–महिला खबर–
ललितपुर । संसदको स्वास्थ्य तथा शिक्षा समितिकी सभापति एवं सत्तारुढ नेकपाकी नेता जयपुरी घर्तीले यौन शिक्षा लाजको विषय मानिएका कारण समस्या भइरहेको बताएकी छन् । यौनिकताबारे कुरा गर्नु अपराध ठानिने संकिर्ण सोच हट्न जरुरी रहेकामा पनि घर्तीले जोड दिइन् ।
‘विद्यालय बाहिर रहेका बालबालिका, किशोर किशोरी तथा युवाहरूको वृहत् यौनिकता शिक्षामा पहुँचको अवस्था’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति घर्तीले राजनीतिक हिसाबले नेपालमा राज्यसत्ता नै परिवर्तन भए पनि सामाजिक परिवर्तन समयानुकूल हुन नसकेको बताइन् ।
तान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति घर्तीले अहिलेको समयमा पनि विद्यालय गइरहेका युवतीलेसमेत महिनावारी बारे खुलेर कुरा गर्न नसकिरहेको भन्दै स्वास्थ्य विषयलाई १२ कक्षासम्म अनिवार्य विषय बनाउन आफूले पहल गर्ने बताइन् ।
अधिकारकर्मी कला राईले कुनै पनि व्यक्ति किशोरावस्थामै आफ्नो यौनिकताबारे स्पष्ट हुने हो भने युवावस्थामा मानसिक रुपमा समस्यामा नपर्ने भन्दै यौनिकता शिक्षाको बारेमा विद्यालयमै खुलेर छलफल तथा वहस हुन जरुरी रहेको बताइन् ।
कार्यक्रमका सहभागीहरूले गर्भमा आएदेखि नमरुञ्जेल आवश्यक हुने स्वास्थ्य विषयलाई सरकारले ऐच्छिक विषयको रुपमा राख्नु नै दुःखद् रहेको भन्दै यसलाई १२ कक्षासम्म अनिवार्य विषय बनाइनुपर्नेमा जोड दिएका थिए । यसो हुँदा स्वास्थ्य शिक्षाभित्रै यौन तथा यौनिकता शिक्षा बारे किशोर किशोरी तथा युवा युवतीहरू प्रष्ट हुने सहभागीको भनाइ थियो ।
तान नेपालकी महासचिव गिता थापाले विद्यालय जाने युवा युवती नै यौनिकता शिक्षा बारे अलमल्ल रहेको अवस्थामा विद्यालय जान नपाएका, बिचमै विद्यालय छाडेकाहरूका निम्ति यौनिकता शिक्षा जटिल रहेको बताइन् ।
तान नेपालकी कोषाध्यक्ष सरिता दाहालले सरकारले विद्यालयबाहिर रहेको युवा युवतीसम्म यौनिकता शिक्षा पुर्याउनु पर्ने बताइन् ।
Comment Here!