हिम्मतीला उपप्रमुख


नतिजामुखी परिणाम दिँदै स्थानीय तहका उपप्रमुख महिला

प्रकाशित मिति :2019-12-20 12:35:59

स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष महिला भएपछि भौतिक विकासलाई मात्रै विकास मान्ने संस्कार फेरिदै गएको छ । सामाजिक र लैंगिक विकासका समेत योजना बन्न थालेको छ ।

–संगिता पाण्डे–

रुपन्देही । उपाध्यक्ष र उपप्रमुख भन्नासाथ धेरैले दोस्रो तहको मात्रै ठान्छन् । तर स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखले भने धैरै हदसम्म कार्यकारी अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । योजना तथा कार्यक्रमको अनुगमनजस्तो महत्वपूर्ण अधिकार दिएको छ । बजेट तर्जुमा उपसमितिको संयोजक उपाध्यक्ष वा उपप्रमुख नै हुन्छन् । न्याय निरुपणको अधिकार पनि उनैसँग छ । स्थानीय तहमा निर्वाचित युवा उपप्रमुखले धेरै हदसम्म यो अधिकार प्रयोग गरेका छन् । यसले नतिजामुखी परिणाम देखिन थालेका छन् ।

त्यसमध्येकी हुन्, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उमा काफ्ले । अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष रहेकी उमाले एमालेबाट टिकट पाइन् र जितिन् पनि । नगरपालिकाका दैनिक काम हुन् या नगरभित्रका आर्थिक र सामाजिक कार्यक्रम उमाको सक्रिय उपस्थिति रहन्छ । नगरका योजना बनाउने, बनेका योजना कार्यान्वयनमा लैजाने र अनुगमन गर्ने तिनवटै पाटोमा उमाको सक्रियता छ । “महिलाले गर्दैनन् वा सक्दैनन् भन्ने सोचाई फेर्न चाहन्छु,” उमाले भनिन्, “त्यसैले स्थानीय तह संचालन ऐनले दिएका सबै अधिकार प्रयोग गरेकी छु ।”

उमा काफ्ले

उमामा काम गर्ने ठूलो उत्साह छ । बिहानदेखि साँझसम्म नगरपालिकाको काममै तल्लीन हुन्छिन् । ‘सक्दिनँ र जान्दिनँ’ भनेर कहिल्यै पछि हट्दिनन् । नजानेको कुरा सिक्छिन् । सिकेको कुरा व्यवहारमा उतार्छिन् । न्याय निरूपणमा उमाको सक्रियता उस्तै छ । उपप्रमुख भएकाले उनी नै न्यायिक समितिको संयोजक हुन् । उनकै सक्रियतामा सिद्धार्थनगर नगरपालिका जिल्लाको धेरै उजुरी निरुपण स्थानीय तह बनेको छ । “स्थानीय तहमा महिलाको उपस्थितिमा राम्रो काम होस् भन्ने आम नागरिकको चाहना हो,” उनले भनिन्, “त्यसैले कसरी परिणाममुखी काम गर्न सकिन्छ भनेर लागेकी छु ।”

प्रदेश ५ मा एक सय ९ स्थानीय तह छन् । त्यसमध्ये सबैमा उपप्रमुख महिला छन् । राज्यले स्थानीय तहको प्रमुख वा उपप्रमुखमा महिला राख्ने व्यवस्था गऱ्यो । यही व्यवस्थाले उनीहरू चुनाबमा होमिए । विजयी पनि भए । प्रमुख बन्न नसके पनि उपप्रमुखमा महिला बने । स्थानीय तहको भूमिका नयाँ र उपप्रमुखजस्तो फरक जिम्मेवारीमा हुँदा सुरुमा त काम गर्न अप्ठ्यारो भयो । धेरैमा उनीहरू निर्वाचित भएर आउँदा नगरपालिकामा बस्ने कुर्सीसम्म थिएन । कानून, नीति–नियम त हुने कुरै भएन । त्यसैमाथि महिलालाई हेप्ने संस्कार । पितृसत्तात्मक सामाजिक संरचना र सोचको सिकार उनीहरू पनि बने । तर, अप्ठ्यारो महसुस गरेको कुरा कसैलाई थाहै पाउन दिएनन् । कानून पढे । ऐनमा उपप्रमुखका अधिकार खोजे र जिम्मेवारी लिएरै छाडे ।

अमृता गुरुङ

रुपन्देहीको सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ सबल उपाध्यक्ष मध्येकी हुन् । यसअघिको खास अनुभव नभए पनि अमृतामा काम गर्ने ठूलो उत्साह छ । बिहानदेखि साँझसम्म गाउँपालिकाको काममै तल्लीन हुन्छिन् । ‘सक्दिनँ र जान्दिनँ’ भनेर कहिल्यै पछि हट्दिनन् । थाहा नभएका विषयमा जान्ने रुची राख्छिन् । पढ्छिन् । सिकेको कुरा व्यवहारमा उतार्छिन् । फलस्वरूप अधिकार, न्याय सम्पादन र निर्णय प्रक्रिया तीनै कुरामा उनले गाउँपालिकाको अगुवाइ गरिरहेकी छन् । “अध्ययन, समन्वय र निर्णय क्षमता तीनै कुरा सिकें,” उनले भनिन्, “यसले उपाध्यक्षको नेतृत्व र जिम्मेवारीमा स्थापित गराउँदै गएको छ ।” उनमा कामप्रतिको लगाव र जिम्मेवारीबोध धेरै छ । “नयाँ काम सिकौं र त्यसलाई व्यवहारमा उतारौं भन्ने हुटहुटी छ,” अमृताले भनिन्, “त्यही हुटहुटीले आफू सबल र सक्षम बन्दै गएको महसुस हुन्छ ।”

स्थानीय जनप्रतिनिधि आउदा सियारी गाउँपालिका शिक्षा र सामाजिक विकासमा पछाडि थियो । अमृता त्यसलाई उकास्न नागरिक समूहलाई सक्रिय बनाउने ध्याउन्नमा लागिन् । शिक्षाको मामिलामा उनी सबल बनिन् । यस गाउँपालिकाले यस शैक्षिक सत्रदेखि पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा गऱ्यो । यत्तिमात्रै होइन, गाउँपालिकाले यसपालि विपन्न बालबालिकाका लागि झोला, पोशाकदेखि शैक्षिक सामग्री उपलब्ध गरायो । त्यस्तो योजना उनीबाटै आएको थियो । “अहिले पूर्ण खोप, गर्भवती जाँच, लैंगिकमैत्री गाउँपालिका लगायतका अभियानमा लागेकी छु,” अमृताले भनिन्, “भौतिक विकासमा सबै जनप्रतिनिधि हुन्छन् । महिला प्रतिनिधि भएका बेला कम्तीमा सामाजिक विकासमा गाउँपालिकालाई उकासौं भन्ने योजना छ ।”

उमा थापा मगर

बाँकेकी उमा थापा मगर अर्की हिम्मतीली उपप्रमुख हुन् । स्थानीय तहका धेरै उपप्रमुखलाई अहिले आवश्यक ज्ञानको अभाव, छलफल र निर्णय प्रक्रियामा सहभागिता नहुने आरोप लागेको छ । अझै पनि धेरै महिला जनप्रतिनिधि आफ्ना अधिकारका बारेमा स्पष्ट नभएको सार्वजनिक बहस नै हुने गरेको छ । यही कारण देखाउँदै स्थानीय तहका अधिकांश निर्णयमा प्रमुख वा पुरुष जनप्रतिनिधि हाबी भएका छन् । यो मामिलाबाट उमा माथि उठेकी छन् ।

सामाजिक मनोविज्ञानमा स्नातकोत्तर उमा उपमहानगरमा निर्वाचित हुनुअघि संचारकर्मीका रूपमा कार्यरत थिइन् । सामाजिक परिचालन जानेकी थिइन् । तर स्थानीय तह संचालनको ज्ञान थिएन । पितृसत्तात्मक सामाजिक संरचना र सोचले सुरुमा महिलालाई जिम्मेवारी दिनै समस्या देखियो । बाह्य ज्ञानका लागि ऐन र संविधानलाई मसिनो गरि पढिन् । जिम्मेवारी लिन कार्यालयभित्रै पनि ठूलो संघर्ष गरिन् । धेरैपटक उपप्रमुखका अधिकारलाई कार्यालयभित्रै जानकारी गराइन् । कानून र कार्यविधि निर्माणका हरेक खेस्रा उनी आफैंले तयार गरेकी छन् । अहिले न्याय निरूपणदेखि सुशासन कार्यान्वयनको अगुवाइ पनि उमाले नै गरेकी छन् । “सूचनामा नागरिकको पहुँच बढाउन, सुशासन र पारदर्शिता बढाउन नगरमा भएका हरेक योजना म आफैंले ल्याएका हुन्,” उनले भनिन्, “कसरी नयाँ र नागरिकमुखी काम गर्न सकिन्छ भनेर प्रयासरत छु ।” बजेट तर्जुमा उपसमितिको संयोजकमा नै उपप्रमुख रहने व्यवस्था छ । तर, धेरै स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षलाई बजेट कस्तो बन्दै छ भन्नेसम्म थाहा हुँदैन । उमा भने स्थानीय तहका योजनाका सबै चरणमा सहभागी हुन्छिन् । स्थानीयका मागलाई टिपोट गर्छिन् र तिनै मागका आधारमा बजेट बनाउने काममा सक्रिय हुन्छिन् । “युवा जोस र जाँगर राजनीतिमा पनि आवश्यक रहेछ,” ३६ वर्षे उमाले भनिन्, “म त्यही जोस र जाँगरले काम गरिरहेकी छु ।”

सुनितादेवी कलवार

उमेरले ३० नकटेकी अर्की जनप्रतिनिधि हुन्, मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनितादेवी कलवार । कपिलवस्तुको पकडी माइतीघर भएकी उनले जम्मा ८ कक्षा पढेकी छन् । १७ वर्ष नपुग्दै बिहे भयो । ४ सन्तान जन्माइन् । राजनीतिमा उनी शून्यजस्तै थिइन् । जब स्थानीय चुनावमा संघीय समाजवादी फोरमले उनलाई उपाध्यक्षको प्रस्ताव गर्‍यो, उनी हड्बडाइन् । पति शंकर जयसवालले सम्हाले । चुनाव लडिन् र जितिन् पनि ।

नेपाली भाषा प्रस्ट बुझ्न र बोल्न नजान्ने सुनितालाई झन्डै ६ महिना त पतिले नै दोभासेको काम गरिदिए । यसपछि क्रमश: उनी सक्षम बन्दै गइन् । “नेपालको कानून, ऐन र उपाध्यक्षका जिम्मेवारी के के हुन्छन्, पढ्न थालें,” सुनिताले भनिन्, “बल्ल के बोल्नुपर्छ र गर्नुपर्छ भन्ने जान्दै गएँ ।” सुनिताले गाउँपालिकामा आफ्नो अधिकारको प्रश्न उठाइन् । सुरुमा त द्वन्द्व सिर्जना भयो । उपाध्यक्षको सबै अधिकार अध्यक्ष र वडाध्यक्षले प्रयोग गरेकामा विरोध गरिन् । वडा कार्यालयमा तालाबन्दीसम्म गरिन् । बिस्तारै समस्या सुल्झदै गएका छन् । बजेट निर्माण, कार्यक्रम अनुगमन, लक्षित बजेटको बाँडफाँटलगायतमा जिम्मेवारी पाएकी छन् । बजेट बनाउने मात्र होइन, त्यसको कार्यान्वयमा पनि उनको ठूलो तत्परता छ ।

योजना कार्यान्वयन र बजेट खर्चलाई पारदर्शी बनाउन अनुगमनलाई तीव्रता दिएकी छन् । पछाडि परेका समुदाय र लक्षित वर्गको बजेटलाई न्यायिक बनाउन उनले ठूलो भूमिका खेलेकी छन् । महिला भएकाले स्थानीय महिलाले उनीबाट धेरै अपेक्षा राखेका छन् । ती अपेक्षालाई बजेट र कार्यक्रममार्फत सम्बोधन गर्ने जमर्को गरेकी छन्् । “हाम्रो क्षेत्र महिलालाई धेरै पछाडि पारिएको क्षेत्र हो,” सुनिताले भनिन्, “चुनाव लड्नभन्दा अधिकार स्थापित गर्न समस्या छ । म युवा भएर मात्रै यत्तिको लड्ने हिम्मत राखेकी हुँ ।”
स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष महिला भएपछि भौतिक विकासलाई मात्रै विकास मान्ने संस्कार फेरिदै गएको छ । सामाजिक र लैंगिक विकासका समेत योजना बन्न थालेको छ ।

सन्जु कुमारी चौधरी

उपप्रमुख र विकासलाई स्थापित गराउन सक्षम अर्की उपप्रमुख हुन् सन्जु कुमारी चौधरी । बाँकेको कोहलपुर नगरपालिका उपप्रमुख चौधरी उमेरले ३० कटेकी छैनन् । व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गर्दैछिन् । नगरपालिकाका हरेक काममा उनी उत्तिकै सक्रिय छिन् । व्यवस्थापन पढेका कारण व्यवसाय र जागिर उनको रुचिको विषय थियो । विडम्वना आफैंले नसोचेको राजनीतिमा लागिन् । उपप्रमुख पदमा निर्वाचित भइन् । “राजनीति र अध्ययन दुवै एकसाथ अघि बढाउँदै छु,” सन्जुले भनिन्, “नजानेको कुरा सिक्ने र सिकेको कुरा कार्यान्वयन गराउने दुवै काम एकसाथ गरेकी छु ।”

क्याम्पस पढ्दा–पढ्दै नेता हुन आएकी चौधरीलाई सुरुमा त नेतृत्वमा स्थापित हुनै समस्या भयो । महिला भएकै कारण अधिकारबाट वञ्चित गराउने अनेक प्रयास भए । उनले त्यसलाई प्रतिवाद गर्दै गइन् । अध्ययन र अनुभव पनि बढाउदै गइन् । “नेतृत्वमा पुग्न भन्दा त्यसलाई टिकाउन धेरै समस्या रहेछ,” उनले भनिन्, “ज्ञान पढेर र परेर बढ्दो रहेछ । अवसर भने लडेरै लिनुपर्दो रैछ ।”

नेपालगन्जमा जारी स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूका लागि आयोजित योजना तर्जुमा भेलाका सहभागीहरू ।

युवा र महिला भएका कारण चुनौति धेरै छन् । सन्जुले भने त्यो चुनौतिलाई अवसरमा बदलेकी छिन् । नगरका हरेक छलफल र निर्णय प्रक्रियामा सहभागिता भएकी छन् । कानून र कार्यविधि बनाउने होस् वा योजना बनाउने दुवै काममा सक्रिय छन् । युवा र महिलालाई प्रभावमा पार्न र उनी अनुकूलका कार्यक्रम गर्न सकेकी छिन् । नागरिक सचेतना र सामाजिक परिचालनको अगुवाइ गरेकी छिन् । युवा पुस्तामा हुने कामप्रतिको लगाव र नयाँ काम सिकौं भन्ने हुटहुटीले सञ्जुलाई नेतृत्वमा स्थापित गर्दै गएको छ । “अध्ययनशिलता, काम गर्ने इच्छाशक्ति, समन्वयकारी भूमिका र निर्णय क्षमता नेतृत्वमा हुनैपर्ने गुण रहेछ । यी कुरा सिक्दै गएकी छु,” सन्जुले भनिन्, “यसले उपप्रमुखको जिम्मेवारीमा स्थापित गर्न र नतिजामुखी परिणाम दिन सकेकी छु ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: