नारी स्वतन्त्र छन् त ?


प्रकाशित मिति :2019-09-18 12:43:10

-खिल कुमारी पोखरेल (तिवारी)-

नेपालको संविधानले महिलाको हक अधिकारको बारेमा स्पस्ट अबधारणा तोकेको छ । नेताहरुले नारी स्वतन्त्रताको भाषण गरिरहन्छन् । तर पनि कहाँ छ ? नारी स्वतन्त्रता ? जब महिला गर्भवती हुिन्छन् अनि शुरु हुन्छ, छोरा पाउनु पर्छ भनेर । अनि उनको गर्भ जाँच गरिन्छ, छोरा कि छोरी ? अनि छोरा भए हर्ष छोरी भए गर्भपतन । छोरी गर्भबाट नै तुहिन्छे । अनि आमा मानसिक र शारीरिक रुपमा बिछिप्त हुँदै रोगी बन्छिन् । त्यसपछि घर परिवार र श्रीमानको हिंसा खेप्न बाध्य हुन्छिन् ।

आज पनि कयौं दिदी बहिनीको दाईजोका कारण घर परिवारबाटै हत्या भएका छ । ६ महिनाकी बालिकादेखि १ सय २ दुई वर्षकी हजुरआमासम्मले बलात्कारको सिकार हुनुपरेको छ । कयौं चेलीहरु आफन्तबाटै कोठीहरुमा बेचिएका छन् । खाना मिठो नबनाएको, छोरा नजन्माएको निहुँमा श्रीमान्बाटै हत्या भएको छ ।

बोक्सीको आरोपमा आमा, हजुरआमा, दिदीहरु घर निकाला भइरहेकै छन् । उनीहरुलाई सामाजिक बहिष्कार गर्ने, मानव मलमुत्र खुवाउने, योनीमा लठ्ठी घोच्ने, कपाल मुण्डन गर्ने र जिउँदै जलाउनेसम्मका अमानवीय कार्य रोकिएका छैनन् ।

शहर होस् की गाउँ महिलामाथिको उत्पीडन हिजोको जस्तो नहोला तर कम छैन । हिंसाको प्रकृति फेरिएको छ तर हिंसा न्यूनिकरण भएको छैन । पढेलेखेका, पढ्न नसकेका, धनी, गरिब लगायत अधिकांश महिला हिंसाको चपेटामा छन् । कतिपय महिलामाथि हिंसा कम होला तर हिंसामुक्त छैनन् । हिंसापीडितले घर छोडेर आश्रय खोज्नु परेको छ तर अपराधीहरु खुले आम समाजमा हिँडिरहेका छन् । अनि यो अवस्थामा नारी स्वतन्त्र छन्, हिंसामुक्त छन् मिल्छ ?

छोरीलाई घरपरिवार र समाजले उसको लवाई, खुवाई, बसाइ, हिँडाई, बोलाई र हाउभाउबाट उसको खुशी र स्तन्त्रामाथि प्रश्न गर्न थाल्छ । उसलाई बिभिन्न खालका सामाजिक संरचनाका स्केलहरुले एकाएक नापिन्छ । “उत्ताउली,” “बेश्या” जस्ता उपनामहरुले नामाकरण गर्न थालिन्छ । व्यक्ति, घरपरिवार र समाजले बनाएका हानिकारक तत्वहरुमाथि प्रतिवाद गरियो भने, सामाजिक हानिकारक तत्वहरुले फेरि एक पटक हलचल ल्याउनेछ र उनको स्वतन्त्रतालाई खतराको संकेत गर्नेछन् । अनि खै कहाँ छ नारी स्वतन्त्रता ?

सिउँदोमा सिन्दूर, गलामा पोते, हातमा चुरा र गोडामा पाउजु जस्ता सजाउन बनाइएका विलासीका सोह्र सिंगारले नारी स्वतन्त्रतालाई बन्धक बनाएको छ । यिनै बन्धनले महिलालाई घरभित्रको जेल बनाएको छ । जसले यी र यस्ता जेल तोड्न साहस गर्छ, त्यसले याबत् खालका आरो र प्रत्यारोप खेप्न पर्छ । आरोप मात्रै कहाँ हो र, हत्या, कुटपिट र घरनिकाला नै हुनुपर्छ । अनि खोई कहाँ छ नारी स्वतन्त्रता ?
महिला अस्तित्वलाई स्वीकार गर्न नसक्नेहरु महिलाको न्यायको पक्षमा कहिल्यै बोल्न सक्दैनन् । नारीलाई आमा, श्रीमती, छोरी, बुहारी भाउजु, दिदी बहिनी सम्झेर व्यवहार गर्न नसक्नेहरु खोई तिम्रो धर्म र तिम्रो मानवता ? खोई न्यायको लागि आवाज ?

हिंसामुक्त घरपरिवार र समाज बिना कसरी सम्भव छ संवृद्ध समाजको परिकल्पना ? प्रभावितले न्याय खोज्दा र अपराधिलाई सजायको माग गर्दा उसको श्रीमान्, घरपरिवार भाँडिने, घर निकाला हुनुपर्ने, आफन्तहरु टाढिने, गाउँ समाजले एक्लो बनाउनुको साथै उसको विरुद्धमा न्यायलाई फितलो बनाउने र अपराधिलाई प्रश्रय दिने जस्ता काम भएको देखिन्छ । खै प्रभावित केन्द्रित न्याय ? अनि खोई कहाँ छ भन्ने नारी स्वतन्त्रता ?

हामीहरुले अब सोच्नु पर्ने बेला आएको छ । भएका कानून प्रभावकारी रुपमा कार्यान्वयन, पीडितले न्याय र पीडकले सजायको भागेदार नभएसम्म कानूनी राज्यको अर्थ नभएको केबल कानून कागजमा मात्र सिमित भएको देखिन्छ । हरेक नागरिकले सुरक्षा र न्यायको अनुभूति गर्न सके मात्रै नारी स्वतन्त्रताको अर्थ र महत्व झल्कन्छ । त्यसैले भाषणले मात्र होईन, केबल कानून कार्यान्वयनको पक्षमा समेत जोड दिन आवश्यक छ । अनि मात्र हरेक नारीले स्वतन्त्रताको आभास गर्नेछन् ।

हरेक नारीले आफूले पाएको जन्मसिद्ध अधिकार र कानूनले दिएको पैतृक सम्पतिको हक अन्तरगत आफ्नो भागमा आउने सिन्को पनि छोड्न हुन्न । अनि मात्र स्वतन्त्ररुपमा हिँड्न र पितृसत्तासँग मुकाबिला गर्न राहत मिल्नेछ ।

जब नारीले गरेका कामको उच्च मूल्यांकन हुनेछ, समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुनेछ, उनीहरुले न्याय र सुरक्षाको अनुभूति गर्नेछन् र समतामूलक समाजको उदय हुने छ । अनि मात्रै नारी स्वतन्त्र छन् भन्न मिल्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: