–महिला खबर–
चितवन । चितवनमा बन्धक बनाएर एक युवती र एक किशोरीलाई देह व्यापारमा लगाएको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरि पक्राउ परेका ५० वर्षीय होटल संचालक जङ्गबहादुर क्षेत्री, उनकी श्रीमती ३९ वर्षीया निर्मला थापा र धरान उपमहानगरपालिकाकी २४ वर्षीया रेसिका राईलाई सार्वजनिक गरेको छ ।
गएको कार्तिक २७ गते काठमाडौँबाट हराएकी ती युवती र किशोरीलाई चितवनमा ल्याएर देह व्यापारमा लगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्ट हाउसका सञ्चालकले काठमाडौँबाट हराएका उनीहरूलाई देह व्यापारमा लगाएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार काठमाडौँमा कोठा भाडा गरि बस्ने २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई काठमाडौँबाट चितवनसम्म ल्याउने काम धरानकी युवतीले गरेको खुलेको छ । ती दुईलाई एउटा बन्द कोठामा राखेर देह व्यापार गराइएको थियो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बन्धक बनाई देश व्यापारमा लगाइएका उनीहरूले गोप्य तरिकाले घरमा सन्देश पठाएपछि प्रहरीले सो होटलमा छापा मारेको थियो ।
प्रहरीको निगरानीपछि उनीहरूलाई मुग्लिनतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरी प्रमुख मल्लले जानकारी दिए । उनीहरूले पक्राउपछि सोही होटलमा देहव्यापारमा लगाएको जनाएका थिए । त्यसपछि उनीहरूसहित प्रहरी होटल पुगेर हेर्दा अन्धकार कोठामा राखेर देहव्यापारमा लगाइएको पाइएको मल्लले बताए ।
पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमार्फत पाँच दिनको समय थप गरी अनुसन्धान सुरु गरिएको छ ।
Comment Here!