-महिला खबर-
ललितपुर । पत्रकार पुरुषहरुले महिलामाथि हुने हिंसाका घटनालाई कम गर्न यस सम्बन्धि वास्तविक तथ्याङ्क बाहिर ल्याउन आवश्यक रहेको बताएका छन् । उनीहरुले तथ्याङ्क बिना संचार माध्यमले यस्ता समस्यालाई तथ्यपरक ढंगबाट बाहिर ल्याउन नसक्ने हुँदा तथ्यपरक ढंगबाट काम अधिकारकर्मीलाई आग्रह गरेका छन् ।
आज काठमाडौंमा आयोजित ‘लैगिंक हिंसामा आधारित तथ्याङ्कगत संवाद’ कार्यक्रममा बोल्दै पत्रकार पुरुषले पितृसतात्मक सोच नै महिला हिंसाको कारक तत्व भएको औंल्याए । यसलाई परिवर्तन गर्न सरोकारवाला बीच समन्वय र सहकार्य आवश्यक रहेको पनि उनीहरुले बताए ।
संकल्प, दलित महिला संघ, मानव अधिकारको लागि महिला एकल महिला समूहले प्रदेश नं २ र ६ मा गरेको संयुक्त अध्ययन अनुसार महिलामाथी घरेलु हिंसा, प्रविधिजन्य हिंसा, बलात्कार, बहुविवाह, बालविवाह, मानव तस्करी लगायतका हिंसा हुने गरेका छन् ।
प्रदेशका आधिकारीक निकायमा दर्ता गरिएका महिला हिंसाका मुद्दाहरुलाई हेर्दा कतिपय ठाउँमा उजुरी नै नपरेको, नयाँ प्रकारको हिंसाको सम्बोधन नभएको, उजुरी गरेका मुद्दाहरुहरुको सुनुवाई नभएको पाईएको अध्ययनकर्ताले बताएका छन् ।
वरिष्ठ पत्रकारनिर्मला शर्माले सहजिकरण गरेको कार्यक्रममा महिला अधिकारकर्मी लिली थापाले पछिल्लो समय बदलिँदै गएको हिंसाका स्वरुपहरुबारे अनुसन्धान गर्न आवश्यक रहेको बताइन् । उनले हिंसा विरुद्ध आवाज उठाउँदा यसले आफूलाई नै फाईदा हुन्छ भन्ने बुझ्न जरुरी रहेको बताइन् ।
समाचार पत्रका सम्पादक कपिल काफ्लेले महिलामाथि हुने हिंसाको कारक तत्व पितृसतात्मक सोच रहेको र त्यो पुरुषमा मात्र नभई महिलामा समेत रहेकोले त्यसलाई हटाउन महिला पुरुष बीच हातेमालो आवश्यक रहेको औल्याए ।
विश्लेषक युग पाठकले महिला हिंसा अन्त्यको लागि अहिलेसम्म गरेका अभियानहरुको पुनर्मुल्यांकन आवश्यक रहेको बताए ।
पत्रकार दिलभुषण पाठकले हिंसा अन्त्यको अभियानलाई साँच्चिकै परिणाममुखी बनाउन सम्पूर्ण क्षेत्रको सहकार्य बलियो हुनुपर्नेमा जोड दिए ।
खोजपत्रकारीता केन्द्रका बावुराम विश्वकर्माले प्रदेश नं २ का ८ जिल्लामा खोज पत्रकारिता केन्द्रले गरेको अध्ययन अनुसार महिला हिंसा १६ गुणाले बढेको जानकारी दिए ।
संचारकर्मी सुमन बस्नेत, अशोक दर्नालले नेपालमा कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्ने विज्ञ संस्थाको खाँचो औल्याउदै महिलाको सूचनाको हक, स्वतन्त्रताको हकलाई अभियानले एक ठाउँमा जोड्न आवश्यक रहेको बताए ।
Comment Here!