जातका कारण मन्दोदरीको परिवारले गाउँ छोड्यो


आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसः हटेन जातीय विभेद

प्रकाशित मिति :2019-06-04 11:33:51

कल्पना दयाल/महिला खबर

बैतडी । बैतडीकी मन्दोदरी दमाइको परिवार न्याय खोज्दै समरमुकाम पुगेको तीन हप्ता भो । छोराले आफूभन्दा कथित माथिल्लो जातकी छोरीसँग बिहे गरेको भन्दै गाउँलेको यातना नरोकिएपछि उनको परिवार ज्यान सुरक्षा खोज्दै सदरमुकाम आएको हो ।

‘मेरो छोराले विश्वकर्माकी छोरीसंग विवाह गर्दा गाउँमा बस्ने वातावरण छैन । गाउँपालिकाले शिक्षक भर्ना गर्दा निजी श्रोतमा पढाउँदै आएको छोरालाई शिक्षकबाट हटाई दिए । तर न हटाएको पत्र दिए, न कुनै कारण बताए । मेलामा पसल थाप्न समेत दिदैनन् । हातमुख जोर्नकै लागि भएको खेतबारी पनि गाउँपालिकाको डोजरले मासिदियो । गरिबले न्याय माग्न कता जाने ?’

सररकारले आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइरहँदा जिल्लाको डिलासैनी गाउँपालिका ३ पंसेराकी ५४ वर्षीया मन्दोदरी दमाईले गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा रुँदै यसरी आफ्नो पीडा पोखिन् ।

ईन्सेटमाः मन्दोदरी दमाई भक्कानिदै ।

कार्यक्रमका प्रमुख अतिथि थिए बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल । अनि कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि सहभागी थिए ।

जिल्लाका ठूला–ठूला मान्छेहरुलाई पीडा सुनाउँदा दुःखबाट पार पाइन्छ की सोचेर सार्वजनिक सुनुवाई कार्यक्रममा मन्दोदरी यसरी त बोलिन् तर, यत्ति बोलेपछि उनलाई थप समस्या आइलाग्यो । प्रश्न गरेर घर फर्केकी उनलाई वड (विश्वकर्मा) समुदायका व्यक्तिले घेरे । वडा सदस्य नन्दराम वड लगायतले दमाई भएर हाम्रो छोरी लगेर गाउँमा ठूलो कुरा गर्ने ? हाम्रो विरुद्ध गाउँपालिकामा कुरा गर्ने भन्दै कुटपिट समेत गरे । ‘धरधरी रुँदै उनले भनिन्, ‘कसलाई सुनाउनु मेरो पीडा । दलित जातिबाटै ममाथि यति अन्याय भो ।’

यो घटना गत वैशाख ३० गतेको रहेछ । नेपालको संविधानले नै जातीय विभेदलाई गम्भीर सामाजिक अपराधका रुपमा लिएको छ । तर पनि बैतडीको डिलासैनी गाउँपालिकाकी मन्दोदरी दमाईले दलितभित्रै जातीय विभेद खेप्नु परेको पीडा लिएर परिवारसहित बैतडी सदरमुकाममा बसाई सरेको तीन हप्ता पुग्यो ।

‘न्याय माग्न सदरमुकाम आएकी छु’ उनले भनिन्, ‘के गर्ने, कसो गर्ने केही थाहा छैन ।’ उनले आफ्नो अधिकारका लागि सहयोग गरिदिन सबै समुदायसँग आग्रह गरेकी छिन् ।

यस्तो छ घटना

मन्दोदरी दमाईका छोरा नरेश दमाई र बुहारी भागरथी वड (विश्वकर्मा) वीच २०६७ सालमा विवाह हुँदा त्यतिबेला गाउँबाट लखेटिए । दमाईले विश्वकर्माकी छोरी लैजाने भन्दै गाउँबाट लखेटिएको नरेश दमाई र भागरथी वडले बताए । गाउँबाट भागेर त्यतिबेला ज्यान जोगाए पनि केही समयपछि गाउँ फर्केर आउँदा माईतीपक्षले बस्न नदिएको भागरथी वडले बताइन् ।

‘जात नमिल्ने दमाईको छोरासंग गईस् भनेर माईतीहरु रातदिन जात तोकेर नराम्रो गाली गर्छन्’ भागरथीले भनिन्, ‘बिहे गरेको यतिका वर्ष भइसक्दा पनि हेलोहोचो, गाली बेइज्जती र दुव्र्यवहार कम भएन ।’

न्याय माग्न परिवारसहित बैतडी सदरमुकाम पुगेको मन्दोदरी दमाईको परिवार ।

भागरथीका श्रीमान नरेश दमाई गाउँकै महादेव माबिमा निजी श्रोतमा पढाउँदै थिए । गाउँपालिकाबाट शिक्षक राख्ने बेला नरेशलाई हटाई दिए । हटाउनुको कारण बताएका छैनन् । गाउँपालिकाले डोजर ल्याएर सडक खन्दा खेतबारी पनि मासियो । गाउँमा यो परिवार मात्रै दमाई जाती हो । ‘मेरो परिवारलाई एक्लै देखेपछि माईतीहरु राती गाली गर्दै कुट्न आउँछन् । गाउँपालिकामा कुनै सुनुवाई नभएपछि न्यायका लागि सदरमुकाम आएका छौं,’ भागरथीले स–परिवार गाउँ छोडेर सदरमुकाम आउनुको कारण बताइन् ।

नरेश र भागरथीका तीन छोराछोरी छन् । छोराबुहारीले प्रेम विवाह गरेपछि गाउँमा दुःखका दिन सुरु भएको आमा मन्दोदरीले बताइन् ।

पीडित परिवारको उजुरी अनुसार कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बैतडीले डिलासैनी गाउँपालिका ३ पंसेराका नन्दराम वड, वीरेन्द्र वड र महेश वडालाई नियन्त्रणमा लिएर छानबीन गरिरहेको जिल्ला प्रिहरी कार्यालय बैतडीका सूचना अधिकारी दिपक पातलीले जानकारी दिए ।

न्याय माग्न बैतडी सदरमुकाम पुगेका मन्दोदरी दमाईको परिवारका विषयमा जिल्ला समन्वय समितिको अगुवाईमा शुक्रबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको सर्वपक्षीय बैठकले पीडित परिवारलाई गाउँमा बसोबासको वातावरण मिलाउने विषयमा निर्णय भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी पातलीले जानाकारी दिए ।

‘पीडित परिवार गाउँ फर्किनु पर्छ भनेका छौं’ उनले भने, ‘आवश्यक सुरक्षाको जिम्मा प्रहरीले लिन्छ ।’

यता पीडित परिवार भने गाउँमा आफ्नो सुरक्षा नहुँने भन्दै बैतडी सदरमुकाममै बसिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: