दैलेख । दैलेखको दुल्लु नगरपालिका–४ लाई जिल्लाकै दोस्रो बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
तीन वर्षदेखि बालविवाह विरुद्धको अभियान सञ्चालन गरिएको उक्त वडालाई शनिबार एक कार्यक्रमका बिच बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
वडाले सरकारद्वारा निर्धारित बालविवाह मुक्त सूचकांक पूरा गरेपछि औपचारिक रुपमा वडालाई बालविवाह मुक्त वडाका रुपमा घोषणा गरिएको दुल्लु नगरपालिका–४ का वडा अध्यक्ष भरतप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार वडाबाट गठन भएका युवा तथा भाइ समूह, बालविवाह प्रभावित समूह र धार्मिक गुरुहरूको समूह निर्माण गरेर परिचालन गर्दा अभियान सफल भएको हो ।
पछिल्लो समयमा वडा कार्यालयमा आउने बालविवाह सम्बन्धी मुद्दाको दर्ताको संख्यामा निकै कमी आएको वडा कार्यालयले जनाएको छ ।
वडाले विवाह सम्पन्न गर्ने धार्मिक गुरुहरूलाई पनि दुलाहा र दुलहीको जन्म दर्ता हेरेर मात्रै विवाहको कार्यक्रम तय गर्न गरेको आग्रहपछि बालविवाहमा कमी आएको बालविवाह विरुद्धको अभियान दैलेखका कार्यक्रम संयोजक चक्रराज गिरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय विवाह दर्ता गर्न आउनेको संख्यामा उमेर पुगेका जोडी मात्रै छन् ।
बढी बालविवाह हुने जिल्लामध्ये दोस्रो स्थानमा पर्ने दैलेखमा पहिलो पटक बालविवाह मुक्त वडा घोषणा गरेर दुल्लु–४ ले नगरपालिकाकै शिर उचो राखेको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।
Comment Here!