-महिला खबर-
ललितपुर । दशैको पूर्वसन्ध्यामा नेपालमा रेस्लर महिलाहरूको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त हुने भएको छ ।
नेपालको पहिलो रेस्लर महिला भगवती खड्का “युनिका”ले स्थापना गरेको नेपाल महिला रेस्लिङ फाउन्डेसनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा नेपाल, भारत र पाकिस्तानका रेस्लर महिलाहरूबिच भिडन्त हुनेछ ।

नेपालको पहिलो रेस्लर महिला भगवती खड्का
असोज १६ गते काठमाडौंको भृकुटीमण्डपस्थित ठूलो चौरमा हुने रेस्लिङ प्रतियोगितामा नेपालको पहिलो रेस्लर महिला भगवती खड्का (९२) र एक सय २५ किलो तौल भएकी भक्तपुर ठिमीकी सृजना कोजुबिच पनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार र २० हजार पुरस्कार दिइने आयोजक संस्थाकी संस्थापक अध्यक्ष भगवती खड्काले महिला खबरलाई जानकारी दिइन् ।
अध्यक्ष खड्काका अनुसार प्रतियोगितामा तीन देशका २० जना रेस्लर महिलाहरूले भाग लिनेछन् ।
पहिलो रेस्लर नेपाली महिला खड्काका अनुसार नेपालमा अहिले ३२ जना रेस्लर महिला क्रियाशील छन् ।
सहयोगको लागि अपिल
नेपाल महिला रेस्लिङ फाउन्डेसनले नेपालमा दोस्रोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफलतापूर्वक संचालन गर्नका लागी आयोजकले सहयोगको आग्रह गरेको छ ।
खड्काका अनुसार प्रतियोगिता संचालनका लागि करिब १५ लाख खर्च हुनेछ । त्यसका लागि महिला र खेलकुदलाई माया र सम्मान गर्ने सम्बन्धित सबैलाई सहयोग गरिदिन पनि संस्थाको अपिल छ ।
Comment Here!