-महिला खबर-
ललितपुर । लिंगका आधारमा हुने हिंसा मध्ये ५५ प्रतिशत हिंसा घरभित्रै हुने गरेको एक अध्ययनले देखाएको छ । गएको भदौ महिनामा महिलामाथि भएका हिंसाको अध्ययन गरेर ओरेक नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा यो कुरा उल्लेख छ । प्रतिवेदनका अनुसार भदौ महिनामा मात्रै नेपालमा १ सय ३५ महिलामाथि हिंसा भएको छ ।
ओरेकले भदौ महिनामा आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१००) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (३५) तथ्याङ्कका आधारमा १ सय ३५ महिलामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको आज बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
हिंसाको प्रकार
ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा भदौ महिनामा ७४ वटा (५५ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । यसैगरी १८–१७ वटा (१३–१३ प्रतिशत) बलात्कार र यौन दुव्र्यवहार, ११ वटा (८ प्रतिशत) सामाजिक हिंसाको घटना भएको पाइएको छ । यसरी नै २ वटा (१ प्रतिशत) हत्या, ६ वटा (४ प्रतिशत) हत्याप्रयास, ३ वटा (२ प्रतिशत) पारिवारिक स्रोतकाअनुसार लैङ्गिकविभेदकाकारण आत्महत्या गरेको घटना, १ वटा बलात्कार प्रयासको घटना अभिलेखीकरण भएको छ । यसरी नै ३ वटा (२ प्रतिशत)अन्य हिंसाका घटनाहरुमा २ जनालाई अलपत्रपारिएको र १ जनामाथि एसिड आक्रमण भएको पाइएको छ ।
प्रभावितको उमेरको आधारमा बर्गीकरण
उमेरको आधारमा विश्लेषण गर्दा भदौ महिनामामात्रै सबैभन्दा धेरै ५३ जना (३९प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यस पश्चात हिंसामा पर्ने सबै भन्दा बढी ३२ जना (२४ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु छन् । यसैगरी २० जना (१५ प्रतिशत) १६ बर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, १० जना (७ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु, ५ जना (४ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समूहका, ४ जना (३ प्रतिशित) ५६ वर्ष भन्दामाथिकामहिलाहरु र ११जना (४ प्रतिशत) उमेर समूह थाहा नभएका महिला, बालिका तथा किशोरीहरु हिंसाबाट प्रभावित भएका छन् ।
प्रभावितको पीडकसँगको सम्बन्ध
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ७२ वटा (५३ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने २४ वटा (१८ प्रतिशत) हिंसाका घटना छिमेकीबाट १४ वटा (१० प्रतिशत) परिवारका सदस्यवाट भएको छ, त्यसै गरी ८ वटा (६ प्रतिशत) अपरिचितव्यक्ति, ५ वटा (४ प्रतिशत) प्रेमिबाट, ४ वटा (३ प्रतिशत) साथिबाट, ४ वटा (३ प्रतिशत) सेवा प्रदायक र ४ जना अन्य विभिन्न किसिमका व्यक्तिबाट हिंसा भएको पाईएको छ ।
आरोपित र उमेर
यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै १७ देखि २५ वर्ष उमेर समूहका ३८ जना (२८ प्रतिशत) युवाहरु रहेका छन् । त्यसपश्चात ३२ जना (२४प्रतिशत) २६ देखि ३५ बर्ष उमेर समूहका, २६ जना (१९ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका युवाहरु रहेका छन् र ११ जना (८ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समूहका पुरुषहरु, १८ जना (१३ प्रतिशत) उमेर समूह थाहा नभएका पुरुषहरु, साथै ४ जना (३ प्रतिशत) ५६ वर्ष भन्दामाथि उमेर समूहका पुरुष छन् र ६ जना १६ वर्ष भन्दा कम उमेरका युवाहरु हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।
स्मरणरहोस् नेपालको संविधानले सबै प्रकारका लैङ्गिक विभेदको अन्त्य र समानतामूलक समाजको परिकल्पना गरेको छ । यद्यपि महिला र पुरुषलाई हेर्ने सामाजिक/सांस्कृतिक मूल्य–मान्यतामा आधारित असमान दृष्टिकोणका कारण पुरुष सदस्यबाट महिलाहरुमाथि विभेद र हिंसा हुँदै आएको छ । जसले गर्दा महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन् भएको छ ।
Comment Here!