६६ प्रतिशत महिलामाथि घरेलु हिंसा
महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” सार्वजनिक
–महिला खबर–
ललितपुर । नेपालका महिलामाथि एक वर्षको अवधिमा भएका हिंसाका घटनाको अभिलेख राखिएको पुस्तक “अन्वेषी” सार्वजनिक भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन हिजो नोभेम्बर २५ मा राष्ट्रिय मानव अधिकार आयोगमा अयोजित कार्यक्रममा अन्वेषी सार्वजनिक गरिएको हो ।
अन्वेषी २०७६ मा “जुलाई २०१८ देखि जुन २०१९” सम्म ओरेक नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका जम्मा १३ सय १९ वटा हिंसाका घटनाहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ ।
अन्वेषी २०७६ का अनुसार यो वर्ष सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिका माथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्ले, प्रहरी उपरीक्षक कृष्णसिंह थापा र ओरेकका अध्यक्ष ज्येत्सना मास्केले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
अन्वेषी लोकार्पण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अन्वेषीले उजागर गरेको महिला हिंसाको वास्तविकता र विश्लेषणले मानव अधिकार आयोग, नेपाल सरकार र सरोकारवालालाई महिला हिंसा अन्त्य गर्न ठोस कार्य गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
महिलामाथि हुने हिंसा तथा महिला अधिकारका सन्दर्भमा निकै नीति तथा कानुनहरु निर्माण भएको भए पनि यसको प्रभावकारी कार्यान्वयनले मात्र मुद्दा सम्बोधन हुने बताए । मानव अधिकार आयोग महिलामाथि हुने कुनै पनि प्रकारको हिंसाका विरुद्ध दरिलोरुपमा उभिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
आयोगका सदस्य मोहना अन्सारीले सिड समिति, सिरासि समिति लगायत संयुक्त राष्ट्रसंघिय समितिहरुले महिला तथा बालबालिकामाथि हुने हिंसाको स्वरुप पहिचान गर्न, यसको कारण पत्ता लगाउन तथा सम्बोधनका लागि तथ्याङ्कहरुको व्यवस्थापन राष्ट्रिय रुपमै गर्नुपर्ने सुझाव पेश गरेको बताउँदै यस्तो संयन्त्र स्थानीय निकाय, प्रादेशिक सरकार तथा राष्ट्रियस्तरमै अति आवश्यक भएको बताइन् ।
अन्वेषी २०७६ का सम्पादक कैलाश राईले सर्वेक्षणले सीमित भूगोलका धेरैजसो हिंसा प्रभावितहरु ओरेकको सहयोगी संयन्त्रसम्म आफै आइपुगेर गरेको रिपोटिङ्कको आधारमा नेपालमा महिलामाथि हुने हिंसाको बारेमा अन्वेषीमा विश्लेषण गरेको बताइन् ।
ओरेकका अध्यक्ष ज्योत्सना मास्केले अब ओरेकले आफ्नो तथ्याङ्कको दायरालाई फराकिलो पार्दै अन्वेषीमा यौन अल्पसङ्ख्यक, अपाङ्गता भएका महिला, महिला स्वास्थ्य लगायत महिला आन्दोलनको विविधता समेट्ने प्रयास गरिरहेको जानकारी दिइन् ।
ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले संकलित हिंसाको तथ्याङ्कले महिलाहरु घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको उजागर गरेको बताए ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले सन् २००८ देखि देशभरबाट महिलामाथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” लैङ्गिक हिंसा विरुद्धको दिवस २५ नोभेम्बर का दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।
Comment Here!