-अम्बिका भण्डारी-
जब म तिम्रो गर्भमा आए खुशीले नाँचे
गाएँ रमाएँ
आ………मा……
भनेर ठूलो स्वरले कराएँ
तिमीले पो सुनिनौ त
तिमीले पो देखिनौ त
तर म खुशीले चिच्याएँ
तर
मलाई के थाहा आमा
मेरो खुशी क्षणिक हो भन्ने
तिम्रो शरीरको न्यानोपनमा
म हुर्कदैं थिएँ
जब छोरी भएकै कारण मैले तिमीबाट
अलग हुनु पर्ने कुरा थाहा पाएँ
मेरो खुशी त्यसै त्यसै ओइलायो
तुसारो लाग्यो मेरो खुशीमा ।
आमा
तिम्रो काखमा खेल्ने
तिम्रो स्तन चुसेर तृप्त हुने मेरो रहरले पूर्णता नपाउने भो
जब थाहा पाएँ
अब म मारिदै छु तिम्रो गर्भमै
म रोएँ, कराएँ, चिच्याएँ सास सुकुञ्जेल
अनि दुःखी भएँ, थकित बने
तर पनि
अहँ…..
मैले आफूलाई बचाउनै सकिन ।
आमा
मलाइ नमार न भन्नै सकिन
मेरो मृत्यु मेरो नजिक देख्दादेख्दै पनि
म मेरै मृत्युको मुकदर्शक बने
तिम्रो पेटमा
मेरो लागी बनेको सिमित ठाउँमा
म यता लुके, उता लुके
तर मैले सुरक्षा कतै पाइन आमा
म जब तिमीबाट नै असुरक्षित भएँ
मान्छेको ज्यान बचाउन बनेका
मान्छे नामका डाक्टरहरुले नै मलाई मारे आमा
त्यो पनि तिम्रै उपस्थितिमा
तिम्रै सल्लाहमा मेरो अन्त्य भो
अब तिम्रो र मेरो मिलन कहिल्यै नहुने गरेर ।
यो अकालको मृत्यु
त्यो पनि विक्षिप्त तरिकाले
चिथोरेर,
टुक्रा टुक्रा पारी तिम्रो शरीरबाट मेरो शरीर अलग गर्दा
कति पीडा हुँदो हो मलाई
भो अब यसो नगर
यो वा त्यो बहानामा
संसार देख्न नपाउँदै मलाई अकालमा मृत्यु दिने कठोर निर्णय गर्नु भन्दा
भो बरु अब मलाई जन्माउँदै नजन्माउ
अब जन्मने कुनै एक छोरीलाई पनि
मेरो जस्तो यातना नदेउ
मृत्यु त झन् दिँदै नदेउ है आमा !
Comment Here!