–महिला खबर–
ललितपुर । महिला शहीदको सम्झनामा काठमाडौंमा विविध कार्यक्रम गरिने भएको छ । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत डिसेम्बर ६ तारिख (मंसिर २० गते) मा अन्तर्राष्ट्रिय महिला शहीद दिवसको अवसरमा माइतीघर मण्डलामा कार्यक्रम गरिने भएको हो ।
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आयोजना गर्ने कार्यक्रममा स्थापित कविहरुको कविता वाचनपछि मैनबत्ती बालेर महिला शहीदलाई सम्झिने कार्यक्रम रहेको सञ्जालका कार्यक्रम व्यवस्थापक नमिता नेपालले जानकारी दिइन् ।
नेपालका अनुसार ३ बजेदेखि शुरु हुने कार्यक्रम ५ बजे समापन हुनेछ ।
कति छन् महिला शहीद ?
गृह मन्त्रालयसँग ०६२/ ०६३ को दोस्रो जनआन्दोलन र सो पछि भएको मधेस आन्दोलनमा मारिएका ६ महिला शहीदको तथ्याङ्क छ । दोस्रो जनआन्दोलनमा बाँकेकी सेतु विक र चितवनकी तुलसी क्षेत्रीले ज्यान गुमाए । यसैगरि, ०६४ फागुनमा भएको मधेश आन्दोलनमा सम्झना राई (भोजपुर), रञ्जुदेवी झा (महोत्तरी), चन्द्रिका यादव (रुपन्देही), कोइली कोरी (बाँके) ज्यान गुमाए । यी सबैलाई सरकारले शहीद घोषणा गरेको छ ।
त्यसैगरी, जनकपुरका पत्रकार उमा सिंहलाई पत्रकार शहीद भनेर घोषणा गरिएको छ । सिंहको अज्ञात समूहको आक्रमणवाट २ माघ ०६५ मा हत्या गरिएको थियो । सरकारले २१ भदौ ०७३ मा द्ररौपदीदेवी चौधरी (मोरङ), रामशिलादेवी मण्डल (महोत्तरी), रञ्जना सिंह (रुपन्देही), नन्दनी पाण्डे (रुपन्देही) र सोमती मुराउ (रुपन्देही) लाई पनि शहीद घोषणा गरेको छ ।
Comment Here!