–महिला खबर–
ललितपुर । जब मान्छे माया, धर्म र सम्बन्ध भन्दा माथि पैंसालाई देख्छ, तब उसले अरु केही देख्दैन । रौतहटमा जीवन बीमा कम्पनीबाट २५ लाख पाउने लोभले ४ वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ परेको घटनाले पनि यही कुरालाई पुष्टि गर्दछ ।
रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको बीमा कम्पनीबाट २५ लाख पाउने लोभले हत्या गरेको खुलासा भएको छ ।
घरमा सुतिरहेकै अवस्थामा असार १७ गते हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा लक्ष्मीका बुबा राम किशोरको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप राम किशोरले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा जेठ १९ गते छोरीको २५ लाखको जीवन बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
राम किशोरले राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको स्वीकारेका छन् ।
Comment Here!