भलिबलले पलाएको आत्मविश्वास


प्रकाशित मिति :2019-12-05 11:54:00

–विमला तुम्खेवा –

“त्यो डाँडाबाट यो डाँडासम्म आईपुग्न साढे तीन घन्टा लाग्छ ।” यसो भनिरहँदा १६ वर्षीया मुनीमाया साङ्गबोको अनुहारमा थकान होइन, हौसला देखिन्थ्यो ।

कक्षा आठमा पढ्ने मुनीमाया त एउटा उदाहरण मात्रै हुन् । यो स्कूलमा पढ्ने अधिकांश विद्यार्थीहरू लामो दुरीबाट पैदल हिँडेर पढ्न आउछन् । यसरी हिँडेर आउदा उनीहरूले भोग्न परेको बिपत्ती कठिन छ्र । २०१९ सालमा केही स्थानीय अगुवाहरूको पहलमा स्थापना भएको श्री भिमसेन माध्यामिक विद्यालय जुगल गाउँँपालिकाकै एकमात्र माध्यामिकस्तरको विद्यालय हो ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत केहीदिन अघि हाम्रो पालो संस्थाले विद्यालयमै पहिलोपटक किशोरी भलिबल प्रतियोगिता आयोजना गरेको थियो । चार दिन मात्र अभ्यास गरेको भरमा किशोरीहरूले जीवनमै पहिलोपल्ट भलिबल छोएका थिए । यो बेला उनीहरूको आँखामा देखिएको उत्साहले अरु किशोर किशोरीलाई पनि भलिबलप्रति मोह जागाएको बुझ्न सकिन्थ्यो ।

मुनीमाया जस्तै कक्षा आठमा पढ्ने १३ वर्षीया सलिना दोङ्ग अरुबेला भन्दा एकघन्टा पहिला नै स्कूल पुग्छिन् । भलिबलको अभ्यास गर्छिन् । पहिला पहिला भलिवल खेल्न डर लाग्थ्यो उनलाई । तर बिस्तारै खेल रमाईलो लाग्दै गयो । उनले भनिन् “स्कूलमा केटाहरूले भलिबल छुनै दिदैन थिए । उनीहरू खेल्ने, हामी डिलमा बसेर हेर्ने, ताली बजाउने हुन्थ्यो । देखेको मात्रै भलिबल अहिले आफैले खेल्न पाएपछि मज्जा लागेको छ ।”

भलिबल खेल्न थालेपछि किशोरीहरूको अनुहारमा उत्साह मात्रै देखिएको छैन, मनमा हौसला पनि बढेको छ । किशोरीहरूको मनोविज्ञानलाई दह्रो बनाउनको निम्ति खेल राम्रो माध्यम हुने भएकोले पनि खेल प्रयोगमा ल्याएको हाम्रो पालोका कार्यक्रम निर्देशक अनिता थापाले बताइन् ।

निम्लुङबाटै सँगै स्कूल आउने साथीहरू धेरैले यातायात बिकटता र बर्खाको समयमा खोला बढ्ने कारणले स्कूल छोडे । निम्लुङका धेरै किशोरीहरूको सानै उमेरमा विवाह हुने प्रचलनले पनि यो क्षेत्रमा बालविवाह बढ्दो छ । तर यसलाई अभिभावक आफैले ठाकछोप गरिदिनाले यस्तो समस्या बाहिर नआउने स्थानीय दोर्जे तामाङले बताए ।

अहिले सबैको हात हातमा मोबाइल छ । फेसबुुकको पहुँचको कारण पनि बालविवाह बढ्दो रहेको तामाङको बुझाइ छ ।

सलिनासंगै पढ्ने साथीहरू कतिको विवाह भैइसकेको छ । यो सालमात्र पाँच जना किशोरीले स्कूल छोडेको स्कूल प्रमुख दिपककुमार तामाङले बताए । “हरेक साल यस्तो भैरहन्छ, तर कति किशोरीले स्कूल छोडे भन्नेचाहिँ हामीले तथ्यांक राखेका छैनौं” उनले भने ।

आफूसंगैका साथी स्कूल नआउदा पहिला त सलिनालाई नरमाइलो लाग्थ्यो । तर उनलाई पढ्ने ठूलो धोको छ । पढाइ छोड्ने सोचेकै छैनन् । जसरी पनि पढ्नुपर्छ भन्ने बुझेकी सलिनाको घरको आर्थिक अवस्था साधारण छ, तर उनका आमा बुबाले पढ्नुपर्छ भनेर समय समयमा आफूलाई भन्ने गरेको उनले बताइन् ।

कहिले भलिबल नछोएका किशोरीहरू एकाएक ग्राउन्डमा खेलाडी भएर खेल्दा हार र जित भन्दा पनि उनीहरूमा पलाएको आत्मविश्वासको विषयमा बयान भन्दा पनि अनुभूति मात्र गर्न सकिन्थ्यो । किशोरीहरू ग्राउण्डमा निस्कँदा अनुहारमा रौनक र फरक उल्लास देखिन्थ्यो भने उनीहरूले भलिबल खेलेको हेर्न गाउँँभरिका मानिस भेला नै भएका थिए ।

जिल्लामा एघार गाउँपालिका छन् । बाक्लो बस्ती भएका गोल्छे निम्लुङ, किप्चे, संन्जा, लिची, सिन्दुर्चे र तार्केका धेरैजसो ठाउँलाई घना पहाडले ओगटेको छ । यी सबै गाउँँहरूबाट माध्यामिक तह पढ्नको निम्ति जिल्लाबाहिर जान नसक्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू पढ्नका लागि यही स्कूल पुग्छन् ।

गाउँपालिकामा रहेका आठ विद्यालयमध्ये एउटा मात्र माध्यामिक तहको यो विद्यालयमा विद्यार्थी संख्या ३ सय ९८ छ । जसमा बालिका २ सय ४१ र बालक १ सय ५७ छन् ।

जुगल गाउँपालिकाको ३६ सय जनसङ्ख्या मध्ये तामाङ जातीको सङ्ख्या ५.७९ ५ प्रतिशत छ । लगभग हरेकजसो घरबाट कोही न कोही रोजगारीको निम्ति खाडी मुलुक गएकै छन् । यही कारणले पनि किशोरीको तुलनामा स्कूल छोड्ने किशोर धेरै छन् ।

एक त कमाउनु पर्ने दायित्व, अर्कोतिर गरिबी । दोहोरो बाध्यताका कारण पनि किशोरहरूको बीचमै पढाई छुट्ने समस्या छ ।

त्यसो त बालविवाहकै कारण सानै उमेरमा बालिकाहरूले सन्तान जन्माउनु परेपछि उनीहरूको जीवनमा आई परेका समस्या अनेक छन् । यातायात असुबिधा रहेको यो ठाउँमा भौगोलिक बिकटता त्यसमाथी बर्खायामको समयमा खोलामा आउने बाढीको कारण धेरै बालिकाहरूको पढाइ बिचैमा छुट्ने गरेको छ ।

नेपाल सरकारले बालिकालाई आठ कक्षासम्मको शिक्षा अनिवार्य रुपमा निःशुल्क भनेता पनि प्राय सबै स्कूलले बालिकाहरूबाट परीक्षा शुल्कको नाममा पैंसा लिइरहेका छन् । धेरै जसो स्कूलहरूले सरकारले पुग्ने गरि स्कूललाई प्रशासनिक खर्च नदिनाले विद्यार्थीबाट शुल्क लिन बाध्य भएका बताउँदै आएका छन् ।

भिमसेन माविमा अध्यापन गराइरहेका १७ जना शिक्षक मध्ये १२ जना शिक्षकले मात्रै नेपाल सरकारबाट तलब पाउँछन् भने ४ जना नीजि स्रोत र एकजना हाम्रो पालोबाटै तलब बुझिरहेका छन् ।

दुई वर्ष यता स्कूललाई हाम्रो पालोले लगातार अनुगमन र आर्थिक सहयोग गर्दै आएको छ । स्कूललाई चाहिने कम्युटर, फर्निचर शिक्षक तलब, किशोर किशोरी दुवैलाई महिला हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम र आत्मविश्वास बढाउने कार्यक्रमहरू संचालन गरिरहेको छ । यसले विद्यार्र्थीहरूको बुझाई पहिला भन्दा फरक र सकारात्मक हुँदै आएको स्कूल प्रमुख दिपककुमार तामाङले बताए ।

अहिले गाउँपालिकाको सक्रियतामा सबै वडामा कच्ची सडक पुगेको छ । पुलहरू धमाधम बन्दैछन् । जलविद्युत परियोजना निर्माण हुँदैछ । यसले स्थानीय बासिन्दाको आर्थिक विकास र अवसरको ढोका खोलिदैँछ । तर अत्याधिक मात्रामा तामाङ समुदायबीच मदिरापानको प्रयोगले किशोर किशोरीप्रति नकारात्मक असर परिरहेको छ । धार्मीकरुपमै प्रचलनमा रहेको मदिराका कारण समस्या रहेको स्थानीयको भनाइ छ ।

हाम्रो पालोले सिन्धुपाल्चोकका जुगल, पाँचपोखरी, हेलम्बु, इन्द्रवती र भोटेकोशी गाउँपालिकाका १२ देखि १६ वर्षसम्मका किशोर किशोरीलाई सशक्तीकरण, सरसफाई, नेतृत्व विकास सम्बन्धि तालिम दिँदै आएको छ । स्थानीयस्तरमै पढेका व्यक्ति नै प्रशिक्षक हुने भएकोले सिक्ने र सिकाउने काम प्रभावकारी हुँदै गएको अनिता थापाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: