प्यारी नारी,
दशैं समिपमा छ । तिमी पक्कै तिम्रो त्यो अवधिका ती दिनहरु गणना गर्दै बसेकी छ्यौ होला । तिमी नाच्न चाहन्छ्यौ रोटेपिङ्ग जस्तै । अनि उड्न चाहन्छ्यौ धागो र चङ्गा जस्तै । त्यसैले तिमीले छिटो अथवा ढिलो दशैंभन्दा अगाडि अथवा पछाडी वाला ओखती किन्न खाजा खर्च बचाउन थालिसकेकी छ्यौं होला । यो थाहा हुँदा हुँदै कि उक्त ओखतीले तिम्रो तन सङ्गै मनमा पनि सहि नसक्ने पीडा दिन्छ । तर तिम्री आमाका डरलाग्दा आँखा अनि समाजको अनुदारको पीडा भन्दा त्यही पीडादायी ओखती अधिक रुचिकर लाग्दछ । तिमीले त्यो पीडा सहेर गुपचुप बसेको मात्रै एक-दुई वर्ष बित्यो होला । तर तिम्री दिदी, भाउजू, फुपू, काकी र आमाहरूले जमरा अनि टीकाबिहीन दशैंमा जबर्जस्ती रमाउनुपरेको वर्षौ बित्यो होला ।
तिमीलाई आज एउटा अनुरोध गर्न गइरहेकी छु ( यो सानो पत्र मार्फत । नकारात्मक उत्तर दिएर मलाई निराश नपार ल ! यसपालि एक पाइला अघि सार न प्लीज ! त्यो अन्धविश्वासी अनि रुढीबादी सिद्धान्तको निम्ति यो दशैंमा आफ्ना प्रचुर आकांक्षा र खुशीहरुको बली नचढाऊ न है ! अनि खाजाखर्च ओखतीको लागि नभएर सेनेटरी प्याडको लागि बचाऊ । यसपालि तिमीले चाहेको तरिकाबाट आनन्द लेऊ । मन लागेको खाऊ । तिम्रो केशपासमा सुहाउने जमरा अनि तिम्रो निधारमा खितिती हाँस्ने टीका पनि लगाऊ । अनि दुर्गामाताको पूजा पनि गर न है !

पुजा
तिमीलाई अवगतै छ की, दुर्गे पनि एउटी महिला हुन् । त्यसको तात्पर्य बुझ्यौ ? हो…..! उनी पनि रगत बहाउदछिन् । तिमीले जस्तै । सायद एउटा कुरा कहिल्यै मनन गरिनछ्यौ । यही कि यदी दशैंको दिनहरुमा उनी रजस्वला भइन् भने तिमीजस्तै पीडादायी ओखती किनेर अनि मन मारेर, ‘मलाई यसपाली नपुज ए…..मनुवाहरु हो ! म नछुने भए…. पर सरेँ’ भन्छिन होला त ? के उनी पनि महिनावारी हुँदा १२ दिनसम्म सूर्य, पुस्तक अनि छोरा मान्छेको मुख नहेर्ने ध्येयले मन्दिर छोडेर छाउगोठमा बसाइँ सर्छिन् होला त ? अहँ कदापि त्यसो गर्दिनन् । त्यसो भए तिमीचाहिँ किन अर्थहीन कुराहरूमा बाठी पल्टिन्छ्यौ ? तिम्रा मातापिता अनि तिम्रो समाज हठी छ होईन ? अरे लाटी….! पहिला आफू त अघि सर, कमसेकम एक पाइला नै सही । बरु दोस्रो पाइला अघि बढाउन माथ्लो घरकी काइली,तल्लो घरकी झुमा, रुपा, उजेली, चमेली सबैलाई चिच्याएर बोलाऊ । उनीहरूसङ्ग हातेमालो गरेर त हेर । उनीहरूको पनि त तिमीजस्तै मर्न आटेको इच्छा हुँदो हो ।
परिवर्तन भन्ने कुरा आटेपछी मात्रै सम्भव छ । जाग अब । यो दुनियाँमा असम्भव केही पनि त छैन । तिमी जुन कुरालाई असम्भव अनि पाप सोचेर बसेकी छ्यौ नी, त्यसलाई सम्भव अनि प्राकृतिक बरदानमा रुपान्तरण गर । अनि घरमाथीको चिउरे डाँडाँमा गएर गर्वका साथ भन, ‘छाउपडी प्रथा होइन कुप्रथा हो ।’
उही तिम्री पुजा ।
Comment Here!