धनगढी । धनगढीमा भईरहेको मेयर एसपिए कप महिला भलिबल प्रतियोगिता सेमिफाईनल समिकरण पूरा भएको छ । प्रतियोगिताको दोस्रो दिन लिग चरणका सात खेलहरु सम्पन्न भएसँगै अन्तिम चारको समिकरण पूरा भएको हो ।
समूह ए बाट विजेता बन्दै विरेन्द्र विद्या मन्दिर टीकापुर र उपविजेता बन्दै आयोजक सुदुरपश्चिमाञ्चल एकेडेमी सेमिफाईनल पुगेका छन् । समूह बी बाट भने जनता नमुना मावि कैलारी विजेता र दुर्गाालक्ष्मी उच्च मावि उपविजेता बन्दै सेमिफाईनल पुगेका छन् ।
सुदुरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा भईरहेको मेयर एसपिए कप अन्तर क्याम्पस महिला भलिबल प्रतियोगितामा बुधबारका तीन खेलमा विरेन्द्र विद्या मन्दिरले जित हात पारेर समूह ए को शिर्षस्थानमा रहेको हो । विरेन्द्रले पहिलो खेलमा एक्सीस विद्याश्रमलाई २५–७ र २५–६ ले हराउँदा दोस्रो खेलमा दुर्गालक्ष्मी वहुमुखी क्याम्पसलाई २५–७ र २५–२० को सेटमा हराएको हो । तेस्रो खेलमा आयोजक सुदुरपश्चिमाञ्चल एकेडेमीलाई २५–२१, १३–२५ र २५–१९ को सेटले हराएको हो ।
बुधबार नै भएको खेलमा आयोजक सुदुरपश्चिमाञ्चल एकेडेमीले एक्सीस विद्याश्रमलाई २५–१२ र २५–१२ को सेटमा हराएर समूह ए को उपविजेता बनेको हो । यसअघि मंगलबार सुदुरपश्चिमाञ्चल एकेडेमीले अत्तरियाको दुर्गालक्ष्मी वहुमुखी क्याम्पसलाई हराएको थियो । समूह ए मा एक्सीस विद्याश्रम र दुर्गालक्ष्मी वहुमुखी क्याम्पसको खेलको नतिजाले कुनै अर्थ नराख्ने भएपछि त्यो खेल नखेलाईएको आयोजकले जनाएको छ ।
समूह बी तर्फको खेलमा दुवै खेल जित्दै जनता नमुना मावि कैलारी समूह विजेता बनेको छ । जनताले पहिलो खेलमा कैलाली वहुमुखी क्याम्पसलाई २२–२५, २५–११ र २५–१३ को सेटमा हराउँदा दोस्रो खेलमा दुर्गालक्ष्मी उच्च माविलाई २५–१४ र २५–१० को सोझो सेटमा हराएको हो । अर्को खेलमा दुर्गाालक्ष्मी उच्च माविले कैलाली वहुमुखी क्याम्पसलाई २५–१९ र २५–१३ को सेटमा हराएको हो ।
प्रतियोगिताको पहिलो सेमिफाईनलमा सुदुरपश्चिमाञ्चल एकेडेमी र जनता नामुना मावि तथा दोस्रो सेमिफाईनलमा विरेन्द्र विद्या मन्दिर र दुर्गालक्ष्मी उच्च मावि प्रतिस्पर्धा गर्नेछन् । जित्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सेमिफाईनल र फाईनल खेल आज बिहीबार नै हुने प्रतियोगिताका संयोजक भागिराम वखरियाले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाको सहयोगमा भईरहेको प्रतियोगिताको विजेताले नगद ५० हजार उपविजेताले नगद २५ र तेस्रो हुने टीमले नगद १२ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
जिल्लाभरीका ७ टीमको सहभागीता रहेको मेयर एसपिए कप अन्तर क्याम्पस महिला भलिबल प्रतियोगिता लिगकम नकाउटका आधारमा सञ्चालन भईरहेको छ ।
Comment Here!