानीय तहमा उकाली ओराली गर्दै हिँडिरहेकोमा स्थानीय खुसी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: