-महिला खबर-
ललितपुर । नेपाल जातीय छुवाछूत मुक्त रास्ट्र हो । तर जातकै आधारमा मान्छेलाई छोइछिटो गर्ने काम अझै हट्न सकेको छैन ।
पूर्वी नेपालमा फेरि जातीय छुवाछूतको घटना भएको छ । सानो जाति भनेर होटेलमा चिया खान नदिएको भन्दै मोरङमा एक व्यक्तिले प्रहरीमा जाहेरी दिएका छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–४ का ६० वर्षीय डिमोने कामीले रुद्रबहादुर कटुवाल र टलकबहादुर पाण्डेलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । उनले आफूलाई सार्वजनिकस्थलमा जातीय छुवाछूत गरेकाले जातीय छुवाछूत कसुर सजाय ऐन २०६८ अनुसार कानुनी कारबाहीको माग गरेका छन् ।
भित्र बसेर चिया नपिउन भन्दै होटेलबाहिर निकालियो
इलाका प्रहरी कार्यालय पथरीमा दर्ता भएको जाहेरीअनुसार २० असोज दिउँसो पथरी शनिश्चरे–९ स्थित शनिश्चरे बजारमा रहेको पाण्डेको चिया पसलमा डिमोने कामी चिया पिउन गएका थिए । तर, आफ्नो पसलमा उच्च जातिका मान्छे चिया पिउन आउने गरेको भन्दै पाण्डेले डिमोनेलाई बाहिर बसेर चिया पिउन भनेका थिए । डिमोनेले कानुनमा सबै बराबर हुन्छ, विभेद र छुवाछूत गर्न पाइँदैन भन्दा कारबाही गर्न सके गर भन्दै होटेल सञ्चालक पाण्डेले उनलाई धकेलेर बाहिर निकालिदिएका थिए । होटेलवालाले भित्र बस्न नदिएपछि बाहिर बसेर चिया पिउन लाग्दा सानो जाति भएर आफूसँगै बसेर चिया पिउन लागेको भन्दै ग्राहक रुद्रबहादुर कटुवालले गालीगलौज गरेका थिए ।
इलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज डिएसपी लक्ष्मी अधिकारीले छुवाछूत गर्नेहरूविरुद्ध किटानी जाहेरी दर्ता भएको र मंगलबार अदालतबाट पक्राउ पुर्जी लिएर आरोपीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउने बताए ।
जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन २०६८ संशोधित २०६२ अनुसार सार्वजनिक र निजी कुनै पनि स्थानमा जातीय छुवाछूत गर्नेलाई चार वर्षसम्म कैद, ५० हजार रुपैयाँसम्म जरिवाना र पीडितलाई तीन लाख रुपैयाँसम्म क्षतिपूर्तिको व्यवस्था छ ।
Comment Here!